ग्लोबल आइएमई बैंकले अनामनगर र पानीपोखरीको जग्गा बेच्दै, जग्गाको मूल्य एक अर्ब रुपैयाँ बराबर

बिजमाण्डू
२०७७ फागुन ६ गते १२:१७ | Feb 18, 2021
ग्लोबल आइएमई बैंकले अनामनगर र पानीपोखरीको जग्गा बेच्दै, जग्गाको मूल्य एक अर्ब रुपैयाँ बराबर

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा बिक्री गर्ने भएको छ। बैंकले जग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वी गेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्री गर्न लागेको हो। यी कित्ताको क्षेत्रफल क्रमशः २५४.५०, २५४.५०, ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो।

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्री गर्न लागेको हो। यी कित्ताको क्षेत्रफल क्रमशः ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२ सय २९.७० वर्गमिटर रहेको बैंकले जनाएको छ।  

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्री गर्न लागेको हो। इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ।

बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ।