कोभिड भ्याक्सिनमा सफल कम्पनी बढ्दै जाँदा सुन लगातार सस्तिँदै, बिहीबार तोलाको ९४४०० रुपैयाँ

बिजमाण्डू
२०७७ मंसिर ४ गते १२:२८ | Nov 19, 2020
कोभिड भ्याक्सिनमा सफल कम्पनी बढ्दै जाँदा सुन लगातार सस्तिँदै, बिहीबार तोलाको ९४४०० रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं । तिहारको धन्तेरसका दिन तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य तिहारपछि कारोबार मूल्य तोकिएको लगातार दुई दिन नै घटेको छ ।

तिहारपछिको पहिलो कारोबार दिन बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार पनि ७ सय रुपैयाँले ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि तिहारअघिको अन्तिम कारोबार मूल्य (धन्तेरसका दिन) ९५ हजार दुई सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै तोलाको एक हजार २ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज बिहान सुन प्रतिऔंस १८६४.२४ अमेरिकी डलर र चाँदी २४.२२ डलरमा कारोबार भएको छ । 

कोभिड-१९ ले विश्व अर्थतन्त्र सुस्त भएर ठूला अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनचाँदीलाई सबैभन्दा सुरक्षित लगानी विकल्पका रुपमा विश्वास गर्दा यसको मूल्य लगातार उकालो लाग्दै नयाँ ऐतिहासिक रेकर्ड छोएको थियो । 

त्यसबेला नेपाली बजारमा तोलाको एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो सुनको मूल्य । उक्त विन्दुबाट ओरालो लाग्दै तोलाको ९४ हजारसम्म ओर्लिएको थियो । 

उक्त विन्दुबाट पुनः उकालो लाग्दै लाख रुपैयाँ तोलानजिक पुगेको यो पहेंलो धातुको मूल्य फाइजरले कोभिड-१९ को भ्याक्सिन ९० प्रतिशत  सफल भएको समाचार आएसँगै घट्न थालेको हो । उक्त खबर बाहिरिएको भोलिपल्ट नेपाली बजारमा एकैदिन सुन तोलामा ३४ सय रुपैयाँले सस्तिएको थियो ।

त्यसयता नेपाली बजारमा धन्तेरसका दिन मात्र बढेको भएपनि अन्य केही कम्पनीले पनि कोभिड-१९ को भ्याक्सिनको सफल उत्पादनको खबर बाहिरिएसँगै सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा झन् तल ओर्लने क्रम जारी छ ।