एलओआइ पाएको ५ महिनामा पनि प्रक्रिया नटुंगिएपछि हिमालयन-इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंक पुगे 

बिजमाण्डू
२०७८ मंसिर १९ गते १२:४१ | Dec 5, 2021

काठमाडौं। एक पटक थप गरेको समयमा पनि हिमालयन-नेपाल इन्भेष्टमेन्ट बैंक संयुक्त मर्जर समितिले मर्जर नटुङ्ग्याएपछि शुक्रबार फेरि समय थप्न राष्ट्र बैंकसँग माग गरेको छ।

Tata
GBIME
Nepal Life

दुबै बैंकले मर्जरका लागि संयुक्त मर्जर समिति बनाएको छ। 'कहिले के, कहिले के' फण्डा झिकेर मर्जर भाँड्ने प्रयास भइरहेको छ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि गत बैशाख ३० गते प्रारम्भिक सम्झौता भएको थियो। त्यसपछि दुवै बैंक सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए।

राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि मर्जर रोकिएको छ। सैद्धान्तिक स्वीकृतिको मिति ३ महिनाको हुन्छ। त्यो तीन महिना बितेपछि उनीहरुले राष्ट्र बैंकसँग थप समय मागेका थिए। राष्ट्र बैंकले २ महिना दिएको थियो।

यो दुई महिनामा सिन्को पनि नभाँचिदै समय सकिएको छ। फेरि उनीहरु शुक्रबार राष्ट्र बैंक गएका हुन्। आइतबार थपिएको दुई महिना समय सकिँदै थियो।

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष फेरिएपछि मर्जर प्रक्रियामा समस्या देखिन थालेको हो। तुलसी गौतम बाहिरिएपछि प्रचण्डमान श्रेष्ठ बैकको अध्यक्ष भएका छन्। उनको समूहको कुल १९ प्रतिशत सेयर छ। बराबरी हैसियतमा गाभिँदा उनको सेयर स्वामित्व आधामा घट्छ। त्यसो हुँदा उनको समूहले मर्जरपछि बन्ने बैंकमा एक जना सञ्चालक समेत नपाउने अवस्था आउँछ। त्यही भएर उनी मर्जर अगाडि बढाउने पक्षमा छैनन्।