फागुन लागेसँगै प्याजको भाउ उकालो, किलोको सय रुपैयाँ पुग्यो, सिजनमै किन बढ्यो मूल्य? यस्तो छ कारण

सरला सुवेदी/बिजमाण्डू
२०७७ फागुन १२ गते ०७:५८ | Feb 24, 2021
फागुन लागेसँगै प्याजको भाउ उकालो, किलोको सय रुपैयाँ पुग्यो, सिजनमै किन बढ्यो मूल्य? यस्तो छ कारण

Tata
GBIME

काठमाडौं। भारतमा प्याजको भाउ महंगिएसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार प्याजको थोक मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ तोकिएको छ।

भारतले प्याजको निर्यात खुला गरेपनि भाउ नघटेका कारण नेपालमा मूल्य आकाशिएको हो। भारतले नेपाल लगायत अन्य मुलुकहरुमा पनि प्याज निर्यात खुल्ला गरेपछि माग बढी भएर भाउ बढेको हो। गत असोजमा भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध तीन महिनापछि खुला गरे लगत्तै बिभिन्न देशबाट भारतीय प्याजको माग बढेको थियो।

व्यवसायीहरुले आयातित मूल्य अनुसार स्थानीय बजारमा प्याजको मूल्य निर्धारण गर्छन्। गत महिनासम्म प्रतिकिलो ७० रुपैयाँ भएको प्याजको मूल्य बढेर हाल थोक बजारमै प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ। खुद्रा मूल्य भने प्रतिकिलो एक सय रुपैयाँभन्दा माथि पुगिसकेको छ।

प्याज आयात सहजरूपमा भए पनि भारतमा नै मूल्य घट्न नसक्दा यसको असर स्थानीय बजारमा परेको छ। हाल दैनिक ९० टनदेखि एक सय टनसम्म प्याज आयात भइरहेको कालीमाटी फलफूल तथा विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए। नेपाली बजारमा बजारमा खपत हुने प्याजमध्ये ८५ प्रतिशत हिस्सा भारतीयबाट आयातितकै छ।

प्याज उत्पादन पहिलेको भन्दा कम भएको र नेपालसँगै अन्य मुलुकबाट प्याजको माग बढ्न थालेकाले भारतमै मूल्य घट्न नसकेको प्रवक्ता श्रेष्ठले बताए। आयातकर्ताले भारतमै मूल्य बढी तिर्नु परेकाले नेपाल आइपुग्दा थप महंगिएको बताएका छन्।

भारतमा अहिले नयाँ प्याजको सिजन सुरु भएको छ। अघिल्लो वर्ष यहि बेलाको मूल्यसँग तुलना गर्ने हो भने यतिबेला प्याज सस्तो हुनुपर्ने हो। भारतमा प्याजको उत्पादन धेरै हुँदा मूल्य निकै कम पर्दछ। जसले गर्दा आयात गरेर ल्याएको भारतीय प्याज स्थानीय बजारमा प्रतिकेजी २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म बिक्री हुने गरेको थियो।

यो वर्ष भने भारतीय प्याज प्रतिकिलो ६० रुपैयाँ भन्दा तल झरेको छैन। व्यवसायीहरुले भारतमा उच्च मागका कारण पहिले जस्तो मूल्य नघट्ने बताएका छन्। घट्ने अनुमान गरे पनि मूल्य बढ्दा अब कति पुग्छ भनेर अनुमान गर्न पनि यतिबेला गाह्रो भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

'पहिले होलसेलमै प्रतिकिलो एक सय २० रुपैयाँसम्म पनि प्याजको कारोबार भएको थियो। त्यही अनुपातमा त अहिले नजान पनि सक्छ। स्वदेशी उत्पादन बजारमा आएपछि मात्र मूल्य केही सस्तिएला,' उनले भने।

स्वदेशी उत्पादनको हिस्सा कम भएकाले बजारमा भारतीय प्याजको आयात निरन्तर बढ्ने क्रममा नै छ। गत महिनामा दुई हजार ३ सय ४९ टन प्याज आयात भएको छ। यसमध्ये २ हजार ३ सय २५ टन प्याज भारतबाट मात्रै आयात भएको रेकर्ड छ। 

फागुन लागेपछि मात्रै करिब एक हजार ८३ टन प्याज आयात भएको कालीमाटी तरकारी बजारले जनाएको छ। स्थानीय बजारमा प्याज अपुग हुने भन्दै भारतले गत असोजमा निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसबेला नेपालमा मूल्य बढेर प्याज  प्रतिकिलो एक सय ७ रुपैयाँ र कात्तिकमा प्रतिकिलो एक सय ३० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको प्याजको मूल्य पुस महिनासम्म प्रतिकिलो ६२ रुपैयाँमा बिक्री भइरहेको थियो।

स्वदेशी उत्पादन बजारमा भने निकै कम परिमाणमा मात्र आइपुग्ने गरेको छ। हरेक वर्ष नेपालमा ३ लाख टन बराबरको प्याज उत्पादन हुन्छ। उक्त प्याजले चाडपर्वको समयमा पनि नपुग्ने कालिमाटी बजारले जनाएको छ।

आफ्नै बजारका लागि पर्याप्त नहुने भन्दै बर्सेनि भारतले दसैंताकाको समय पारेर प्याज विदेश निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ, जसका कारण चाडबाडको समयमा नेपाली बजारमा प्याजको मूल्य निकै बढ्ने गर्छ।

चिनियाँ प्याजको माग कम

नेपालमा चिनियाँ प्याज पनि आइपुग्छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा चिनियाँ प्याजको माग भने कम हुने गरेको छ। चिनियाँ प्याज सस्तो छ तर उपभोक्ताले महंगो नै भएपनि भारतीय प्याज रुचाउने गरेका छन्।

भारतीय प्याज जस्तो स्वाद नहुने भएकाले चिनियाँ प्याज नेपाली उपभोक्ताले खासै मन पराउँदैनन्।  यसकारण चीनबाट प्याज प्रशस्त मात्रा आयात भएपनि भारतबाट हुने आयातको परिमाण घटेको छैन। बढ्दो मागका कारण बजारमा मूल्य पनि सस्तिएको छैन।