आर्थिक मन्दीको मारमा रेष्टुरेन्ट, घर जग्गा र सेयर घटेपछि व्यापार ५० प्रतिशतले गिरावट

बिजमाण्डू
२०८० बैशाख १ गते ०९:५४ | Apr 14, 2023
आर्थिक मन्दीको मारमा रेष्टुरेन्ट, घर जग्गा र सेयर घटेपछि व्यापार ५० प्रतिशतले गिरावट

काठमाडौं। घर जग्गा र सेयर बजार कारोबारमा देखिएको मन्दीको असर अन्य व्यवसायमा देखिन थालेको छ। रेष्टुरेण्ट व्यवसायमा ५० प्रतिशतले गिरावट आएको छ।

Tata
GBIME
Nepal Life

तारे होटल र पर्यटकीय क्षेत्रमा रहेका रेष्टुरेन्टबाहेक काठमाडौंका फास्टफुड, चेन रेष्टुरेन्टमा ग्राहकको चहलपहल निकै घटेको छ। सेयर बजार र घरजग्गा कारोबारमा मनग्ये फाइदा हुँदा कारोबारीले रेष्टुरेन्टमा राम्रै खर्च गरिआएका हुन्। अहिले त्यो भीड रेष्टुरेन्टमा फाट्टफुट्ट मात्रै छ।

रेष्टुरेन्टको बिजनेस निकै घटेको सम्बद्ध व्यवसायीले जनाएका छन्। उनीहरुका अनुसार धेरै पैसा खेलाउनेहरुको कारोबार घटेसँगै खर्च क्षमता प्रभावित हुँदा रेष्टुरेण्टमात्र नभइ योसँग जोडिएको कृषि, उद्योग, कलकारखाना लगायतका सबै व्यवसायमा प्रभाव परेको छ।

अनलाइन डेलिभरीको बिजनेस पनि घटेको छ। यतिखेर फास्टफुड र चेन रेष्टुरेन्टबाट आउने खाद्य सामाग्रीको मागमा ५० देखि ७० प्रतिशतसम्म गिरावट आएको किसान मार्टका संचालक अविनाश सिलवालले बताए। ‘माग घटेको भनेको बिजनेस घटेरै हो। रेष्टुरेन्टको बिजनेसमा थुप्रै प्रकारको व्यवसाय जोडिएको हुन्छ,’ उनले भने, ‘अहिले विदेशी पर्यटक आउने होटल रेष्टुरेन्टको खाद्य सामग्रीको डिमान्ड उस्तै छ, अरु रेष्टुरेन्टको घटेको छ।’ यसबाट बजारको अवस्था कस्तो छ भन्ने थाहा हुने उनले बताए।

उनका अनुसार किसान मार्टले सामान्यतया ४० वटा रेष्टुरेण्टलाई सेवा दिएवापत दैनिक न्यूनतम दुई लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको थियो। अहिले त्यसमा २० वटा फर्म थपिएका छन् तर कारोबारको रकम नबढ्नुलाई बजारमा मन्दीको प्रष्ट चित्रका रूपमा बुझेको उनले बताए। रेष्टुरेण्टमात्र नभइ खाद्यान्नसँग सम्बन्धित सबै उद्योग र आपूर्तिकर्ताको व्यवसाय प्रभावित भएको उनको बुझाइ छ।     

पछिल्लो समय रेष्टुरेन्टको संख्या धेरै भएका कारण पनि व्यवसाय स्याचुरेसनमा गएको उनको तर्क छ। ‘बाहिर खानपिनमा जाने युवाहरुको क्रय शक्ति छैन। खर्चालु वर्ग भनेको सेयर बजार, घरजग्गा व्यवसायी नै हुन्। यो क्षेत्र नै प्रभावित छ,’ उनले भने,’खर्च गर्ने घटे, रेष्टुरेन्ट धेरै हुँदा उनीहरुको व्यवसाय पनि बाँडियो।’

रेष्टुरेन्टको व्यापारको समय सामान्यतः साँझ ७ देखि ९ बजेसम्मको हो। तीन महिनायता व्यापार निकै घटेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक वसन्त लामाले बताए। करिब १०० वटा आउटलेट संचालन गर्दै आएको यो रेष्टुरेन्ट चेनको रात्रिकालीन व्यवसाय मन्दीमा छ।

‘दिउँसोको समयमा फुड आइटमको माग राम्रै छ। तैपनि मागमा १० प्रतिशतले गिरावट आएको छ। तर, मदिरा खपतमा ९० प्रतिशतले गिरावट आएको छ,’ लामाले भने,’अहिले ग्राहकले ड्रिंक्ससहितको खानपान र पार्टी गर्न घटेको छ। यो मन्दीका कारण नै हुनुपर्छ।’ मासिक सरदर मुनाफा आधा नै घट्दा रेष्टुरेन्टलाई सञ्चालन खर्च धान्न गाह्रो पर्न थालेको उनले बताए।

ठमेलस्थित चर्चित क्लब एलओडी (लर्ड अफ ड्रिङ्क्स)का सञ्चालक रवीन श्रेष्ठले पछिल्लो एक महिनायता ग्राहकको खर्च गर्ने शैलीमै परिवर्तन आएको बताउँछन्। ‘ग्राहकमा खर्च गर्ने क्षमतै कम भएको देखिन्छ। फुटफलमा १० प्रतिशत कम भए पनि खर्च गर्ने खानपिन गर्ने शैलीमा परिवर्तन आइसकेको छ। तुलनात्मक रुपमा ग्राहकको खर्च गर्ने शैलीमा ३० प्रतिशतले गिरावट आएको छ,’ उनले भने।

सामान्यतया एउटा टेबलमा बस्ने ग्राहकले न्यूनतम ३० हजार रुपैयाँ खर्च गर्दै आएकोमा सरदर ९/१० हजार मात्रै खर्च गर्ने अवस्थामा पुगेको देखिएको उनले बताए। खानपिनको माग नै कम भएपछि रेष्टुरेन्ट, पब र क्लबहरुले गर्ने खाद्य सामाग्री खरिदको परिमाण घटेको छ।      

रेष्टुरेण्ट एण्ड बार एशोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी आर्थिक कारोबारमा मन्दीको असर ग्राहकले गरिरहेको खर्चको आकारबाट नै थाहा हुने बताउँछन्। ‘तीन महिनायता रेष्टुरेन्ट व्यवसाय प्रभावित छ। मान्छेका हातमा पैसा भए पो खर्च गर्छन्?,’ उनले भने, ‘ग्राहकको चहलपहल घट्यो। रेष्टुरेण्ट बिजनेसको नाफा विस्तारै विस्तारै घटिरहेको छ।’

समग्र अर्थतन्त्रको चक्रीय प्रणाली नै डाबाडोल हुँदा सेवा व्यवसायमा असर परेको उनले बताए। ‘चेन इफेक्ट छ। हामीसँग जोडिएको कृषि, खाद्यान्न लगायत सबै क्षेत्र प्रभावित भएको छ,’ उनले भने,’महँगो र चर्को ब्याजदरले अर्थतन्त्रै साँघुरिएको छ। यो समय बिजनेस कसरी टिकाउने भन्ने नै चुनौती आएको छ।’

गैरीधाराको तामा रेष्टुरेण्टका सञ्चालक अन्जित मल्लले ग्राहक उपस्थिति नघटे पनि खर्चको परिमाण घटेको देखिएको बताउँछन्। ‘खाजाको माग राम्रै आए पनि ड्रिंक्ससहितको डिमान्ड घटेको छ। रेष्टुरेन्ट बिजनेसमा फाइदा हुने आइटमकै डिमान्ड घटेपछि कारोबारमा असर त पर्ने नै भयो,’ उनले भने, ‘विकेण्डमा व्यापार ठीकै मात्र छ। खाजा खाने समयमा चहलपहल त छ। तर अहिले स्टक मार्केट, रियलस्टेट लगायत अतिरिक्त आम्दानी हुने व्यवसाय नै चौपट भएको असर रेष्टुरेन्टको टेबलमा हुने खर्चबाट थाहा हुन्छ।’

नियमित ग्राहकको रेष्टुरेन्ट आउने शैली नै परिवर्तन भएको उनले बताए। ‘महिनाको सरदर ७ पटक आइरहने ग्राहक यतिखेर २ पटक आउन थालेका छन्,’ उनले भने, ‘सामान्यतया हाम्रो विशेष परिकारको रुपमा रुचाइँदै आएको ह्याकुला फ्राइ पहिले दिउँसो ४ बजेयतै सकिन्थ्यो तर अहिले साँझ ७ बजेसम्म पनि अर्डर गर्नेले सजिलै पाउँछन्। छैन, सकियो भन्न परेको छैन।’

रेष्टुरेण्टसँगै उद्योग कलकारखाना, निर्माण क्षेत्रमा हुँदै आएको गतिविधि नै कम हुन थालेपछि माछा, मासु, अण्डालगायत खाद्य सामाग्रीको माग ३० प्रतिशतले गिरावट आएको भ्याली कोल्ड स्टोरले जनाएको छ। कम्पनीका संचालक बाबुराजा रावलले भने ‘हामीले कारोबार गर्दै आएको अधिकांश रेष्टुरेण्टको डिमान्ड ३५ प्रतिशतले घटेको छ।’

माग कम, उत्पादनले मूल्य नपाएको अवस्थामा बैंकको चर्को ब्याजदरले किसान, पसल, रेष्टुरेण्ट, ग्राहक सबै प्रभावित भएको उनको बुझाइ छ। रेष्टुरेन्ट बिजनेस घट्दा माछामासु, डेरी, बेकरी र हरियो तरकारीको व्यापार पनि प्रभावित भएको छ।

कोभिड महामारीयता पोल्ट्रीबाट हुँदै आएको वार्षिक आम्दानीमा ३० प्रतिशतले गिरावट आएको कम्पनीका परामर्शदाता डा. दिनेश गौतमले बताए। वार्षिक १ खर्ब ४० अर्ब रुपैयाँ कारोबार हुँदै आएकोमा पछिल्लो वर्ष नै करिब एक खर्ब रुपैयाँमा सीमित भएको उनको विश्लेषण छ।

‘अहिले सर्वसाधारणको आम्दानी स्रोत नै प्रभावित छ। म्याक्रो इकोनोमीको प्रभाव माइक्रोमा पनि परिरहेको अवस्था हो। सर्वसाधारणमा क्रय शक्ति नै नभएको अवस्थामा अर्थतन्त्र चलायमान हुनै गाह्रो छ,’ उनले भने,’डिमाण्ड स्लो छ। २ सय ७५ वटा ह्‍याचरीमा करिब १ सयवटा बन्द भइसकेको अवस्था छ।’

आर्थिक मन्दीका कारण यतिखेर ग्राहकको अर्डर संख्यामा गिरावट आउन थालेको अनलाइन खाना सेवा प्रदायक कम्पनी फुडमाण्डूले जनाएको छ। नयाँ ग्राहकको संख्या वृद्धि भए पनि खर्चमा भने गिरावट आएको कम्पनीका ब्राण्ड मार्केटिङ सेल्स हेड श्यामरत्न मालीले बताए। करिब १५ सय जना ग्राहकलाई सेवा दिँदै आए पनि महिनामा ४ पटक अर्डर गर्ने ग्राहकले अहिले बढीमा दुईपटक अर्डर लिँदै आएको उनले जानकारी दिए।

‘अर्डर घटेको छैन। तर अमाउन्टको हिसाबले ग्राहकले कम खर्च गर्दै आउनुभएको छ,’ उनले भने,’सबै उद्योगको बजार डाउन भएको अवस्था छ।’  

किन छायो घरजग्गा कारोबारमा मन्दी?

तरलता अभाव, उच्च ब्याजदरका साथै समयमै स्थानीय तहहरुले जग्गा वर्गीकरण गर्न नसक्दा त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा परिरहेको छ। काठमाडौं उपत्यकासहित देशैभर घरजग्गा कारोबार घटेको छ। सँगै कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार थप शिथिल बन्न पुगेको छ। त्यसैले कारोबारीका हात खाली छन्।

बजारमा घरजग्गा किन्ने ग्राहक नै नहुँदा घरजग्गा व्यवसायीहरुले बिक्री गर्न भारी नगद छुट, फुल फर्निस्ड घरदेखि नयाँ गाडी उपहारको योजना ल्याएका छन्। तर, आकर्षक योजना ल्याउँदा पनि घरजग्गा बिक्री हुन नसकेको व्यापारीहरु बताउँछन्। घरजग्गाको डिलदेखि प्रोपर्टीसम्बन्धी जानकारीका लागि हुने भेटघाट रेस्टुरेन्टमै हुने गर्छ। तर, कारोबारमा छाएको मन्दीका कारण यस्ता डिलदेखि भेटघाट निकै पातलिएको छ। जसको प्रत्यक्ष असर रेस्टुरेन्टको व्यापारमा परेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ४० हजार ७३४ लिखत पास भएको छ। कारोबारको रकम भने घटेको छ। गत मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित २९ हजार १ सय ८४ रहेकोमा पुसमा बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। यो क्रम माघमा फेरि बढेर ४१ हजार नाघेको थियो।

कारोबारको रकम घट्नुको कारण बजार विश्लेषकहरुले आर्थिक तरलतालाई मानेका छन्। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। माघमा पुसको तुलनामा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व पनि वृद्धि भएको थियो। माघमा ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।

पुसमा ३ अर्ब ७१ करोड र मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड राजस्व संकलन गरेको थियो। काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुले सरकारको राजस्व असुली ठूलो भर गरेका छन्। पछिल्ला महिना उपत्यकामै कारोबार घटेको छ।         

share bear

सेयर बजारमा पनि छैन रौनक

सेयर बजारमा भएको उत्साहप्रद लगानी पनि लगातार समायोजन भएको छ। तथ्यांकका आधारमा डेढ वर्षअघि २२ अर्बको उचाइसम्म पुगेको सेयर कारोबार हिजोआज एक अर्बभन्दा कम हुने गरेको छ। 

यो अवधिमा लगानीकर्ताको १४ खर्बभन्दा बढी पैसा क्षयीकरण भएको छ। सक्रिय कारोबारीको संख्या पनि ह्‍वात्तै घटेको हो। दिनमा लाखौं कारोबारीहरु सक्रिय हुने सेयर बजारमा हिजोआज हजारमा समायोजन भएको छ।

सेयर बजार अत्यधिक घटेपछि लगानीकर्ताले किनबेच गर्न नै घटाएका छन्। ३२ सयसम्म उक्लिसकेको बजार १८ सयको लाइनमा आइपुगेको छ। सेयर किनबेचबाट हुने मुनाफा मनग्ये खर्च गर्नेहरुले घुमघाम र खानपिनका खर्च घटाएका छन्।