काठमाडौं। नेपाल माछा व्यवसायी संघ चितवन शाखा र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा चितवनमा माछा मेला २०१५ हुने भएको छ। चितवनमा आउँदो शनिबारदेखि सोमबारसम्म तीनदिने माछा मेला हुन लागेको हो।
माछा व्यवसायलाई माथि उठाउन सहयोग गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। यस्तै स्थानीय माछाको प्रवर्द्धन गर्दै
माछा आयातलाई निरुत्साहित गर्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा स्वदेशी दाना उत्पादक, मत्स्य व्यवसायमा आवश्यक प्रविधि साथै औषधि र खनीज उत्पादक व्यवसायीहरु, ह्याचरी व्यवसायीहरु, व्यवसायिक समूह, सहकारी र फर्महरु, होटल र रेष्टुराँहरुको सहभागिता रहने छ।
मेलामा ५० वटा स्टलहरु रहने छन्। मेलामा विभिन्न प्रजातिका माछा पनि राखिने आयोजकले जनाएको छ। यस्तै माछासहित अन्य पशु पन्छि पालनबारे पनि जानकारी दिइने भएको छ।
महोत्सवले माछा र माछाजन्य उत्पादनको प्रवर्द्धन गर्न सहयोग गर्ने आयोजकले दावी गरेको छ।