ठेक्का लागेको २ महिनापछि सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु, ९ महिनाभित्र सक्नुपर्ने

बिजमाण्डू
२०७९ बैशाख १९ गते १३:५५ | May 2, 2022
ठेक्का लागेको २ महिनापछि सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु, ९ महिनाभित्र सक्नुपर्ने

काठमाडौं। ठेक्का लागेको दुई महिनापछि सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु भएको छ। सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी ठेक्का पाएको थियो।

Tata
GBIME
Nepal Life

अहिले यसै कम्पनीले डिजाइनको काम सुरु गरेको हो। चाइना स्टेटले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने छ।

२०७८ फागुन अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण पुरा गर्ने गरी सम्झौता भएको थियो। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार कम्पनीले डिजाइनको काम सुरु गरेको छ। सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम सकेर बुझाउने समय सीमा दिइएको केन्द्रले जानकारी दिएको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ। सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्राविधिकले डिजाइनको काम थाल्ने बताइएको छ। मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको हुने केन्द्रले जनाएको छ।

निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म १ हजार १ सय २६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

अहिले रहेको सडक करिब ५ किलोमिटर लामो रहे पनि पहाडको बीचबाट छेडेर सुरूङमार्ग निर्माण गर्दा दूरी घट्ने छ। निर्माण कम्पनीले ९ महिनापछि पहाड छेड्ने काम सुरु गरे पनि ठेक्का सम्झौता गरिएको पाँच वर्षभित्रै सुरुङमार्ग निर्माण गरी बुझाउनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।