काठमाडौं। बहुमतको सरकार आएपछि उत्पादनमूलक उद्योगमा एक महिनामै ७ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी आएको छ।
उद्योग विभागका अनुसार भदौमा १९ वटा उत्पादनमूलक उद्योगमा यो बराबरको लगानी आएको हो।साउनमा १२ वटा उत्पादनमूलक उद्योगमा ४ अर्ब ५७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो।पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने कुल लगानीको करिव ८० देखि ९० प्रतिशत सम्म उत्पादनमुलक उद्योगमा लगानी प्रतिवद्धता अाएकाे छ।
एक दर्जन स्टील र फलाम उद्योग
भदौमा आएका उत्पादनमूलक उद्योग मध्ये सबैभन्दा धेरै स्टील तथा फलामजन्य उद्योग एक दर्जन छन्।
नवलपरासीमा आउने गोयल ईस्पात भदौमा आएका उद्योग मध्ये सबै भन्दा ठूलो उद्योग हो। दुई अर्ब रुपैयाँ लगानीमा आउने उद्योगले विभिन्न किसिमका गरि वार्षिक एक लाख १० हजार टन पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ। गोयल स्पातले जीआर्इ र एमएस पाइपसँगै विद्युत पोल लगायतका सामाग्री उत्पादन गर्ने लक्ष्य लिएको छ।
नवलपरासीमा आउने टेन स्टिल उद्योगले २४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेको छ। उद्योगले मिल टि स्टील र स्टीलनेश स्टील पाइप गरि वार्षिक १८ हजार टन भन्दा बढी फलामे पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ।
नवलपरासीमै आउने अर्को स्टिल उद्योगमा सिद्धार्थ पाइप्स प्राली रहेको छ। २४ करोड रुपैयाँ लगानीमा आउन लागेको उद्योगले विभिन्न किसिमका १२ हजार ९६ टन पाइप उत्पादनको लक्ष्य लिएको छ।
सुनसरीमा आउने हुलास वायर इण्डष्ट्रिजले २४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेको छ। हुलास वायरको शाखा उद्योगको रुपमा दर्ता भएको उद्योगले वार्षिक रुपमा ३० हजार मेट्रिक टन बिलेड र ४५ हजार टन विभिन्न किसिमका फलामे पाइपहरु उत्पादन गर्ने लक्ष्य लिएको छ।
त्यसैगरि चितवनमा आउने भारतीय र नेपालीको संयुक्त लगानीको विश्वकर्मा इन्जिनियरिङले एक करोड रुपैयाँ लगानीमा २५० टन नट बोल्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।
रुपन्देहीमा आउने मंगलम इण्डष्ट्रिजले १३ करोड ६० लाख रुपैयाँ लगानीमा विभिन्न किसिमका ६ हजार तीन सय टन पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ।मोरङमा आउन लागेको दुर्गा सिन्थेटिकले २२ करोड ४४ लाख रुपैयाँ लगानीमा तीन हजार ८८० मेट्रिक टन चुल्हो उत्पादन गर्ने लक्ष्य लिएको छ।
बारामा आउन लागेको स्वर्णकार मेटल उद्योगले १७ करोड २० लाख रुपैयाँ लगानीमा घरायसी प्रयोजनका लागि आवश्यक डाडु, पन्यु देखि थाल, कचौराका सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगले वार्षिक तीन लाख २४ हजार टन बराबरका घरयासी सामाग्रीहरु उत्पादन गर्ने लक्ष्य लिएको छ।
स्याङ्जामा सिमेन्ट उद्योग
त्यसैगरि स्याङ्जा जिल्लामा एक अर्ब ५० करोड रुपैयाँ लगानीमा अथर्व सिमेन्ट उद्योग आउने भएको छ। पीपीसी सिमेन्ट एक लाख एक लाख ५९ हजार टन, ओपीसी सिमेन्ट एक लाख ५० हजार टन र क्लिङ्कर ८९ हजार टन उत्पादन गर्ने लक्ष्य लिएको छ।
चाउचाउ र फीड उद्योग
भदौमा दुई वटा खाद्य उद्योगले लगानी प्रतिवद्धता जनाएका छन्।
बर्दियामा आउने हिम श्री फुड्स वेर्स्टन नेपालले ६२ करोड रुपैयाँ लगानीमा चाउचाउ उद्योग स्थापना गर्ने भएको छ। उद्योगले वार्षिक पाँच हजार ७८५ टन चाउचाउ उत्पादन गर्ने लक्ष्य लिएको छ।
त्यसैगरि धरानमा आउने ब्राइड फिड उद्योगले १४ करोड रुपैयाँ लगानीमा पशुपंक्षीका लागि आवश्यक आहारा उत्पादन गर्ने भएको छ। उद्योगले वार्षिक दुई लाख १० हजार टन आहारा उत्पादन गर्ने लक्ष्य लिएको छ।
दुई वटा औषधी उद्योग आउने
भदौमा आएका उत्पादनमूलक उद्योग मध्ये दुई वटा औषधी उद्योग रहेका छन्। बुटवलमा आउने ग्रेस फर्मास्युटिकल्सले ४५ करोड ५३ लाख रुपैयाँ लगानीमा औषधी उद्योग स्थपना गर्ने प्रतिवद्धता जनाएको छ। उद्योगले विभिन्न औषधीका १८ करोड थान ट्याबलेट उत्पादन गर्ने लक्ष्य लिएको छ।
उपत्यकामा आउने कान्तिपुर फर्मास्युटिकल्सले पनि २९ करोड ६९ लाख रुपैयाँ लगानीमा औषधी उद्योग स्थापना गर्ने भएको छ। उद्योगले पाउडर पाँच हजार किलो र लिक्विड पाँच लाख लिटर उत्पादन गर्ने लक्ष्य लिएको छ।
दुई वटा इलेक्ट्रिक मोटर कम्पनी
भदौमा दुई वटा इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने कम्पनीले पनि उद्योग दर्ता गरेका छन्।
चितवनमा ७५ लाख रुपैयाँ विदेशी लगानीको इटालिएन कम्पनी बेला इलेक्ट्रिक अटोले वार्षिक ४५० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको छ।
त्यसैगरि कञ्चनपुरमा भारतीय लगानीको हिरोइन अटो इलेक्ट्रिक कम्पनीले१० करोड रुपैयाँ लगानीमा विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग आउनेछ। वार्षिक रुपमा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन ४०० वटा, चार पाङ्ग्रे विद्युतीय सवारी साधन ४०० वटा र मिनिट्रक १०० वटा उत्पादन गर्ने लक्ष्य लिएको छ।
तीन वटा काठ उद्योग आउने
भदौमा दर्ता भएका उद्योगमा तीनवटा काठ उद्योग छन्। १६ करोड ७० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेको कृष्ण एलडी डेकोर उद्योगले प्लाइवुड दुई हजार ४०० टन, लामिनाटेस दुई करोड १६ लाख स्क्वायर फिट र फेनोलिक युरा ८ हजार ४०० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको छ।
नेपालगञ्जमा आउने गणपती डोर एण्ड प्लाइउड इण्डष्ट्रिजले २४ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेको छ। उद्योगले प्लाइउड ढोका ६० लाख स्क्वायर फिट र ४० हजार मिटर जडान गर्ने लक्ष्य लिएको छ।
झापामा आउन लागेको स्वस्तिका प्लाइउड उद्योगले १९ करोड ३० लाख रुपैयाँ लगानीमा ६१ लाख ८५ हजार स्क्वायर फिट प्लाइउड उत्पादन गर्ने लक्ष्य लिएको छ।