दशकपछि सिद्धबाबा सुरुङमार्गको ठेक्का, दुई ठूला परियोजनामा कम्पनीको ढिलासुस्ती

बिजमाण्डू
२०७८ फागुन १ गते ०८:५६ | Feb 13, 2022
दशकपछि सिद्धबाबा सुरुङमार्गको ठेक्का, दुई ठूला परियोजनामा कम्पनीको ढिलासुस्ती

काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का लागेको छ। गत जेठमा आह्‍वान भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सुरुङमार्गको ठेक्का लागेको हो।

Tata
GBIME
Nepal Life

टेन्डरमा सहभागिता जनाएका नौ निर्माण कम्पनीमध्ये पास भएका चार वटाको आर्थिक प्रस्ताव खोल्दा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन कम्पनीको प्रस्ताव कम परेको हुनाले ठेक्का दिइएको छ।

कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का पाएको हो। ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको थियोे। तर, विभागले यसबारे अन्तिम निर्णय गर्दै आइतबार ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको हो।

प्राविधक प्रस्ताव पास गर्ने ती चारवटै कम्पनी चिनियाँ थिए। खरिद ऐन अनुसार आर्थिक प्रस्ताव कम बिड हाल्ने कम्पनीलाई निर्माणका लागि जिम्मा दिइने प्रावधान छ। 

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूमा चाइन फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन, सीओभीइसी-सीआरइजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन र सीसीइसीसी-सीआरसीसी १४-सियुयान जेभी भएका थिए।

यी कम्पनीमध्ये आर्थिक प्रस्ताव स्वीकृत भएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन कम्पनीले निर्माणको जिम्मा पाएको हो। ठेक्का सम्झौता भएको ९ महिनामा सम्बद्ध कम्पनीले सुरुङमार्गको डिजाइन विभागलाई उपलब्ध गराउने प्रावधान छ।

मुलुकभरका विभिन्न स्थानमा सुरुङमार्ग आयोजनाहरू निर्माण हुँदै छन्। हाल सिद्धबाबा सुरुङमार्ग योजना निर्माणमा अघि बढ्ने भएको छ। इन्जिनियरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का लगाइने यो सुरुङमार्ग ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस्तै ५ वर्षसम्म त्यस सुरुङमा आउने समस्याको समाधान र मर्मतको काम ठेकेदार कम्पनीको जिम्मेवार हुनेगरी ठेक्का लागेको केन्द्रले जनाएको छ।

नेपालको लगानीमा बन्ने यो सुरुङमार्गका लागि अर्थ मन्त्रालयले २०७६ मंसिरमा १० अर्ब १५ करोडको बजेट स्रोत सुनिश्चित गरिसकेको छ। 
केन्द्रका इन्जिनियर तथा प्रमुख प्रभातकुमार झाले २ वर्षअघि नै स्वीस डेभलपमेन्ट कर्पोरेशनले प्रारम्भिक डिजाइन तथा प्रतिवेदन विभागलाई दिइसकेको यस अघि नै जानकारी दिएका थिए। यही आधारमा विभागले विभिन्न प्यारामिटर राखेर सुरुङमार्गको टेन्डर गरेको उनले बताए।

‘निर्माण कम्पनीले ५ वर्षभित्र सुरुङमार्ग बनाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘इपीसी मोडलमा ठेक्का भएकाले तोकिएकै समयमा सुरुङमार्ग बन्ने लगभग निश्चित छ।’ सडकको सिद्धबाबा खण्डको करीब ४ देखि ५ किलोमीटर क्षेत्रमा जाने पहिरोका कारण प्रत्येक वर्ष जनधनको क्षति हुँदै आएको छ। यो क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा यो सुरुङमार्ग अघि सारेको थियो।

आयोजनाअन्तर्गत चिडियाखोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिनेछ । सुरुङमार्गको दूरी १ किलोमिटर १२६ मिटरको हुनेछ।

चाइना स्टेट इन्जिनियरिङ त्यही कम्पनी हो जसले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल विस्तारको ठेक्का पाएको छ। आगामी साउनसम्म सक्नुपर्ने उक्त ठेक्कामा कम्पनीको काम गराइ अति नै सुस्त छ। विभिन्न बहानामा कामलाई गति दिनसकेको छैन।

उक्त सडक विस्तारको काममा हालसम्म भौतिक प्रगति जम्मा  १२ प्रतिशत मात्रै छ। समयमा काम नसकिने भएपछि दुई वर्ष समय थप मागेको छ। यो ठेक्का चिनियाँ कम्पनीले करिब १५ अर्ब रुपैयाँमा हात पारेको हो।

यो कम्पनीले काठमाडौं-तराइ /मधेस द्रुतमार्गको पनि एउटा प्याकेजको ठेक्का २१ अर्ब ६१ करोडमा पाएको छ। जस अन्तर्गत महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित पुल र सडकको ठेक्का पाएको छ। यो आयोजनामा निर्माण हुने अरु दुई सुरुङभन्दा लामो सुरुङमार्ग पनि हो।  अहिले साइट गएर काम थाले पनि लक्ष्य अनुसार हुन सकेको छैन।