दुई सातादेखि पर्यटक आउने क्रम बढेसँगै हेलिकोप्टर उद्योग लयमा फर्कियो, उडान संख्या दोब्बर

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ कात्तिक २ गते ०८:५१ | Oct 19, 2021

काठमाडौं। विदेशी पर्यटकको आवगमन बढेसँगै हेलिकोप्टर व्यवसायले गति लिन सुरु गरेको छ। कोभिड १९ महामारीका कारण लामो समयदेखि उद्दार उडान र ढुवानीमा मात्र सिमित हेलिकोप्टर व्यवसाय हाल पर्यटकहरुका लागि चार्टर सेवा दिन ब्यस्त हुन थालेको हो।

Tata
GBIME
Nepal Life

विभीन्न कम्पनीका हेलिकोप्टरहरुले हाल आन्तरिक र विदेशी पर्यटकहरुका लागि चार्टर उडानमा व्यस्त हुन थालेको ती कम्पनीहरुद्ये जनाएका छन्।

यतिखेर हेलिकोप्टरमार्फत पर्यटकीय गन्तब्यमा जाने विदेशी पर्यटक  तथा दृश्यावलोकनका लागि जाने आन्तरिक पर्यटकहरुका लागि हेलिकोप्टरको माग क्रमिक रुपमा बढ्दै गएको बताइएको छ।

पछिल्लो समय खुम्बु जाने पर्यटकको संख्या बढेसँगै उडान संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको कैलाश हेलिकोप्टरले जनाएको छ। यही रुपमा विदेशी पर्यटकको आवगमन बढ्दै गएमा आउँदो सिजनमा व्यवसायले थप गति लिनेमा कम्पनीका संचालक प्रताप जंग पाण्डे आशावादी छन्।

'सरकारले अलिक अगाडि नै विदेशी पर्यटकका लागि आवगमनमा प्रोटोकल खुकुलो गरिदिएको भए यो भन्दा राम्रो चहलपहल हुन्थ्यो। यो समयमा कतिपय विदेशी पासपोर्ट भएका नेपालीहरु पनि भित्रिएका छन्।' उनले भने,'आगामी दिनमा विदेशी पर्यटकको आवगमन थप उल्लेख्य हुने आशा लिएका छौँ।'

सामान्य अवस्थाको तुलनामा यतिखेर करिब १५ प्रतिशत  बढी पर्यटकको आवगमन भइरहेको उनले जानकारी दिए। यतिखेर कम्पनीसँग भएको तीनवटा हेलिकोप्टर मार्फत दैनिक छ वटा उडान हुँदै आएको उनले जानकारी दिए।

उनका अनुसार यतिखेर खुम्बु क्षेत्रमा दैनिक ८० जना भन्दा बढी पर्यटकको आवगमन हुँदै गएको छ। यो सँगै मनाङ क्षेत्रमा जाने पर्यटकको चहलहपल पनि उल्लेख्य रहेको उनले जानकारी दिए।

हाल एउटा एयरबस हेलिकोप्टर मार्फत सेवा दिँदै आएको मुस्ताङ हेलिकोप्टरले दैनिक तीन देखि चारवटा उडान गर्दै आएको जनाएको छ।

'पहिलाको तुलनामा बिजनेसले पिकअप लिन सुरु गरेको छ। माग आएसँगै अहिले विदेशी र नेपालीलाई चार्टर उडान सेवा दिँदै आएका छौँ। अहिले रेस्क्यु उडान सँगै लुक्ला उडानको माग उल्लेख्य रहेको छ।' संचालक रोनन लामिछानेले भने।

दुई साता यता विदेशी पर्यटकको आवगमन सुरु भएसँगै क्रमिक रुपमा उडान संख्या वृद्धि हुँदै गएको एयर डाइनेष्टीले जनाएको छ। दुई साता अघि दैनिक एउटा उडान हुँदै आएकोमा पछिल्लो समय दैनिक तीनवटा उडान हुँदै आएको कम्पनीका अपरेशन म्यानेजर बालकृष्ण पण्डितले बताए।

खुम्बु क्षेत्रमा पर्यटकको आवागमन वृद्धि भएसँगै हेलिकोप्टर सेवाको माग बढ्दै गएको उनले जानकारी दिए।

'अहिले धेरै सुधार आएको छ। पर्यटकको फ्लो सुरु भएको छ। यही हिसाबले विदेशी पर्यंटकको आवगमन भएको अवस्थामा आउँदो सिजन राम्रो हुने देखिएको छ।' उनले भने,'हामीले एउटा हेलिकोप्टर लुक्लामै बेस गरेका छौँ। लुक्लाबाट  गोरक्षेप, फेरिचे लगायतका क्षेत्रमा माउन्टेन फ्लाइट गरिरहेका छौँ।'

कम्पनीसँग भएको चारवटा हेलिकोप्टर मध्ये दुईवटा हेलिकोप्टर संचालनमा रहेको उनले जानकारी दिए।

विदेशी पर्यटकको आवगमन सुरु भएसँगै पछिल्लो एक महिना यता दुईवटा हेलिकोप्टरमार्फत मासिक ७५ घण्टा उडान हुँदै आएको मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेले बताए। 'कोभिडको समयमा धमाधत्रम रेस्क्यु फ्लाइट हुन्थ्यो। अहिले रेस्क्यु फ्लाइट कम छ। अन्य मुलुकको तुलनामा भारतीय पर्यटकको सहभागितामा मुक्तिनाथ लगायत विभीन्न गन्तब्यमा सेवा दिँदै आएका छौँ।' सेफ्टी म्यानेजर न्यौपानेले भने।

पछिल्लो समय रेस्क्यु र चार्टर उडानको माग क्रमिक रुपमा बढ्दै गएको श्री एयरले जनाएको छ। कम्पनीले हाल एउटा एयरबसको हेलिकोप्टरमार्फत सेवा दिँदै बएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। उनका अनुसार कम्पनीसँग भएको छ वटा एमआइ हेलिकोप्टर मध्ये तीनवटा विदेशमा छ भने तीनवटा नेपालमै रहेको छ। दुई मध्ये एउटा एयरबसको हेलिकोप्टर मर्मत संभारका लागि राखिएको उनले जानकारी दिए।

उनका अनुसार कम्पनीले दैनिक दुईवटा उडान गर्दै आएको छ।

यात्रुको माग अनुसार दुईवटा हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको अल्टिच्युड एयरले जनाएको छ। सरकारले विदेशी पर्यटक आवगमनका लागि जारी गरेको नयाँ प्रोटोकल ढिला सार्वजनिक गरेका कारण उल्लेख्य मात्रामा पर्यटकको आवगमन कम भएको कम्पनीका बजार प्रमुख सिताराम सापकोटाले बताए।

यतिखेर कम्पनीको हेलिकोप्टरले हिमाल आरोहरणका लागि नेपाल आएका पर्यटक र भारतीय चलचित्र उचाईका लागि सुटिङमा आएका कलाकारका लागि चार्टर उडान सेवा दिँदै आएको उनले जानकारी दिए।

सरकारले जारी गरेको निर्देशिका थप सरलीकृत भएमा तथा संक्रमण नबढेको अवस्थामा आउँदो सिजनमा विदेशी पर्यटकको आवगमन उल्लेख्य रहन आशा रहेको उनले बताए।