दीर्घरोगीलाई मासिक उपचार खर्च ५ हजार पुगेपछि पीडित समाज खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

बिजमाण्डू
२०७८ भदौ ३१ गते १६:५७ | Sep 16, 2021

काठमाडौं। विविध किसिमका दीर्घरोगीलाई सरकारले मासिक भत्ता ५ हजार दिने निर्णयको मिर्गौला पीडित सरोकार समाजले स्वागत गरेको छ। दीर्घरोगीहरुलाई उपचारमा सहयोग पुगेको भन्दै समाजले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएका हुन्। 

Tata
GBIME
Nepal Life

समाजले बजेटमा मिर्गौला पीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै  शर्मालाई धन्यवाद दिएको हो। 

बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो। अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन्। पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन्। उनको डायलासिस भइरहेको छ।

‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता पुनः अर्थमन्त्री जनार्दन शर्माज्यूले दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था भएकोमा धन्यवाद दिन चाहन्छौं’, धन्यवाद पत्रमा भनिएको छ ।

मन्त्री शर्माले सरकार मिर्गौला पीडित लगायतको साथमा सधैँ रहेको बताए। उनले भने ‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ’, प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ।’

समाजले स्वास्थ्य बीमालाई १ लाखबाट २ लाख, दीर्घरोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने लगायतका माग समेत राखेको थियो।