पूर्वाञ्चलमा चाउचाउ उद्योगको ‘विगफाइट’, एक महिनामै दुर्इ नयाँ उद्योगले ल्याए चाउचाउ

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ भदौ २९ गते २१:२६ | Sep 14, 2018
पूर्वाञ्चलमा चाउचाउ उद्योगको ‘विगफाइट’, एक महिनामै दुर्इ नयाँ उद्योगले ल्याए चाउचाउ


विराटनगर। पूर्वाञ्चलमा चाउचाउमा विगफाइट सुरु भएको छ। एक महिनाकै अवधिमा दुर्इ नयाँ उद्योगले चाउचाउ बजारमा ल्याएका छन्।

Tata
GBIME
Nepal Life

झापाका पाँच उद्यमीको संयुक्त लगानीमा स्थापित मनसा थाई फूडले ‘मगमग’ ब्रान्डको तयारी चाउचाउ बजारमा ल्याएको छ। विराटनगरको क्वालिटी ग्रुपले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डमा तीन प्रकारका चाउचाउ बजारमा ल्याएको एक महिना नपुग्दै मनसा ग्रुप ‘मगमग’ तयारी चाउचाउ ल्याएको हो।

सुनसरीको गढी गाउँपालिकामा २०७४ माघमा इन्डस्ट्रियल पार्कको उद्घाटन गरेको चौधरी ग्रुपले पनि ‘वाइवाइ’ तयारी चाउचाउकै कारखाना लगाइरहेको छ । पुस महिनाभित्र इन्डस्ट्रियल पार्कबाट बाइवाइको उत्पादन सुरु भइसक्ने ग्रुपले जनाएको छ ।

यसपछि प्रदेश नम्बर १ मा मात्र तयारी चाउचाउका पाँच ठूला उद्योग सञ्चालनमा आउने छन् । सुनसरीमा एसियन थाई फुड्स र मोरङमा क्वालिटी थाई फुड्स पहिलेदेखि नै सञ्चालनमा छन् ।

मनसा थाई फुड मेची अञ्चलकै पहिलो तयारी चाउचाउ उद्योग भएको छ। मनसा थाईमा परशुराम अग्रवाल, ओम अग्रवाल, गणेश प्याकुरेल, सञ्जय गोयल र अजय अग्रवालको लगानी छ ।

सञ्चालक गणेश प्याकुरेलका अनुसार उद्योगमा ४० करोडको लगानी छ । यसमा उत्कृष्ट तथा अत्याधुनिक प्रविधि र मेसिनसहित खाद्य वैज्ञानिकको प्रत्यक्ष निगरानी रहेको उनको दाबी छ ।

उद्योगले दुई महिना लामो गृहकार्य र परीक्षण उत्पादनपछि भदौको अन्तिम सातामा ‘मगमग’ ब्रान्डको तयारी चाउचाउ बजारमा प्रस्तुत गरेको सञ्चालक प्याकुरेलले बताए ।

‘मगमग’ तयारी चाउचाउ ८१ ग्रामको छ । यसको मूल्य २० रुपैयाँ राखिएको छ ।असोज महिनाभित्रैे ‘प्यारी’ ब्रान्डमा ७० ग्रामको तयारी चाउचाउ बजारमा ल्याइने र यसको अधिकतम खुद्रा मूल्य १५ रुपैयाँ हुने गणेशले बताए ।

त्यस्तै ‘रेलीमाई’ ब्रान्डमा ४५ ग्रामको तयारी चाउचाउ पनि दशैँअगाडि ल्याइसक्ने र यसको अधिकतम खुद्रा मूल्य १० रुपैयाँ राखिने उनले जानकारी दिए ।‘मगमग’, ‘रेलीमाई’ र ‘प्यारी’ गरी तीन वटै ब्रान्डका चाउचाउ चिकन र भेज दुबै स्वादमा हुने उनले स्पष्ट पारे ।

उद्योगले प्रतिदिन २० हजार कार्टुन अर्थात् ६ लाख पाकेट चाउचाउ उत्पादन गर्नेछ ।प्याकुरेल यसअघि ‘रमपम’ चाउचाउको उत्पादक एसियन थाई फुडमा १८ वर्ष महाप्रबन्धक पदमा कार्यरत थिए । चाउचाउको बजार र ब्रान्डिङको जिम्मेवारी उनैलाई दिइएको छ ।

‘लामो समय चाउचाउको बजारमा खेलेको हुँदा मैले केही बुझेको छु जस्तो लाग्छ’, विश्वासका साथ पराजुलीले बताए, ‘रमपमको सुरुवातदेखि मै थिएँ, बजार कसरी सुरु गर्नुपर्छ भन्ने अनुभव छ । त्यही अनुभवको प्रयोग यहाँ गर्नेछु ।’

झापाको मेची नगरपालिका वडा नम्बर १४ स्थित दुवागढीमा स्थापित उद्योगमा ३ सयभन्दा बढीले रोजगारी पाउने गणेशले जानकारी दिए ।प्याकुरेलका अनुसार सन् २०१९ भित्रै ‘मगमग’ चाउचाउको निकासी पनि गरिने छ ।