कोंकणले रेल्वेले ढुवानी रोक्दा नेपाली व्यवसायीका सयौं कन्टेनर अड्किए भारतीय बन्दरगाहमै

बिजमाण्डू
२०७८ फागुन १२ गते २०:१८ | Feb 24, 2022
कोंकणले रेल्वेले ढुवानी रोक्दा नेपाली व्यवसायीका सयौं कन्टेनर अड्किए भारतीय बन्दरगाहमै

वीरगंज। तेस्रो मलुकबाट नेपालका लागि पठाइएका मालसमानसहितका हजारौं कन्टेनर नेपाल र भारतका विभिन्न बन्हरगाहमा अड्किएका छन्। मालसामान ढुवानीमा संलग्न भारतको कोंंकण रेलवेको पछिल्लो नीतिका कारण यो अवस्था सिर्जना भएको व्यवसायीहरुले बताएका छन्। 

Tata
GBIME

दक्षिण भारतको विशाखापट्टनम् बन्दरगाहमा तेस्रो मुलुकबाट नेपालका लागि रवाना भएका करिब ३ हजार कन्टेनर होल्ड भएको छ। यस्तै, वीरगंजबाट सात सय किलोमिटर पूर्व–दक्षिणमा रहेको पश्चिम बंगालको कोलकाता बन्दरगाहमा करिब ७ सय कन्टेनर होल्ड भएको वीरगंजका व्यवसायीहरुको भनाइ छ। 

वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहमा पनि कोंकणको करिब १७ सय खाली कन्टेनर थुप्रिएर बसेको छ भने अन्य कम्पनीको तीन सय खाली कन्टेनरले यार्ड ढाकेर बसेका छन्। सिर्सियामा मात्रै दुई हजार कन्टेनर थुप्रिएको छ।

यी तीन बन्दरगहमा गरी झण्डै लगभग पाँच हजार सात सय कन्टेनरहरु होल्ड भएर बसेका छन्। यसमा खाली र मालसमान सहितका गरी दुवै किसिमका कन्टेनरहरु भएको व्यवसायीहरुको भनाइ छ। 

यसरी कन्टेनर होल्ड हुँदा व्यवसायीलाई मासिक कारोडौंको घाटा लाग्ने चिन्ता बढेको वीरगंजका व्यवसायी माधव राजपाल बताउँछन्। 

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका राजपाल भन्छन्, 'कोंकणको पछिल्लो नीतिकै कारण यस्तो अवस्था सृजना भएको हो।' कोंकणको  भारतीय रेल्वेको भगिनी संस्था हो। मालसामान ढुवानीमा भारतमा यसको ९० प्रतिशत भन्दा बढी हिस्सा छ।

नेपाल रेल्वे सर्भिस एग्रिमेन्टपछि अहिले तेस्रो मुलुकबाट भारत हुँदै निजी रेल कम्पनीमार्फत नेपालले मालसमान ढुवानी गर्ने सुविधा पाएको छ। यससँगै कोंकणले कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्मका लागि दैनिक उपलब्ध गराउँदै आएको रेल ढुवानी सेवाको संख्या घटाउँदै जाने नीति लिएको छ। 

सोही अनुरुप कोंकणले रेल ढुवानी घटाउँदा अहिले मालसामानका कन्टेनरहरु न त भारतीय बन्दरगाहहरुबाट वीरगंजसम्म आउन सकेका छन्, न सिर्सियामा रहेका पहिलेका खाली कन्टेनर फिर्ता नै जान सकेको छ। यही कारण भारत भएर तेस्रो मुलुकबाट आएका समेत गरी नेपाली व्यवसायीका मालसामानका कन्टेनरहरु ठूलो संख्यामा बन्दरगाहकै यार्डमा रोकिएका हुन्।

मालसामानका कन्टेनर ढुवानी हुन नसक्दा अहिले दिनहुँजसो बन्दरगाहका यार्डमै रोकिने नेपाली व्यवसायीका कन्टेनरको लाम बढ्दै गएको छ। 

ड्राईपोर्ट भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिका कमर्शियल अफिसर विकाश शर्माका अनुसार गत असार १५ मा आरएसए लागु भएपछि नेपालमा हिन्द टर्मिनल, प्रिस्टिनर अन्य निजी कम्पनीले रेल ढुवानी संचालन गर्न ढोका खुलेको थियो। त्यससँगै कोंकणको ढुवानीमा एकाधिकार तोडिएको हो।

त्यसैको निहुमा कोंकणले वीरगंजका लागि पठाउने गरेको रेल ढुवानी सेवामा कटौती गरेको हो।

अन्य निजी कम्पनीले कन्टेनर ढुवानीमा २० देखि २५ प्रतिशतसम्म भाडा घटाएर ढुवानी सेवा उपलब्ध गराएपछि कोंकणले अहिले घाटा भएको भन्दै वीरगंज पठाउने रेल र्‍याकको संख्यामा कटौती गरेको छ। 

गत कात्तिकदेखि कोंणले वीरगंजको लागि कोलकात्ता र विशाखापट्टनमबाट उपलब्ध गराउने रेल संख्यामा कटौती गर्दै गएको हो। कोंकणले पहिले महिनामा ३० वटा र्‍याक वीरगंजका लागि उपलब्ध गराउँथ्यो भने अहिले आधामा झारेको छ। बाँकी अन्य निजी कम्पनीहरुले (महिनामा करिब २२ वटा र्‍याक) ढुवानी दिइरहेका छन्।

वीरगंजस्थित सिर्सिया बन्दरगाहमा कोंकणसँगै भारतका निजी ढुवानी कम्पनी हिन्द टर्मिनल, प्रिस्टिन मेगालजिस्टिक पार्क र प्रिस्टिनसंगै सहकार्य गरेको भारतको बक्सट्रान्स नामक निजी रेल्वेले ढुवानी सेवा दिइरहेका छन्। 

यसका बाबजुद पहिले महिनामा ६२ वटासम्म र्‍याक कोलकात्ता र विशाखापट्टनमबाट वीरगंज आउथ्यो भने अहिले जम्मा ५२ वटा मात्र आइरहेको बताइएको छ। महिनामा १० वटा र्‍याक कम हुनेबित्तिकै बन्दरगाहमा हजारौंको संख्यामा कन्टेनर थुप्रिने समस्या उत्पन्न भएको वीरगंजका व्यवसायीहरु बताउँछन्।

एउटा र्‍याकमा २० फुटे ९० वटा कन्टेनर अट्छ। एक कन्टेनरमा २३ देखि २७ टन मालसामान आउँछ। यस हिसाबले महिनामा १० वटा र्‍याक कम हुँदा नेपाल आउने ९०० वटा कन्टेनर प्रभावित हुन्छन् भने यसबाट २४ हजार तीन सय टन हाराहारी मालसामान कम भित्रिन्छ।

गत असार १५ गते नेपाल भारतबीच रेल्वे सर्भिस एग्रिमेन्ट भएको थियो। यस्तै, गत भदौ ३० मा भारतीय निजी क्षेत्र संचालिन ढुवानी रेल सेवा हिन्द टर्मिनल पहिलोपटक मालसमान बोकेर वीरगंज आइपुगेको थियो।

कोन्करले निजी रेल्वे ढुवानी कम्पनीलाई तह लगाउनका लागि नै यस्तो रणनीति अपनाएको व्यवसायीहरुको टिप्पणी छ। 

कोंकणको स्वामित्व रहेको हिमालयन टर्मिनल प्रालिले नेपालमा ड्राईपोर्ट सञ्चालनको ठेक्का गुमाएको थियो। सोपछि आरएसए लागू भएयता नेपालमा  व्यवसायीले कुनै पनि निजी रेलमार्फत ढुवानी गर्न पाउने सुविधा पाए। यससँगै कोंकणको नेपाली व्यापारसँग प्रत्यक्ष-परोक्ष रुपमा सरोकार टुट्दै गएको छ। यही कारण कन्टेनर नेपाल ढुवानीमा प्रभाव जमाएको कोंकणले नियोजित रुपमा नेपाली व्यापारलाई नाकारात्मक प्रभाव पार्न यस्तो झन्झट सृजना गरिरहेको उद्योगी व्यवसायीहरुको भनाइ छ। 

आरएसए आएपछि नेपालको भारत तथा तेस्रो मुलुकसंगको व्यापार सहज हुने आकलन गरिए पानि कोंकणले ढुवानी घटाउँदै जाँदा निजी कम्पनीले त्यसबाट सिर्जना भएको अभाव पूर्ति गर्न नसक्दा वीरगंजका व्यवसायीहरु अहिले फाइदाको सट्टा उल्टै घाटाको मोल चुकाउन आफूहरु बाध्य भएको प्रतिक्रिया दिन थालेका छन्।