दर्जनौ उद्योग बन्द भएपछि मदिराको कच्चा पदार्थको मापदण्ड परिवर्तन, मदिरा उद्योगीलाई राहत

बिजमाण्डू
२०७६ कात्तिक २४ गते ०९:५० | Nov 10, 2019
दर्जनौ उद्योग बन्द भएपछि मदिराको कच्चा पदार्थको मापदण्ड परिवर्तन, मदिरा उद्योगीलाई राहत

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पाँच महिनामै मदिराको कच्चा पदार्थ एक्स्ट्रा नेचुरल अल्कोहल(इएनए)को मापदण्ड परिवर्तन गरेको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको मापदण्डका कारण दर्जनौ उद्योग बन्द भएपछि केही दिन अघिको मन्त्रिपरिषद् बैठकबाट आर्थिक ऐन संशोधन गरेको हो। राजस्व सचिव शिशिर ढुंगानाले इएनएको मापदण्ड सच्याउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै केही दिनमै राजपत्रमा प्रकाशित गरिने जानकारी दिए।

नयाँ आर्थिक ऐनले निर्धारण गरेको मापदण्डका कारण मदिराका दर्जनौँ उद्योग बन्द भई राजस्व असुलीमा समेत प्रत्यक्ष प्रभाव परेपछि अर्थमन्त्री डा.युवराज खतिवडा सच्याउन तयार भएका थिए।

 नयाँ आर्थिक ऐनले निर्धारण गरेको मापदण्डका कारण स्वदेशमा इएनएको उत्पादन बन्द भएपछि भारतबाट महँगो मूल्यमा आयात समेत गर्न थालेका थिए।प्रधानमन्त्री कार्यालयका अनुसार एक सय किलो चामल वा कनिकाबाट ३६ लिटर इएनएमा राजस्व लिने गरि आर्थिक ऐन संशोधन भएको छ।

चालु आर्थिक वर्षबाट एक सय किलो चामल वा कनिकाबाट ४२ लिटर इएनए निस्किने भन्दै त्यसमै राजस्व लिने गरेको थियो। उद्योगीका अनुसार एक सय किलो चामल वा कनिकाबाट ३५ लिटर मात्रै इएनए निस्किने भन्दै उत्पादनै बन्द गरेर बसेका थिए। इएनए संशोधनसँगै उद्योग संचालन हुन थालेका छन्।

एक लिटर इएनएको कारखाना मूल्य ९० रुपैयाँ छ। यसमा ६५ रुपैयाँ अन्तःशुल्क लाग्दा १५५ रुपैयाँ भयो। यसमा पनि १३ प्रतिशत मूअकर लाग्दा १७५ रुपैयाँ १५ पैसा हुन्छ।

तर मदिरा उद्योगले आफूले उत्पादन नै नगरेको र विक्री नै नभएको इएनएको अन्तःशुल्क, भ्याट र त्यसबापत पछि लाग्ने आयकर समेत तिर्दा उल्टै घाटा हुने भन्दै उत्पादन बन्द गरेर बसेका थिए। मन्त्रिपरिषद् बैठकले वाइनमा देखिएको समस्या समेत समाधान गरेको स्रोतले बतायो।

पछिल्लो आर्थिक ऐनले स्वदेशमा उत्पादित फलफूल र तिनको सारबाट बनेको १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको वाइनलाई प्रति लिटर १ सय ३५ रुपैयाँ अन्तःशुल्क तोकेको थियो।त्यस्तै १२ प्रतिशतसम्म अल्कोहल भएका विदेशी वाइनको पैठारीमा प्रति लिटर ३ सय ७० रुपैयाँ अन्तःशुल्क तोकिएको छ।

आर्थिक ऐनले विदेशी तयारी वाइनको पैठारीको उल्लेख गरेको छ तर विदेशी फलफूल र तिनको सारबाट बनेको वाइनको परिकल्पना पनि गरेको थिएन। त्यसैले कर्मचारीले रिस्क किन लिने भन्दै आन्तरिक राजस्वका अधिकारीले विदेशी फलफूल र तिनको सारबाट उत्पादित वाइनको अन्तःशुल्क प्रति लिटर ३ सय ७० नै लिन थालेका थिए।  किनकि १२ प्रतिशतसम्म अल्कोहल भएका तयारी वाइनको पैठारीको अन्तःशुल्क दर पनि प्रति लिटर ३ सय ७० नै छ।

यो व्यवस्थाका कारण कच्चा पदार्थ विदेशी स्याउ भनेर देखाउनेबित्तिकै उद्योगीलाई अन्तःशुल्कको भार धेरै अर्थात् प्रति टिर ३७० रुपैयाँ पर्थ्यो। त्यही स्याउलाई नेपालको भनेर देखाएपछि प्रति लिटर १३५ रुपैयाँ अन्तःशुल्क तिरे पुग्छ।