श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल, एक सातामै एओसी पाउने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ साउन २७ गते २१:२५ | Aug 12, 2019
श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल, एक सातामै एओसी पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र श्रीका प्राविधिक टोलीको सहभागिता रहेको जहाजले दिउँसो साढे चार बजे वनारस उडान गरेको थियो।

कम्पनीको ५० सिटे सिआरजे-२०० (नाइन एन अल्फा माइक अल्फा) कल साइनको जहाज बरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्य र वरिष्ठ क्याप्टेन राजुसिंह महर्जनले उडान गरेका थिए।कम्पनीका महाप्रवन्धक अनिल मानन्धरले वनारसबाट आएको जहाज साँझ पौने ८ बजे अवतरण भएको बताए। परीक्षण उडान सफल भएपछि प्राधिकरणले प्रतिवेदन दिनेछ।त्यही प्रतिवेदनका आधारमा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाउनेछ।

कम्पनीले सुरुमा चार्टर्ड उडानको अनुमति पाउनेछ भने केही समयपछि नियमित उडान गर्नेछ।‘हाम्रो परीक्षण उडान सफल भएको छ। प्राधिकरणले आन्तरिक प्रतिवेदन तयार पारेपछि एयर अपरेशन सर्टिफिकेट दिनेछ।’ उनले भने,’एक साताभित्रै एओसी पाउने विश्वासमा छौं।’कम्पनीले ६ महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानका लागि प्रकृया सुरु गरेको थियो। मानन्धरले बजारको मागलाई ध्यानमा राखेर भारतका प्रमुख शहरमा चार्टर्ड उडान गर्ने जानकारी दिए।

उनका अनुसार उडानका लागि माग अनुसार ७० सिटे सिआरजे-७०० र ५० सिटे सिआरजे-२०० लगायत दुवै जहाज प्रयोग गरिनेछ। मानन्धरले भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै उडान गर्न लागेको बताउँदै नेपाल-भारत नियमित उडान गर्ने जानकारी दिए।

'हामीले अहिले मन्त्रालयको अनुमति अनुसार चार्टर्ड उडानमा प्रवेश गरेका हौँ। भ्रमण वर्ष आउँदै छ। विदेशी वायुसेवा कम्पनीहरुले नेपाल प्रवेशमा सजिलै स्लट पाइरहेका छन्। भ्रमण वर्ष नजिकिँदै गर्दा नेपाली वायुसेवा कम्पनीले विदेशी मुलुकमा नियमित उडान गर्न सकेमा त्यसको सकारात्मक प्रभाव पार्छ।' मानन्धरले भने।