नेपाल उद्योग परिसंघले आगामी माघमा महिला नेतृत्व शिखर सम्मेलन गर्दै, ५०० सहभागी हुने

बिजमाण्डू
२०७९ असोज २ गते १७:१० | Sep 18, 2022

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले आगामी पुस २९ गते देखि माघ १ गतेसम्म महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ। परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन हुन लागेको हो।

मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो। सम्मेलनको लोगो तथा वेबसाइट पनि सार्वजनिक गरियो।

परिसंघले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनले परिवर्तन प्रेरित महिला, लिडर, विज्ञहरूलाई ल्याउने मञ्च अध्यक्ष छायाँ शर्मा बताउँछिन्। कोभिड-१९ महामारीपछि महिला नेतृत्वको आर्थिक, राजनीतिक तथा सामाजिक गरि तीन वटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन गर्न लागिएको उनले बताईन्।

उनले भनिन्, ‘कोरोना महामारीले गर्दा नेपाल लगायत संसारभर बढि महिलाहरूलाई कामबाट निकालिएको तथा नेपालमा महिलाद्वारा संचालित उद्यमहरू मध्ये १५ प्रतिशत बन्द नै भएको छ। कोरोना महामारीका कारण महिलामा परेको असर तथा यो समस्याको समाधान खोज्ने उदेश्यका साथ हामीले यो सम्मेलन आयोजना गर्दैछौँ।’

सम्मेलनले लैङ्गिक समानताका विषयसहित  महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्रदान गर्ने मञ्चले जनाएको छ।

सम्मेलनमा राजनीतिक, आर्थिक, सामाजिक, वातावरण लगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरूको सहभागिता हुने मञ्चले जनायो। सम्मेलनमा ६०० जना सहभागीहरू हुने अपेक्षा गरिएको मञ्चले जनाएको छ।