चिलिमे जलविद्युतले ८७ मेगावाटको अर्ध-जलाशययुक्त सेती नदी-३ आयोजना निर्माण गर्ने

बिजमाण्डू
२०७९ साउन ११ गते ११:४८ | Jul 27, 2022
चिलिमे जलविद्युतले ८७ मेगावाटको अर्ध-जलाशययुक्त सेती नदी-३ आयोजना निर्माण गर्ने

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ‍अर्ध-जलाशययुक्त सेती नदी-३ (एसआर-३) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।त्यसका लागि कम्पनीले उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन(इआईए) प्रतिवेदन तयार पारिरहेको छ।

Tata
GBIME
Nepal Life

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड इआईए प्रतिवेदन तयार पारिरहेको हो। आयोजनाले सूचना जारी गर्दै सात दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव दिन आग्रह गरेको छ। आयोजना सुदुरपश्चिमको बझाङमा निर्माण हुनेछ।

जयपृथ्वी नगरपालिकाको पानकोटनजिक १४ मिटर अग्लो र ६७ मिटर लम्बाइको बाँध निर्माण गरी ३०७७६६.०८ घनमिटर  क्षमताको पोखरी निर्माण गरिनेछ। सँगै रहेको इन्टेकमार्फत ८४.६० घनमिटर प्रतिसेकेण्ड बहावलाई ग्रेभल ट्रेप हुँदै बालुवा थिग्रयाउने पोखरीमा पुर्‍याइ सफा पानीलाई १०६९.८० मिटर बक्स कल्भर्ट तथा ४२५१ मिटर  लामो सुरुङद्धारा सर्ज साफ्टमा पठाइनेछ। त्यसपपछि उक्त पानीलाई १५३ मिटर लामो भूमिगत विद्युतगृहमा खसाली फ्रान्सिस टर्बाइन र जेनेरेटरको सहायताले ८७ मेगावाट विद्युत उत्पादन गरिनेछ।  

टेलरेस टनेलमार्फत पुन: उक्त पानीलाई सेती नदीमा खसालिने छ। आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई प्रस्तावित चैनपुर सब- स्टेशनमा जोडिनेछ।

चिलिमे नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो। यो कम्पनीमार्फत रसुवागढी (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट), सान्जेन (४२.५ मेगावाट) निर्माणाधीन छ। चालु वर्ष तीनवटै आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य छ।