नेपाल लाइफको ‘स्टक स्प्लिट’: कानुन ‘प्रोग्रेसिभ’, अलमलमा नियामक, नेपालमा नौलो सुरुआत

बिजमाण्डू
२०७७ माघ ८ गते १९:५९ | Jan 21, 2021
नेपाल लाइफको ‘स्टक स्प्लिट’: कानुन ‘प्रोग्रेसिभ’, अलमलमा नियामक, नेपालमा नौलो सुरुआत

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) ले माघ ६ गते मंगलबार वार्षिक साधारणसभाबारे जारी गरेको सूचनामा 'स्टक स्प्लिट' अर्थात् सेयर विभाजनको प्रस्ताव पनि सभामा लैजाने उल्लेख गर्यो।

कम्पनीले प्रस्ताव गरेको अनुपातमा 'स्टक स्प्लिट' हुँदा हाल एनएलआईसीको सेयर कित्ता दोब्बर बढ्नेछ। अर्थात्, एक सयवटा सेयर हुनेसँग स्प्लिटपछि दुई सयवटा पुग्नेछ। बजार मूल्य भने स्प्लिट हुँदा ठिक आधामा समायोजन हुनेछ। तर सेयर दोब्बरले बढ्ने भन्ने तथ्यलाई धेरैले बोनस सेयर जसरी नै बुझ्दा यसले कम्पनीको सेयर मूल्य दुई दिनमा ह्वात्तै उकालो लागेको छ।

माघ ५ गते २४६५ रुपैयाँ रहेको एनएलआईसीको सेयरको मूल्य यसले स्टक स्प्लिट गर्ने प्रस्तावको समाचार बाहिरिएसँगै एकैदिन २२४ रुपैयाँले बढेर माघ ६ गते २६८९ रुपैयाँ पुग्यो। ७ गते १९६ रुपैयाँले बढेर २८८५ रुपैयाँ पुगेको छ।

जबकि, त्यसअघि एक हप्ताभरमा जम्मा २९ रुपैयाँले मात्र बढेको थियो। अघिल्लो महिनाको अन्तिम दिन (पुस २९) सम्म पनि यसको अन्तिम कारोबार मूल्य २४३६ रुपैयाँ थियो।

यो नेपालको सन्दर्भमा कुनैपनि कम्पनीले गर्न खोजेको पहिलो सेयर विभाजन अभ्यास हो। एनएलआईसीले यसअघि पनि करिब पाँच वर्ष पहिले सेयर खण्डीकरणको योजना अघि सारेको थियो। त्यसबेला एनएलआईसीको सीईओ विवेक झा थिए। उनले सेयरको अंकित मूल्य १० भागले घटाएर सयबाट १० रुपैयाँमा झार्ने सोच बनाएका थिए। 

'त्यसबेला हाम्रो कम्पनीको सेयर सबैका लागि अफोर्डेबल होस् भनेर फेस भ्यालु १० रुपैयाँमा झार्न खोजिएको थियो,' झाले भने। तर कम्पनी ऐनले नै पब्लिक कम्पनीको सेयरको प्रतिकित्ता अंकित मूल्य न्यूनतम ५० रुपैयाँ हुनुपर्ने तोकेकाले १ बराबर १० को अनुपातमा अंकित मूल्य घटाएर बजारमा सेयर आपूर्ति बढाउने उनको त्यो योजना अघि बढ्न सकेन।

अहिले पुन: एनएलआईसीले कम्पनी ऐनले उल्लेख गरेबमोजिमकै सीमाभित्र रहनेगरि नै १ बराबर २ को अनुपातमा हुनेगरि हाल सय रुपैयाँ रहेको सेयरको अंकित मूल्य ५० रुपैयाँमा झार्न खोजेको छ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना स्टक स्प्लिट नेपाली पुँजीबजारका लागि आवश्यकता समेत भएकाले यसलाई बोर्डले सकारात्मक रुपमा लिएको बताउँछन्। भन्छन्, 'यो बजारको आवश्यकता पनि हो। यसैले कम्पनी ऐन र धितोपत्रसम्बन्धी नियमावलीमा न्यूनतम अंकित मूल्यका विषयमा कुरा बाझिएको रहेछ भने पनि हामी केही उपाय निकालेर त्यसलाई मिलाउँछौं।'

धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरि भने धितोपत्र निष्काशन तथा दर्ता सम्बन्धी नियमावली स्टक स्प्लिटका विषयमा मौन रहेको बताउँछन्। 

'कम्पनी ऐनले के भनेको छ हामी त्यहीअनुसार गर्छौं, ' उनी भन्छन्, 'ऐनले मिल्छ भनेको छ भने अनुमति दिन बोर्डलाई समस्या हुँदैन।'

कम्पनी ऐन २०६३ भने यस विषयमा मौन छैन। कम्पनीले आफ्नो सेयर पुँजीलाई अंकित मूल्यबाट घट-बढ गर्न सेयर एकीकृत वा विभाजन गर्न सक्ने व्यवस्था गरेको छ। यद्यपि, 'धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३' ले भने सेयरको अंकित मूल्य कम्तिमा एक सय रुपैयाँ हुनुपर्ने उल्लेख गरेको छ। 

धितोपत्रको मूल्यका सम्बन्धमा नियमावलीको बुँदा ४२(१) मा भनिएको छ- 'साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रति इकाई एक सय रुपैयाँ,  डिबेञ्चरको हकमा प्रति इकाई एक हजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाङ्क अन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुनेछ।'

कम्पनी ऐन २०६३ यससँग थोरै बाझिएको छ, जसले स्टक स्प्लिट गर्न खोज्ने कम्पनीलाई सघाउँछ। ऐनले पब्लिक कम्पनीको सेयरको न्यूनतम अंकित मूल्य ५० रुपैयाँसम्म कायम गर्न सक्ने व्यवस्था गरेको छ। 

ऐनको परिच्छेद-४ मा गरिएको सेयर तथा डिबेन्चरसम्बन्धी व्यवस्था (दफा २७, २) मा अंकित मूल्य ५० रुपैयाँसम्म बनाउन सक्ने भनेको छ। यसअघिको ऐनले यो १० रुपैयाँसम्म राख्न सक्ने व्यवस्था गरेकाले सोल्टी होटलले सोही बमोजिम १० रुपैयाँ अंकित दरका सेयर जारी गरेको थियो।

यस्तै, ऐनको दफा ५६ ले स्टक स्प्लिट (सेयर विभाजन) गर्न सक्ने पनि स्पष्ट व्यवस्था गरेको छ। 

यस दफाको (१) मा सेयर पुँजी हेरफेर गर्ने कम्पनीको अधिकारका विषयमा भनिएको छ- 'नियमावलीमा गरिएको व्यवस्थाको अधिनमा रही साधारणसभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले देहाय बमोजिम आफ्नो सेयर पुँजी हेरफेर गर्न सक्नेछ'  भनिएको छ। 

यसैका तीन उपबुँदामध्येको उपदफा १ (ख) ले सेयर स्प्लिट गर्न सक्ने सुविधा दिएको हो। जसमा भनिएको छ- 'कम्पनीको सबै वा केही शेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर'

यसको अर्थ आवश्यकताअनुसार कुनै पनि पब्लिक कम्पनीले जारी सेयरको अंकित मूल्य बढाउन वा घटाउन सेयर विभाजन (स्टक स्प्लिट) वा एकीकृत (रिभर्स स्टक स्प्लिट) गर्न सक्नेछ । (हे. ऐनको दफा ५६)

स्टक स्प्लिटको अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने १:१० को अनुपातसम्म थुप्रै कम्पनीले सेयर विभाजन गरेको भेटिन्छ । नेपालमा भने कम्पनी ऐन २०६३ को पछिल्लो संशोधनपछि पनि १:२ को अनुपातभन्दा धेरैले सेयर विभाजन गर्ने विकल्प कानुनले दिएको छैन । जबकि, नेपालमा पनि १:१० को अनुपातसम्म पब्लिक कम्पनीको सेयर विभाजन गर्ने कानुनी छुट आवश्यक देखिइसकेको छ । 

नेपाल स्टक एक्चेन्जमा सूचीकृत भएका केही कम्पनीको सेयर पछिल्लो कारोबार मूल्यका आधारमा आम लगानीकर्ताको पहुँचभन्दा निक्कै माथि पुगिसकेकाले पनि कम्पनी ऐन र धितोपत्रसम्बन्धी ऐन/नियमावलीमा त्यसअनुरुपको संशोधनको औचित्य देखिन्छ ।

माघ ७ गतेको प्रतिकित्ता कारोबार मूल्यअनुसार युनिलिभर नेपाल (रु. २०३००), राष्ट्रिय बीमा कम्पनी (रु. १५८०५), बोटलर्स नेपाल (तराई) लिमिटेड (रु. ९००१), साल्ट ट्रेडिङ (रु. ८११८०),  हिमालयन डिस्टिलरी (रु. ४३५८), नागरिक लगानी कोष (रु. ३४५९) लगायत कम्पनीका केही कित्ता सेयर पनि आम लगानीकर्ताका लागि पहुँचबाहिर पुगेको छ ।
 

स्टक स्प्लिटले लगानीकर्तालाई फाइदा हुन्छ?
सेयरको विभाजन वा एकीकृतलाई प्राविधिकरुपमा 'फरवार्ड स्प्लिट' (वा स्टक स्प्लिट) र 'रिभर्स स्प्लिट' को शब्दावलीले बुझाउने गरिन्छ। 

एनएलआईसीले अहिले गर्न खोजेको फरवार्ड स्प्लिट हो। 'रिभर्स स्प्लिट' मा जारी सेयरको संख्या एकीकृत गरेर घटाइन्छ। 

कम्पनीहरुले कहिलेकाहीँ रिभर्स स्टक स्प्लिटको रणनीति पनि अपनाउँछन्। खासगरी बजारमा सेयरको आपूर्ति घटाउन र खास कारणले दोस्रो बजारमा सूचीकरण कायम राख्ने औपचारिकता मात्र पूरा गर्नका लागि आवश्यक संख्यामा सेयर सीमित राख्न रिभर्स स्टक स्प्लिट गर्ने गर्छन्। 

अभ्यासमा धेरै आउने गरेको 'फरवार्ड स्प्लिट' (वा स्टक स्प्लिट) मा भने सेयरको अंकित मूल्य बढाएर जारी सेयर संख्यालाई घटाउने गरिन्छ। यसो गर्दा सेयरको बजार मूल्य पनि रिभर्स स्प्लिटकै अनुपातमा वृद्धि हुन्छ। कुल बजार पुँजीकरण भने यथावत रहन्छ।

यसमा कम्पनीले जारी गरी दोस्रो बजारमा कारोबारका लागि सूचीकरण भएका वा कारोबार भइरहेका सेयर (आउटस्ट्यान्डिङ सेयर) को संख्या जुन अनुपातमा खण्डीकरण गर्न लागिएको हो त्यही अनुपातमा बढ्छ। अर्थात्, बजारमा कम्पनीको सेयर आपूर्ति (लिक्विडिटी) बढ्छ।

उदाहरणका लागि, एनएलआईसीको अहिले सूचीकृत ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर कम्पनीले प्रस्ताव गरेको १:२ को अनुपातमा विभाजन भए सोपछि यो १० करोड ९९ लाख २३ हजार २१६ कित्ता पुग्नेछ। तर, कुल बजार पुँजीकरण भने स्प्लिट हुनुभन्दा ठिक अघि भएबराबर नै रहनेछ।

स्टक स्प्लिटले कुनै पनि कम्पनीको सेयर मूल्य घटाएर बजारमा यसको आपूर्ति बढाउने हुँदा राम्रा कम्पनीको सेयर पहिले महँगो मूल्यका कारण खरिद गर्न नसकिरहेका लगानीकर्तालाई पनि यसले स्प्लिटलगत्तै घटेको मूल्यमा उक्त कम्पनीको सेयरमा लगानी गर्ने अवसर सिर्जना गर्नेछ। 

तर, राम्रा कम्पनीको सेयर माग पहिलेदेखि नै उच्च रहने हुँदा स्प्लिटपछि 'डिमान्ड क्राउड'ले सेयरको बजार मूल्य झन् झन् उकालो लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ। 

नेपाली जीवन बीमा बजारको एकतिहाई कब्जा गरेको एनएलआईसीको सेयर बीमा कम्पनीहरुमध्ये ब्लु चिप मानिन्छ। यसले सेयरधनीलाई अहिलेसम्म राम्रो प्रतिफल दिएको ट्र्याक रेकर्ड भएकाले स्टक स्प्लिटपछि पनि मूल्य बढ्ने संभावना रहन्छ।

अर्कोतर्फ, स्प्लिटमा कम्पनीको सेयरको अंकित मूल्य नै घटाइएको हुन्छ। यसैले सेयर स्प्लिट गरेको कम्पनीले सेयरधनीका लागि घोषणा गरेको प्रतिफल (खासगरी नगद लाभांस) मा पनि लगानीकर्ता झुक्किन हुँदैन। किनकि, कम्पनीले १:२ को अनुपातमा स्प्लिटपछि पनि पहिले १०० रुपैयाँ अंकित मूल्य छँदाकै दरमा लाभांस घोषणा गर्छ भने सेयरधनीले पहिलेको भन्दा ठिक आधा मात्रै पाउनेछन्। 

उदाहरणका लागि, अहिले एनएलआईसीले २० प्रतिशत नगद लाभांस दिने भनेको छ। यो भनेको हरेक सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको २० प्रतिशत (२० रुपैयाँ) पाउने हुन्। तर आगामी वर्ष स्टक स्प्लिट गरेपछि पनि यसले २० प्रतिशत नै नगद लाभांस दिने भयो भने अंकित मूल्य ५० रुपैयाँको २० प्रतिशत अर्थात् १० रुपैयाँ मात्रै प्राप्त गर्नेछन्।

रकममा पहिलेकै बराबर लाभांस दिन कम्पनीले पहिलाको भन्दा दोब्बर प्रतिशत लाभांस घोषणा गर्नुपर्ने हुन्छ। यसबाट स्प्लिटपछि लाभांश अधिक दिएजस्तो देखिनेछ । यसले कम्पनीको सेयरप्रती लगानीकर्ताको आकर्षण झन् बढाउनेछ भने कम्पनीको सेयरलाई अझ ब्लु चिप बनाउन मद्दत गर्नेछ ।

के छ विश्व अभ्यास
खासगरी कुनै पनि कम्पनीको सेयरको बजार मूल्य अत्याधिक बढेर लगानीकर्ताको ठूलो हिस्साको खरिद हैसियतभन्दा त्यो बाहिर पुग्दै गए स्टक स्प्लिट गर्ने अन्तरराष्ट्रिय अभ्यास छ।

नेपालमा स्टक स्प्लिटको अभ्यास आजसम्म नभएको भएपनि विश्वमा यो प्रचलन पुरानो भइसकेको छ। अन्तर्राष्ट्रिय स्टक मार्केटहरुमा सूचीकृत भएका त्यस्ता थुप्रै कम्पनीले एक-दुई पटक मात्र नभएर दर्जनौं पटक स्टक स्प्लिट गरेर बजारमा सेयर आपूर्ति बढाएको रेकर्ड छ। 

खासगरी बलियो वित्तीय स्वास्थ्य भएका र लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएका कम्पनीका सेयरको माग दोस्रो बजारमा पनि उच्च हुने हुँदा अल्पकालिन र दीर्घकालिन दुवै किसिमका लगानीकर्ताको नजरमा ती कम्पनीको सेयर' ब्लु चिप' ठहर्छन्। त्यसबाट उत्साहित भएर नै ठूला कम्पनीहरुले आफ्नो सेयर स्प्लिट गराउने हुन्। यसरी बारबारको स्प्लिटबाट सेयर मूल्य पुनः उकालो लाग्दै जाँदा समग्र कम्पनीको मूल्य अर्बौ डलर पुग्ने र त्यसका सेयरधनीहरुसमेत अर्बपति भएका उदाहरण छन्।

गत वर्ष मात्र एप्पल र टेस्लाले कम्पनीको स्टक स्प्लिट गरेका थिए। यी दुवै कम्पनी लगानीकर्ताका लागि ब्लु चिप हुन्। एप्पलले एक बराबर चार र टेस्साले एक बराबर पाँचको अनुपातमा सेयर खण्डीकरण गरेपछि यी कम्पनीको सेयर धेरैका लागि मूल्यका दृष्टिले लगानीयोग्य बनेको थियो।

किनकि, एक त स्प्लिटपछि एप्पलको आउटस्ट्यान्डिङ सेयर संख्या ३.४ अर्ब कित्ताबाट करिब १३.६ अर्ब कित्ता पुग्दा धेरैको पहुँचमा यो पुग्यो। यस्तै, स्प्लिटअघि एप्पलको सेयरको बजार मूल्य प्रतिकित्ता ५४० अमेरिकी डलर थियो भने स्प्लिटपछि यसको कारोबार मूल्य १३५ डलरबाट शुरु भएको थियो। 

टेस्लाको सेयर मूल्य बढेकै कारण गत जनवरी ६ मा यसका सीईओ एलन मस्क विश्वकै धनीमा उक्लिएका थिए। त्यसअघि २०२० को अगस्टमा मस्कले कम्पनीको स्टक स्प्लिट गर्नुअघि सेयरको बजार मूल्य प्रतिकित्ता १५०० डलर नजिक पुगेको थियो, जुन स्प्लिटपछि ३०० डलरमा कारोबार सुरु भयो।

एप्पल गरेको स्प्लिट भने पहिलोपटक थिएन। त्यसअघि अल्फाबेटले पनि एकभन्दा धेरैपटक स्टक स्प्लिट गरिसकेको छ। अझ एक थलोमा किनमेलको थिति बसाल्ने श्रेय पाएको अन्तरराष्ट्रिय रिटेल चेन 'वालमार्ट' ले त झन्डै दर्जनपटक स्टक स्प्लिट गरेको छ।

वालमार्टले एक बराबर दुईको दरले ११ पटक कम्पनीको सेयर खण्डीकरण गरिसकेको छ। वालमार्टले सन् १९७० अक्टोबरमा सर्वसाधारणमा सेयर (आईपीओ) जारी गरेको थियो। त्यसयता १९९९ मार्चसम्ममा नै यसले झन्डै दर्जनपटक स्टक स्प्लिट गरेको हो। वालमार्टको आईपीओबाट १०० सेयर किनेका लगानीकर्तासँग सेयर स्प्लिटको ३० वर्षमा नै २ लाख ४ हजार ८ सय कित्ता सेयर पुगेको थियो।

लामो समय विश्वको मूल्यावान कम्पनीमा दरिएको कोकाकोलाले पनि सन् १९३५ देखि २०१२ बीचमा १० पटक स्टक स्प्लिट गरेको थियो ।

भारतीय आईटी कम्पनी विप्रोले पनि सन् २००४ देखि २०१७ को बीचमा ६ पटक सेयर खण्डीकरण गरिसकेको छ । यसले एक बराबर तीन, एक बराबर दुई र एक बराबर पाँचको अनुपातमा गरेको स्टक स्प्लिटले पहिलो स्प्लिटभन्दा ठिक अघि १००० कित्ता सेयरका धनीको हातमा स्प्लिटबाटै १३ वर्षमा २२४२० कित्ता पुर्‍याइदिएको थियो ।

रोयल इन्फिल्ड मोटरसाइकलको प्यारेन्ट कम्पनी तथा कमर्शियल सवारीसाधन उप्पादक भारतीय अटोमेकर आइसर मोटर्सले पनि गत वर्ष बजारमा कम्पनीको सेयरको तरलता बढाउन एक बराबर १० को अनुपातमा स्टक स्प्लिट गरेको थियो । २०२० जुन १२ मा कम्पनी बोर्डले १:१० को अनुपातमा सेयर खण्डीकरणको प्रस्ताव पारित गरेपछि यसको सेयरको अंकित मूल्य प्रतिकित्ता १० भारुबाट एक भारुमा झारिएको हो । 

यीबाहेक पनि विश्वका थुप्रै नामुद कम्पनीहरुले स्टक स्प्लिटबाट आफ्नो सेयर स्वामित्व आम लगानीकर्ताको पहुँचमा पुर्‍याएका प्रसस्त उदाहरण छन् ।