काठमाडौं। निरन्तर शेयर बजार घट्ने क्रम नरोकिदा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता समेत घटेका छन्।घट्दो बजारमा लगानीकर्ताको खर्बौ रुपैयाँ मात्रै गुमाएनन् कारोबार गर्ने उत्साह समेत गुमाएका छन्।
गत बिहिबारसम्म लगानीकर्ताको पाँच खर्ब १६ अर्ब गुम्यो। बैकको व्याजको समेत भार थपिएपछि लगानीकर्ता हत्तोसाहित भएका हुन्। १८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको कुल बजार पूँजीकरण गत बिहीबार १३ खर्ब ३७ अर्ब रुपैयाँमा झर्यो। गुमेको रकम फर्किने आशामा विगत तीन बर्षदेखि घाटा सहँदै बसेका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न केवाइसी समेत अद्यावधिक गराएका छैनन्।
नयाँ केवाइसी कार्यान्वयनमा आएको ६ महिनासम्म पनि लगानीकर्ताको अनुपात वृद्धि भने न्यून देखिएको छ। नेप्सेले भने आवश्यकता अनुसार लगानीकर्ताले केवाइसी अध्यावधिक गरेका कारण दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता कम देखिएका हुन्। ‘लगानीकर्ताले आवश्यक परेपछि मात्रै केवाइसी अध्यावधिक गर्छन्, त्यही भएर घटेको देखिएको हो,' नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।
प्राथमिक बजारमा खरिद गरेको शेयरलाई नगदमा परिणत गर्न नेप्सेले सञ्चालन गरेको दोस्रो बजारमा बिक्री गर्नुपर्छ।त्यसका लागी लगानीकर्ताले ब्रोकरमार्फत कारोबारका लागि दर्ता हुनुपर्छ। निरन्तर रूपमा शेयर बजार घटेका कारण दोस्रो बजारमा लगानीकर्ता घटेको इन्भेष्टर फोरमका अम्बिका पौडेलले जानकारी दिए। ‘निरन्तर रूपमा शेयर बजार घट्दा पूँजी बजारमा लगानीकर्ताको वितृष्णा भएको छ,’ पौडेलले भने।