कोभिडले आम्दानीमा असर परेपछि एमएस हाइटेक स्टिल कर्जा लिँदै, पायो सिंगल बी प्लस र ए फोर रेटिङ

बिजमाण्डू
२०७७ पुष २९ गते १४:३२ | Jan 13, 2021
कोभिडले आम्दानीमा असर परेपछि एमएस हाइटेक स्टिल कर्जा लिँदै, पायो सिंगल बी प्लस र ए फोर रेटिङ

Tata
GBIME
Nepal Life

काठमाडौं। एमएस हाइटेक स्टिल प्रालिले बैंकिङ कर्जाका लागि रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपालले हाइटेक स्टिललाई दीर्घकालीन बैंकिङ कर्जाका लागि सिंगल बी प्लस र छोटो अवधिको बैंकिङ कर्जाका लागि ए फोर रेटिङ दिएको छ। 

कम्पनीले कुल ८० करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ। दीर्घकालीन कर्जास्वरुप ३३ करोड ५० लाख रुपैयाँ र छोटो अवधि कर्जा स्वरूप ४६ करोड ५० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ। सन् २०१८ र १९ मा आम्दानी बढाएको कम्पनीले कोरोना महामारीको प्रत्यक्ष प्रभावका कारण २०२० मा भने बिक्री घटेर घाटा व्यहोरेको छ।

कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनले उत्पादन बिक्रीमा ह्रास र नाफा घटेर सञ्चालनमै असर परेको थियो। यही असरलाई न्यूनीकरण गर्न २०२० मा प्रवर्द्धकहरुले कम्पनी सञ्चालनमा सहजता होस् भनेर करिब दुई करोड रुपैयाँ सेयर पुँजीवापत् लगानी थपेका थिए।  

कम्पनीले आफ्ना उत्पादन बिक्री गरेर सन् २०१८ मा ३९ करोड ५० लाख र २०१९ मा ६२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् २०२० मा कम्पनीको आम्दानी २६ प्रतिशतले खुम्चिएर ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ। २०१९ मा ४३ प्रतिशत रहेको कम्पनीको क्षमता उपयोग २०२० मा घटेर २८ प्रतिशतमा सीमित भएको थियो। सन् २०१४ मा स्टिलका प्रडक्ट उत्पादन गर्ने गरी स्थापना भएको हाइटेक स्टिलको वार्षिक क्षमता २७ हजार मेट्रिक टन छ। यो कम्पनीको प्लान्ट नवलपरासीमा छ।