कुलमानले आइएसपीहरुलाई पढाए पोलभाडाको हिसाब,’भाडा बढाएका होइनौं पहिला रेट नै थिएन’

बिजमाण्डू
२०७८ असोज १२ गते १७:४१ | Sep 28, 2021
कुलमानले आइएसपीहरुलाई पढाए पोलभाडाको हिसाब,’भाडा बढाएका होइनौं पहिला रेट नै थिएन’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा दर बढाउनुको औचित्य बुझाउने प्रयास गरेका छन्। 

Tata
GBIME
Nepal Life

असोज १५ पछि पोलभाडा सम्झौता नगरी आफ्नो पूर्वाधार प्रयोग गरे तार काट्ने चेतावनी दिँदै प्राधिकरण सूचना निकाले पछि सेवा प्रदायकहरु भाडादरमा असन्तुष्ट हुँदै त्यसको विरोधमा छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणले पोलभाडा बढाएको नभइ यसअघि कुनै रेट नभएको स्पष्ट पार्न खोजेका छन्। 

प्राधिकरणले परिमार्जन गरेको पोलभाडालाई नै कारण बनाएर सेवा प्रदायकहरुले मूल्यवृद्धि गर्नेसम्मको तयारी गरेको आफुले सुनेको बताउँदै घिसिङले आफुहरु समन्वय गर्न तयार रहेको बताए। 

'नेपालमा हाम्रो जतिपनि ग्राहक छन् त्योमध्येमा आन्तरिक ग्राहक ५० लाख छ। घरघरमा जहाँ विद्युत पुर्‍याएका छौं आन्तरिक ग्राहकको जनसंख्या करिब ९० प्रतिशत पर्छ। आन्तरिक ग्राहकहरुबाट हामीले वार्षिक ३० अर्ब रुपैयाँ पाउँछौं। बाँकी औद्योगिक तथा व्यापारिक ग्राहकहरुबाट गरेर प्राधिकरणले कुल ७० अर्ब रुपैयाँ उठाउँछौं,' घिसिङले भने,'विद्युत भनेको ठूलो पूर्वाधार हो। हामीले सेवा प्रदायकहरुलाई भाडामा दिएको पोल तथा ओपीजीडब्लू केबलबाट प्राधिकरणले जम्मा २५ देखि ३० करोड रुपैयाँ उठाइरहेको हो।'

आफुहरुले तोकेको भाडादर पैसा धेरै उठाउनका लागि नभएको भन्दै घिसिङले सहरको सौन्दर्य कायम गर्न सेवा प्रदायकहरुले पोल प्रयोग गर्दा सहप्रयोग गर्छन् भनेर गरेको जिकिर गरे।

'सेवा प्रदायकहरुले सेयर गरेर तार तान्नु हुन्छ कि भनेर मूल्य तोकेका हौं। २४ कोरको तार तान्नु र १ कोर तान्नुको खर्च उही हो। २४ कोरको तार तान्यो भने धेरै सेवा प्रदायकहरुले सेयरिङ गर्ला भनेर राखेको हो,' घिसिङले भने।

४४ कोर वा ९६ कोर तार तान्यो भने आकार र बजनको हिसाबले एउटै हुने उनले बताए। ९६ कोर तार तान्यो भने अहिलेको भन्दा पनि सस्तो भाडादर सेवा प्रदायकहरुलाई पर्ने घिसिङले सम्झाए।

अहिले हरेक पोलमा हरेक व्यक्तिले हरेक इन्टरनेट सेवा प्रदायकहरुले तार तान्ने गरेकाले बताए। सेयर गर्ने वा बिग्रिएर, आगो लागेमा कुनै पनि सेवा प्रदायकहरुले तार नफर्ने बरु अर्को नयाँ तार तान्ने प्रवृत्ति निर्मूल पार्न भाडादर कायम गरिएको घिसिङले बताए।
अहिले प्राधिकरणको पोलमा झुन्ड्याइएका करिब ९५ प्रतिशत तार प्रयोगविहीन रहेको तथ्यांक घिसिङले प्रस्तुत गरे।

'थप्दा थप्दा पोलमा तारको डल्लो भइसक्यो। ढल्ने अवस्थामा पुगिसक्यो। पाँच प्रतिशत मात्रै तारले काम गरिरहेका छन्। एउटा पोलबाट २/४ वटा तार तान्यो भने पुगिहाल्छ। सेयर गरेर प्रयोग गरौं,' घिसिङले भने।

तोकिएको पोलभाडा दर अनुसार नै सेवा प्रदायकहरुले एकल रुपमा सम्झौता गरेर तिरे प्राधिकरणको आम्दानी ३० करोडबाट बढेर ५० करोड रुपैयाँसम्म पुग्ने घिसिङले बताए। 

घिसिङले आफुहरु सेवा प्रदायकहरुको तार काट्ने वा हटाउने पक्षमा नरहेको भन्दै सहकार्यमा समस्या समाधान गर्न तयार रहेको जानकारी दिए।
देशभर करिब ९० प्रतिशत घरधुरीहरुमा विद्युतको ग्रीड पुगेको भन्दै उनले प्राधिकरणको पोल देशका अधिकांश घरहरुमा पुगेको र यो ठूलो पूर्वाधार भएको बताए।

इन्टरनेट, केबल टिभी, टेलिफोनलगायतका तारहरु प्राधिकरणकै पोल प्रयोग गरेर तानिरहेका छन्। देशभर यी सेवा विस्तारमा प्राधिकरणको पूर्वाधारले ठूलो सहयोग पुगेको र पोल नभएको भए यी सेवाहरुको विस्तार गर्न असम्भव रहेको तर्क घिसिङको छ। प्राधिकरणको पूर्वाधार नभएको भए अहिले सेवा प्रदायकहरुलाई फाइबरदेखि अन्य तार विस्तार गर्न निकै महँगो पर्ने दाबी उनको छ।