घरेलु श्रमिकको विश्व सम्मेलन काठमाडौंमा, होमनेट इन्टरनेशनलमा आबद्ध १२७ सहभागी

बिजमाण्डू
२०८० बैशाख १२ गते १४:३२ | Apr 25, 2023
घरेलु श्रमिकको विश्व सम्मेलन काठमाडौंमा, होमनेट इन्टरनेशनलमा आबद्ध १२७ सहभागी

काठमाडौं। विश्वभर घरमै बसेर श्रम गर्नेहरुलाई संगठित गर्दै उनीहरुको हितमा काम गर्न स्थापित होमनेट इन्टरनेशनलको दोस्रो सम्मेलन काठमाडौंमा सुरु भएको छ।

Tata
GBIME
Nepal Life

सम्मेलनमा भाग लिन २९ देशका १ सय २७ जना गृह श्रमिक काठमाडौं आइपुगेका छन्। कोभिड महामारीको समयमा भर्चुअल माध्यमबाट सम्पन्न पहिलो सम्मेलनपछि भौतिक उपस्थितिमा दोस्रो सम्मेलन नेपालमा आयोजना गरिएको हो। चार दिनसम्म चल्ने सम्मेलनले विश्वभरका गृह श्रमिकका बिभिन्न मुद्दालाई संगठितरुपमा उठाउने आयोजकले जनाएको छ।

जारी सम्मेलनले गृह श्रमिकहरुलाई संगठित गर्ने, उनीहरुको संजाल बिस्तार गर्ने, नेतृत्व विकास गर्ने तथा बिबिध चुनौतीहरुको समाधानका लागि बलियो आधार तयार पार्ने सभा नेपालकी अध्यक्ष अप्सरा डंगोलले बताइन्।

यसअघि भर्चुअल रुपमा भएको सम्मेलन पछि पहिलो पटक संस्थामा आबद्ध गृह श्रमिकहरुले एक अर्कालाई प्रत्यक्ष भेट्दैछन्। कार्यक्रमको उद्घाटन सत्रमा २९ देशका प्रतिनिधित्व गर्दै नेपाल आएका बिभिन्न संस्थामा आबद्ध गृह श्रमिकहरुले आआफ्ना देशको कला तथा झाँकीहरु प्रस्तुत गरेका थिए। कार्यक्रमस्थलमा उनीहरुले उत्पादन गरेका सामाग्रीहरु प्रवर्द्धन तथा बिक्रीका लागि समेत राखिएको छ।

‘गृह श्रमिकहरु विशेषगरी महिलाको बृहत् पहिचान तथा प्रतिनिधित्वका लागि होमनेट इन्टरनेशनलले एउटा प्लाटफर्मको सिर्जना गरेको छ, जहाँबाट उनीहरु अझ बढी संगठित, अझ बढी बलियो र सामूहिक आवाज उठाउँदै चुनौतीहरुको सामना गर्न सक्छन्। उनीहरुले यो फोरमबाट उनीहरुको कामसँग प्रत्यक्ष जोडिने रोजगारदाता तथा सरकारसँग आफ्नो हितका लागि लड्ने शक्ति जुटाउन सक्छन्।’– होमनेट इन्टरनेशनलकी संयोजक जान्ह्‍वी दवेले भनिन्।

विश्वभर २६ करोड मानिस घर वा घर वरिपरि नै रहेर वस्तु तथा सेवा उपलब्ध गराउने पेसामा आबद्ध भएको उमन इन इन्फर्मल इम्प्लोयमेन्ट ग्लोबलाइजिङ एण्ड अर्गनाइजिङ वेइगोको एक प्रतिवेदनले जनाएको छ।

यसरी काम गर्ने गृह श्रमिकहरुमध्ये ८६ प्रतिशतभन्दा बढी कामदार विकासोन्मुख देशहरुमा छन् भने जम्मा १४ प्रतिशत मात्र विकसित देशहरुमा छन्। प्रतिवेदनका अनुसार गृह श्रमिकहरुमध्ये  ५७ प्रतिशत महिला छन् जसले घर व्यवहार धान्दै घर वरपर नै रहेर बिभिन्न आय आर्जनको पेशालाई अंगाल्दै आएका छन्।

विश्वका दुई तिहाइभन्दा बढी गृह श्रमिकहरु एसिया तथा प्रशान्त क्षेत्रमा रहेका छन्। यसमध्ये पनि आय आर्जन तथा भौगोलिक क्षेत्रका हिसाबले सबैभन्दा बढी गृह श्रमिकहरु पूर्वी तथा दक्षिण पूर्वी एसियामा रहेको तथ्यांकले देखाउँछ।  यस क्षेत्रमा सबैभन्दा बढी ३६ प्रतिशत गृह श्रमिकहरु छन्। यसैगरी दक्षिण एसियामा मात्रै २६ प्रतिशत गृह श्रमिकहरु रहका छन्।

सब-साहारा अफ्रिकामा १४ प्रतिशत, ल्याटिन अमेरिका तथा क्यारेबियनमा ६ प्रतिशत गृह श्रमिकहरु छन्। मध्य पूर्व तथा दक्षिण अफ्रिकामा १ प्रतिशत तथा पूर्वी दक्षिणी यूरोप र मध्य एशियामा यो संख्या २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

विकसित क्षेत्रको अवस्था हेर्ने हो भने यूरोपमा ६ प्रतिशत, एसिया तथा प्यासेफिकमा ३ प्रतिशत र अमेरिकामा ५ प्रतिशत गृह श्रमिकहरु छन्। 

संस्थाले कोभिड महामारी अघि संकलन गरेको तथ्यांक अनुसार विश्वभर गृह श्रमिकहरुले आय आर्जनका लागि साताको ३५ घण्टाभन्दा बढी काम गरिरहेका छन्। अझ विकासशील देशहरुका गृह श्रमिकले त्यो भन्दा बढी समय काम गर्ने गरेको बताइएको छ। यी देशका गृह श्रमिकहरुमध्ये एक तिहाइभन्दा बढी महिला तथा एक चौथाइ भन्दा धेरै पुरुष शिक्षाको अवसरबाट समेत बञ्चित रहेका छन्।

विकसित तथा उदाउँदा अर्थतन्त्र भएका देशहरुमा गृह श्रमिकहरुले डिजिटल प्लाटफर्म, टेलिकम तथा अन्य प्रोफेसनल क्षेत्रमा काम गर्ने अवसर पाएपनि विकासोन्मुख देशका गृह श्रमिकहरुले भने कठिन औद्योगिक क्षेत्रका कामहरुका साथै परम्परागत घरेलु कामबाट आय आर्जन गरिरहेका छन्।

ती देशमा गृह श्रमिकहरुले हस्तकलाका सामाग्रीहरुको उत्पादन, सिलाइ बुनाई, पाककला लगायतका विविध परम्परागत पेसाहरुबाट आर्थिक रुपमा आत्मनिर्भर हुन प्रयास गरिरहेको बताइन्छ। यसमा उनीहरुलाई संगठित गर्ने र विकास गर्ने उद्देश्यले होमनेट इन्टरनेशनलले विविध कार्यहरु गर्दै आएको जनाएको छ।

परम्परागत रुपमा घरमै बसेर काम गर्ने गृह श्रमिकहरुको संख्यामा कोभिड महामारीपछि अझ बढी दक्ष जनशक्ति, शिक्षित समुदाय तथा कार्यालयमा काम गर्नेहरु पनि थपिएका छन्। उनीहरुको आगमनसँगै यस क्षेत्रमा कामदाहरुको परिभाषामै परिवर्तन आइरहेको समेत संस्थाले जनाएको छ। कामदारहरुको कार्यशैली तथा कामको प्रकृतिमै सिफ्ट आउँदा गृह श्रमिकहरुले परम्परागत कार्यशैलीलाई थप विकसित बनाउन सक्ने अवसर पाउने संस्थाले विश्वास व्यक्त गरेको छ।

सम्मेलनमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, केन्या, तान्जानिया, भुटान, थाइल्याण्ड, बुल्गेरिया, फिलिपिन्स, ब्राजिल, एलसाल्भाडोर लगायत २९ देशबाट सहभागिता छ।