सिटामोल अभाव चुलिएपछि नेपाल ‍औषधि लिमिटेडले दुई सिफ्टमा उत्पादन थाल्दै

सरला सुवेदी
२०७९ असोज १३ गते १७:३० | Sep 29, 2022
सिटामोल अभाव चुलिएपछि नेपाल ‍औषधि लिमिटेडले दुई सिफ्टमा उत्पादन थाल्दै

काठमाडौं । नेपाल औषधि लिमिटेड कम्पनीले सिटामोलको अभाव कम गर्न दैनिक २ सिफ्टमा उत्पादन थाल्ने भएको छ। हाल सिटामोल माग पूरा गर्न कम्पनीले दुई सिफ्टमा उत्पादन सुरु गर्न लागेको कम्पनीका महानिर्देशक मोहम्मद साफिउल्लाहले बताए।

Tata
GBIME

कोभिड-१९, सिजनल फ्लू र  डेंगीको कारणले बजारमा सिटामोलको अभाव चुलिएपछि सहजीकरण गर्न दैनिक दुई सिफ्टमा उत्पादन गर्ने उनले बताए। 

'हाल दैनिक ३ लाख २० हजार ट्याब्लेट उत्पादन भएर बजारमा जाने गरेको छ। कम्पनीमा सिटामोलको स्टक छैन। अहिले बजारमा सिटामोलको माग उच्च छ। अभाव भइरहेको गुनासो छ। जसका कारण सिटामोलको स्टक राख्न सकेका छैनौं। यति उत्पादनले पनि नपुग्ने अवस्था रहेकोले कम्पनीले थप उत्पादन बढाउन तयारी गरेको हो,' महानिर्देशक साफिउल्लाहले भने। 

यसको लागि आवश्यक कच्चा पदार्थ आयात भइसकेको छ। अरु कच्चा पर्दाथ आयात हुने क्रममा रहेको कम्पनीले जनाएको छ। 

'अब दिनमा दुई सिफ्ट गरेर ६ लाखभन्दा बढी ट्याबलेट उत्पादन हुन्छ। त्यो उत्पादनको केही स्टक राख्ने र केही बजारमा पठाउने तयारी भइरहेको छ,' महानिर्देशक साफिउल्लाहले बताए।

साथै, सर्वसाधारणको माग सम्बोधन गर्न कम्पनीले अस्थायी बिक्री सेवा पनि सुरु गरेको छ। कम्पनीमा आएका उपभोक्ताले ३० देखि ५० ट्याब्लेटसम्म खरिद गर्न सक्ने उनले जानकारी दिए।

कम्पनीको सेवा दसैंको दुई दिन महानवमी र विजया दशमीमा बाहेक दसैंको बिदामा पनि बिहान ९ बजेदेखि १ बजेसम्म सुचारू रहने बताइएको छ। अहिले पारा सिटामोलको अभावलाई अध्ययन गरेर दैनिक रुपमा स्वास्थ्य संस्था, वडा कार्यालय र अन्य रिटेल फार्मेसीलाई सिधैं आपूर्ति गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।