डेढ अर्बको लागतमा रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नति योजना, धावनमार्ग विस्तार गरिने

बिजमाण्डू
२०७८ भदौ ४ गते १२:३१ | Aug 20, 2021
डेढ अर्बको लागतमा रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नति योजना, धावनमार्ग विस्तार गरिने

काठमाडौं। रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नति गरिने भएको छ। नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब रुपैयाँको लागतमा स्तरोन्नतिको योजना अघि सारेको हो। 

Tata
GBIME
Nepal Life

हाल नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटर जहाज मात्रै आउजाउ गर्दै आएको उक्त विमानस्थलमा ४० सिट क्षमताको एटीआर ४२-६०० सिरिजका जहाजमार्फत उडान सञ्चालन गराउने उद्देश्य रहेको प्राधिकरणले जनाएको छ। यद्यपि योजना पारित भएर कार्यान्वयनमा भने गइसकेको छैन।

हाल ६ सय मिटर लम्बाई र २० मिटर चौडाइ रहेको विमानस्थलको धावनमार्ग १२ सय मिटर लम्बाई र ३० मिटर चौडाइमा विस्तार गर्ने योजना छ। पुरानो र दुर्गम क्षेत्रलाई सेवा दिने विमानस्थल भए पनि साँघुरो हुँदा यहाँ हवाई सेवा कम्पनीहरु आफ्नो उडानका लागि उत्साहित छैनन्।

विमानस्थलको भावनमार्ग विस्तारसँगै भवन संरचना र सुविधा पनि थप गरिने प्राधिकरणका वरिष्ठ इन्जिनियर एवं निर्देशक प्रदीप अधिकारीले बताए। 'सम्भाव्यता अध्ययन हुँदैछ। एटीआर ४२-६०० एस सिरिजका जहाज उडान-अवतरण गर्न मिल्नेगरी चौरजहारी विमानस्थल विस्तारको योजना छ। सँगै जोमसोम, ताप्लेजुङ, सिमकोट, जुम्ला लगयात विमानस्थल विस्तार गर्दा नेपालको उड्डयन क्षेत्रले ठूलो फड्को मार्नेछ,' उनले भने।

प्राधिकरणका अनुसार चौरजहारी विमानस्थल विस्तारका लागि दुई विकल्प छ। जसमा रनवेको एक हजार र १२ सय मिटरमा विस्तारको छ। पहिलो विकल्प अन्तर्गत धावनमार्ग एक हजार मिटर लम्बाइ र २० मिटर चौडाइ विस्तारका गर्दा जग्गा अधिग्रहणमा मात्र साँढे ३४ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। यो बाहेक धावनमार्ग, भवन, पार्किङ लगायत पूर्वाधार तयारीका लागि थप ४० करोड लागत अनुमान गरिएको छ।

दोस्रो विकल्प अन्तर्गत विमानस्थलको लम्बाई १२ सय मिटर र चौडाइ ३० मिटरमा विस्तार गर्ने भन्ने छ। यसमा जग्गा अधिग्रहणका लागि मात्र ८८ करोड रुपैयाँ लागत आउने अनुमान गरिएको छ। यसबाहेक विमानस्थलको धावनमार्ग, भवन संरचना,पार्किङ लगायत पूर्वाधार तयार गर्नका लागि थप ५० करोड रुपैयाँभन्दा बढीको लागत पर्ने अनुमान छ।

प्राधिकरणले तयार पारेको विवरण अनुसार यो क्षेत्रमा अहिले जग्गाको भाउ प्रति आना दुई लाख रुपैयाँ छ। जेटस्ट्रिम, ट्विनअटर लगायत साना जहाजमार्फत उडान हुँदै आएको यो विमानस्थल एटीआर-७२ आउजाउ हुने गरी विस्तार गर्ने योजनामा काम भइरहेको प्राधिकरणले जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माको पहलमा यो विमानस्थलको स्तरोन्नति गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए। 'सरकारले पर्यटन मन्त्री छुट्टै नतोके पनि मन्त्री शर्माले यो प्रस्ताव अघि बढाएका हुन्,' उनले भने, 'करिब आठ वर्ष अगाडि कालोपत्रे गरिएको हो। धावनमार्ग सानो भएकाले विमानस्थल राम्रो अपरेशनमा छैन। ट्विनअटरका जहाज मात्र चल्छन्, ती जहाजको पनि नियमित उडान टुंगोको छैन।' 

चौरजहारी विमानस्थल वि.सं. २०२४ सालमा निर्माण भएको हो। जहाजको उडान अनियमित रहँदा यस क्षेत्रमा विमानस्थलको क्षमता विस्तारको माग लामो समयदेखि हुँदै आएको छ।