साइट ट्राफिक घटाउन सीडीएसद्वारा आइपीओ नतिजा हेर्ने विकल्प थप, इडीआइएसलाई पनि बढायो समय

बिजमाण्डू
२०७७ फागुन १५ गते १३:३३ | Feb 27, 2021
साइट ट्राफिक घटाउन सीडीएसद्वारा आइपीओ नतिजा हेर्ने विकल्प थप, इडीआइएसलाई पनि बढायो समय

Tata
GBIME
Nepal Life

काठमाडौं। आइपीओको नतिजा प्रकाशनमा अनुदार बनेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताको गुनासोलाई ध्यानमा राख्दै छुट्टै अप्सन बनाएको छ। 

अब आइपीओ नतिजा सीडीएसकै साइटबाट हेर्न पाइने बनाएको हो। बिभिन्न अनलाइन सञ्चारमाध्यमले आइपीओ नतिजा हेर्न मिल्नेगरी प्रकाशन गर्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बद्ध कम्पनी, बिक्री प्रबन्धक र मेरो शेयर गरी तीन वटा साइटबाट मात्रै हेर्न पाइने बनाएपछि शुक्रबार बाँडफाँट भएको महिला लघुवित्तको आइपीओ नतिजा हेर्न नपाउँदा धेरै लगानीकर्ता हैरान भएका थिए। 

तीन वटै साइटलाई एकैपटक धेरै जनाले खोल्दा सर्भर डाउन भएको थियो। यसले गर्दा अन्य कारोबारमा पनि असर गरेको थियो। शुक्रबार मेरो शेयरको साइट र एप दुवैले राम्रो काम गरेको थिएन।  महिला लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ र स्वयं लघुवित्तका साइट खुल्दै नखुल्ने, खुल्दा ढिला खुल्ने, नतिजा सजिलै नदेखाउने भएका थिए।

मेरो शेयर साइटको रिपोर्टबाट हेर्नका लागि धेरैले लग-इन गर्दा अन्य सेवा प्रभावित भएका थिए। अब आइपीओ नतिजालाई http://iporesult.cdsc.com.np/ पनि हेर्न मिल्ने बनाइएको सीडीएसद्वारा शनिबार जारी सूचनामा उल्लेख छ।

मेरो शेयरको सर्भरले ट्राफिक थाम्न नसक्दा आएको समस्यालाई ध्यानमा राख्दै सीडीएसले बिहीबार भएका कारोबारको राफसाफ (इडीआइएस) का लागि कारोबारीलाई आइतबार बिहान ७ बजेसम्मको समयावधि थप गरिदिएको छ।