काठमाडौं। बैंकहरुबीच हुने सापटी कारोबार ह्वात्तै घटेको छ। अन्तर बैंक सापटी दर पनि घटेको छ। तरलता बृद्धिसँगै राष्ट्र बैंकको नीतिगत ब्यवस्थाका कारण सापटी कारोबार र दर घटेको हो।
'अहिले अन्तर बैंक दर १ प्रतिशतभन्दा तल आएको छ। बैंकहरुसँग तरलता बृद्धि भएकाले सापटी दर घटेको हो' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'राष्ट्र बैंकको सिसिडी नीतिका कारण पनि दर घटेको हो।'
राष्ट्र बैंकले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी) मा गणना हुने गरी अन्तर बैंक सापटी कारोबार गर्न पाइने ब्यवस्था गरेको थियो। यो ब्यवस्थाका कारण धेरै तरलता हुने बैंकसँग लिएर थोरै भएकाहरुले लगानी गरिरहेका थिए।
सिसिडी ७८/७९ प्रतिशतकै हाराहारीमा बसेका बैंकहरुलाई पनि अन्तर बैंक सापटीबाट काम गर्न पाउने ब्यवस्थाले ८० पुग्न लाग्दा पनि फरक पर्दैन थियो। यसले गर्दा सापटी दर बढेर सात प्रतिशतसम्म पुगेको थियो।
अहिले भने राष्ट्र बैंकले अन्तर बैंक सापटीलाई सिसिडीमा गणना गर्न नपाइने ब्यवस्था गरेको छ। सापटी रकम ऋण दिन नपाइने भएपछि बैंकहरुले अनिवार्य तरलता अनुपात (सिआरआर) मात्र कायम गर्न अन्तर बैंक कारोबार गर्न कम गरेका छन्। जसले गर्दा माग कम भएर ब्याज पनि कम भएको हो।