काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक भएको बताएका छन्।
सरकार र निर्माण व्यवसायी मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखे। १५औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा आयोजना गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको स्वीकार गरे।
भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिए। ‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानून नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ,' उनले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताए।
‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन,' उनले भने, 'विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील देखिएनन्।' अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ छ।