घटेर खुल्यो सेयर बजार, किन्नेभन्दा बेच्ने लगानीकर्ता बढि, वित्तीय क्षेत्रको सूचक कमजोर

बिजमाण्डू
२०७७ असार १५ गते ११:१३ | Jun 29, 2020

Tata
GBIME
Nepal Life

अपडेट: घटेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसँगै संस्थापक सेयरको मूल्य पनि बढेर कारोबार भइरहेको छ।

 ११ बजेर ३५ मिनेटसम्म सेयर बजार सूचक ४४ अंकले घटिसकेको छ। यतिबेलासम्म ७ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भइसकेको छ।

बजार ३३ अंकले घट्दा नेपाल दूरसञ्चार कम्पनीको मूल्य बढिरहेको छ। अहिलेसम्म चार कम्पनीको मूल्य बढेको छ।

तीव्र दरले बजार घट्दा पनि नेपाल इन्भेष्टेन्ट बैंक, हिमाल, दोलखा हाइड्रो र गुडविल फाइनान्सको सेयर मूल्य बढेको छ।

११ बजेर २० मिनेटसम्म सेयर बजार २४ अंकले घटिसकेको छ।

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरको माग उच्च छ। यसपछि हिमाल दोलखा हाइड्रोपावरको सेयरको माग बढी छ। दुवै कम्पनीको सेयर मूल्य सवा ११ बजेसम्म बढिरहेको छ।

बजार सबैभन्दा बढी सेयर आपूर्ति एनआइसी एसिया, एनएमबी बैंक, ग्लोबल आइएमइ र सानिमा बैंकको छ।

काठमाडौं। लकडाउन अवधिभर जम्मा दुई दिन सञ्चालन भएर बन्द भएको सेयर बजार चौतर्फी दवाबपछि सोमबार घटेर कारोबार खुलेको छ। १२०० अंकमा बन्द भएको बजार ११९७ अंकबाट खुलेको हो।

खुलेपछि सूचक निरन्तर घटिरहेको छ। खुलेपछि जलविद्युत समूह केही हरियो भएपनि बाँकी सबै रातो भएको छ। जलविद्युतको हरियो भने धेरै बेर टिक्न सकेन।

बैंक वित्तीय संस्था र बीमा कम्पनीको सेयर मूल्य ओरालो लगेको छ।

लकडाउनका बीच दुई दिन खुल्दा सेयर बजारमा पूरै दिन कारोबार हुन सकेको थिए। बढ्दा र घट्दा २ प्रतिशतको सर्किट लाग्ने ब्यवस्थाले बजार केही समय खुलेरै बन्द भएको थियो।

बजार निरन्तर घटेपछि 'निश्चित' समूहको दबाबमा धितोपत्र बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको थियो। मालपोतदेखि चिया पसलसम्म खुलिसक्दा पनि सेयर बजार नखुल्दा नियामकलाई खोल्नैपर्ने दबाब परेको थियो। 

कतिपयले बोर्ड, अर्थमन्त्रालय र नेप्सेका अधिकारीहरुले आफूले किनेको सेयर मूल्य घट्ने डरले बजार बन्द गराएको आरोप लगाएका थिए। केही लगानीकर्ताका संगठनले जुनसुकै बेला पनि तरल अवस्थामा रहनु पर्ने बजारलाई बन्द गर्न भनेका थिए।

लामो समयपछि सोमबार खुलेको बजारमा किन्नेभन्दा बेच्नेको दबाब बढि देखिउको छ। कोभिड-१९ का कारण जारी लकडाउनका कारण लगानीकर्ताको आय घटेको छ। त्यही भएर उनीहरु सेयर बेच्ने मुडमा देखिएका छन्। कतिपय भने बजार घट्छ र सेयर उठाउँछु भन्ने मुडमा पनि छन्।