कोरोना बीमा रकम भुक्तानी समस्या चाँडै समाधान हुने, बीमा समितिले विकल्पसहितको प्रस्ताव पठायो

बिजमाण्डू
२०७८ चैत्र २९ गते १५:२४ | Apr 12, 2022

काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्।

Tata
GBIME

बीमा समितिको कार्यालयमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिवलगायत पदाधिकारीहरुसँग निरन्तर छलफल भैरहेको जानकारी दिए। 'यो समस्या एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा म विश्वस्त छु।'- उनले भने।

अध्यक्ष सिलवालले यसबारे बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको समेत जानकारी दिए।

अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीयरुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको पनि बताए।

उनले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने उनको भनाई छ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए।

यस्तै बीमा समितिका निर्देशक दिनेश कुमार लालले समितिले विगतमा नभएका धेरै काम गएको एक वर्षमा नै सम्पन्न गरेको धारणा राखे।