काठमाडौं। मौद्रिक नीति अघिसम्म मात्रै बैंकहरुबीच 'लभ गर्ने' समय रहेको बताएका गभर्नर डा. चिरञ्जिबी नेपालले बिहीबार बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारीहरुलाई छलफलका लागि छाकेका छन्।
राजधानीको 'याक एण्ड यति होटल' मा बिहान ११ बजेदेखि छलफल गरिने छ। बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारीहरुलाई फरक फरक समयमा डाकिएको छ।
'मंगलबार बजेट पास भइसकेकाले त्यहाँ भएका वित्तीय क्षेत्रसँग सम्बन्धित बिषयहरुमा छलफल गर्न बैठक डाकिएको हो' प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'खासगरी बजेट बक्तब्यको बुँदा नम्बर २३७ र ३१२ का बिषयमा छलफल हुने छ।'
अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते संसदमा बाचन गरेको बजेट बक्तब्यको बुँदा नम्बर २३७ मा भनिएको छ- वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिबृद्धि गरिनेछ। वित्तीय साधन उत्पादनमुखी बनाइनेछ। बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्ती संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिने छ।
यसैगरी बुँदा नम्बर ३१२ मा 'बैंकिङ तथा वित्तीय वा बीमा ब्यवसायको मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन २०५८ मा तोकिएको अवधि एक बर्षका लागि थप गरेको छु' उल्लेख छ।
गभर्नर डा. नेपालले केही दिनअघि एक कार्यक्रममा मौद्रिक नीतिअघि मात्र बैंकहरुबीच लभ गर्ने समय भएको भन्दै 'फोर्सफुल' मर्जरमा जाने संकेत गरेका थिए। स्रोतहरुका अनुसार, बिहीबारको बैठकमा मर्जरका बारेमा अध्यक्ष र कार्यकारी अधिकृतहरुको राय बुझिने छ। के कस्ता सुविधा दिँदा उनीहरु आकर्षित हुनसक्छन् भन्ने बिषयमा पनि छलफल हुने छ।