मल्टी राउटर ग्राफ उपलब्ध गराउन आइएसपीलाई निर्देशन, ‘ग्राहकलाई पाइरहेको नेट स्पीड चेक गर्न देउ’

बिजमाण्डू
२०७७ असार ५ गते १५:३७ | Jun 19, 2020
मल्टी राउटर ग्राफ उपलब्ध गराउन आइएसपीलाई निर्देशन, ‘ग्राहकलाई पाइरहेको नेट स्पीड चेक गर्न देउ’

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सेवाको गुणस्तरप्रति ग्राहकको गुनासो आउने क्रम बढेपछि नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई एआरटी (मल्टी राउटर ट्राफिक ग्राफ) उपलब्ध गराउन निर्देशन दिएको छ।

तिरेको शुल्कअनुसारको सेवा उपलब्ध गराउन र आफूलाई दिइएको इन्टरनेटको गति ग्राहकले जाँच गर्न पाउने व्यवस्था गर्न एनटीएले आइएसपीहरूलाई भनेको हो। यसका लागि प्राधिकरणले सूचना नै जारी गरेको छ।

इन्टरनेट सेवाप्रदायकले यो व्यवस्था लागू गरिदिएपछि ग्राहकले आफूले चलाउँदै आएको इन्टरनेट सेवाको प्याकेज, भोलुम र स्लो भएको अवस्था लगायत सबै जानकारी लिन सक्ने एनटीए प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

'इन्टरनेट सेवाग्राहीको गुनासो पहिलैदेखि आइरहेको हो। हामीले यसअघि पनि सेवा प्रदायक कम्पनीलाई मौखिक रुपमा यो व्यवस्था लागू गर्न निर्देशन दिएका थियौं,' उनले भने, 'तर लागू भएको पाइएन। त्यसैले लिखित सूचना नै प्रकाशित गर्नु परेको हो।' सेवाग्राहीले तिरेको शुल्कअनुसार सेवा पाउनु पर्ने र पाएको सेवाको गुणस्तर जाँच गर्न पनि पाउँदा कारोबार पारदर्सी हुने उनले बताए। 'यसमा हाम्रो नियमित अनुगमन रहनेछ,' उनले भने।

इन्टरनेट सेवा लिइरहेका ग्राहकले एमआरटिजी ग्राफमार्फत इन्टरनेटको गति र समयअनुसारको डाटा खपत लगायत  जानकारी लिन सक्ने उनले बताए। मल्टी राउटर ट्राफिक ग्राफर नेटवर्क फ्री सफ्टवेयर हो। यो सफ्टवेयरमार्फत नेटवर्क लिंकअन्तर्गत ट्राफीक लोड मापन र अनुगमन गर्न सकिन्छ।

एआरटीमार्फत आफूले पाइरहेको नेटको गुणस्तर थाहा पाउन सक्दा आइएसपीविरूद्ध ग्राहकका गुनासा घट्ने एनटीएको अपेक्षा छ। नेटको स्पीड आफूले पैसा तिरेअनुसारको नपाएको गुनासो आउने क्रम लकडाउनका अवधिमा एनटीएमा निकै बढेको छ।