काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज दरको प्रतिस्पर्धामा लागेर बैंकहरुले गलत गरिरहेको बताएका छन्। बिहीबार बैंकर्स संघको साधारणसभालाई संवोधन गर्दै डा. नेपालले बैंकहरुले ब्याज दर बृद्धि गरेर गलत गरेको बताए।
'तपाईहरुले जसरी ब्याज दरमा प्रतिस्पर्धा गर्नु भएको छ, त्यो गलत गरिरहनु भएको छ,' गभर्नरको आक्रोश थियो, 'तपाईँहरुले केन्द्रीय बैंकलाई के गर्न खोजेको हो? जिस्क्याएजस्तो गर्न खोजेको हो कि?'
उनले जसले ब्याज दर बृद्धि गरिरहेकमो छ त्यसलाई राम्रो नहुने चेतावनीसमेत दिए। डा. नेपालले ब्याज बढाउने बैंकहरुले सर्वसाधारणको पैसा दूरुपयोग गर्न खोजिरहेको आरोप लगाए। 'हामीले सार्क राष्ट्रहरुले गर्ने जति नियमन पनि गरिरहेका छैनौं' उनले भने, 'हामी त्यो गर्छौं। त्यो गरेका दिन आश्चर्य नमान्नु होला।'
उनले पैसा कमाएर बस्ने ठाउँ बैंकिङ नभएको प्रष्ट पार्दै यो क्षेत्रमा ब्यापारमा जस्तो स्वतन्त्रता नहुने पनि बताए। गभर्नर डा. नेपालले बैंकिङ क्षेत्रलाई नियामकले सँधै हेरिरहनेसमेत बताए। उनले १० प्रतिशत पैसा राखेर ९० प्रतिशत सर्बसाधारणको उठाएर ब्यवसाय गर्ने ठाउँमा ब्यक्तिगत सम्पतिजस्तो बैंकहरुले गर्न खोजेको आरोपसमेत लगाए।
'हामीले तपाईहरुलाई आर्थिक विकास गर्लानका लागि पैसा प्रयोग होस् भनेर सर्वासाधारणबाट उठाउन दिएको हो,' उनले भने, 'आफ्नो ब्यक्तिगत ब्यापार बढाउनलाई होइन। अहिले यस्तै गलत अभ्यास भइरहेको छ।'
पढेलेखेको जमान बैंकिङ क्षेत्रमा भए पनि उनीहरुले नैतिकता छाड्दै लगेको गभर्नर नेपालको आरोप छ। 'यत्रो पढेलेखेको मान्छेले त बुझ्नु पर्छ। सबैभन्दा राम्रो मान्छे बस्ने बैंकिङ क्षेत्रमा हो,' उनले भने, 'यस्ता पढेलेखेकाले पनि गलत अभ्यास गर्ने?'
उनले ब्याज दरमा फेरि सहमति गर्न संकेत पनि गरेका छन्। भने, 'मैले योभन्दा बढि भन्न मिल्दैन। तपाईहरुले कुरा बुझिसक्नु भएको छ। तपाईहरु सिन्सियर हुनुस्।'
अर्थमन्त्री डा. युवराज खतिवडाले भद्र सहमति गरेको र तोडेको बिषय बाहिर नल्याउन आग्रह गरे। उनले प्रतिस्पर्धा कानुनको ख्याल गर्न आग्रह गर्दै भने, तपाईहरु ब्याज दरमा छाडा पनि नहुनु होला।