नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै ठूलो आइपीओ भोलिदेखि आउँदै, कति कित्ता आवेदन गर्ने?

बिजमाण्डू
२०७७ माघ १ गते १५:३१ | Jan 14, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको माघ २ गते शुक्रबारदेखि साधारण सेयर निष्कासन हुँदै छ।

देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गर्न लागेको हो।

 

कम्पनीको जारी पुँजी २० अर्ब रुपैयाँ छ। कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको ४० प्रतिशत सेयर वितरण गर्न लागेको हो। यसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि राखिएको छ।

सर्वसाधारणले भने कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। भर्खरै मात्र जारी भएको चन्द्रागिरि हिल्सको आइपीओमा करिब १३ लाख आवेदन परेका थिए। इन्फ्राको आइपीओ भने आवेदन गर्ने जति सबैले पाउने भएकाले यसमा करिब १५ लाख हाराहारी आवेदन पर्ने अनुमान गरिएको छ।

१५ लाखले आवेदन गरे र सबैले ५० कित्ता भन्दा बढी आवेदन गरेको खण्डमा कम्तिमा ५० कित्ता सेयर सबैले पाउनेछन्। तर सबै आवेदकले ५० कित्ता आवेदन नगरेको खण्डमा भने प्रत्येक आवेदकले ६० देखि ८० कित्तासम्म सेयर पाउने सम्भावना रहेको बैंक स्वयंको पनि अनुमान छ।

कम्पनीको कुल सेयरमा १० प्रतिशत हिस्सा नेपाल सरकारको छ। बाँकी अन्य बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको इक्विटी लगानी गरेका छन्। बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशीलगायत छन्।

साधारण सेयर जारी गरेपछि सञ्चालक समितिमा तीन जना सर्वसाधारणबाट सञ्चालक बन्ने छन्। अनिल ज्ञवाली कार्यकाल पूरा गरेर अघिल्लो साता बाहिरिएपछि रामकृष्ण खतिवडा प्रमुख कार्यकारी नियुक्त भएका छन्।

चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा छ। यो नाफा परियोजनाबाट भन्दा पनि ब्याज आम्दानीबाट भएको हो। बैंकले आफ्नो पुँजी बैंकहरुमा निक्षेपका रुपमा राखेका कारण त्यसैको ब्याजबाट आम्दानी देखिएको हो। २८ करोड ९५ लाख रुपैयाँ बैंकले यस्तो आम्दानी गरेको छ।

बैंकले २० अर्बको 'निफ्रा डेब्ड फण्ड' स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ। यो बन्ड ५ अर्बको हुने छ। बैंकले आफ्नो अगुवाइ/सह-अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ।