काठमाडौं । लकडाउनका कारण दुई महिनादेखि सार्वजनिक नगरिएको सुनचाँदीको भाउ बुधबारदेखि सार्वजनिक भएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव कृष्णलाल महर्जनले बुधबारदेखि नियमित सुनचाँदीको दरभाउ प्रकाशित हुने जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहँदा नेपाली बजारमा भने मूल्य सार्वजनिक नभएका कारण उपभोक्ता अन्योलमा परेको महर्जनको ठहर छ। पुरानै दरभाउ सामाजिक संजालमा देखिँदा उपभोक्तालाई समस्या परेकाले फेरि दैनिक रूपमा सुनचाँदीको दर प्रकाशन गर्न लागेको उनले विज्ञप्ति जारी गर्दै जनाएका छन्।
सूचनाको हक तथा उपभोक्ता संरक्षण अधिकारलाइ मनन गर्दै सोमबार बसेको महासंघको कार्यसमितिको बैठकले उक्त निर्णय गरेपछि बुधबारदेखि सुनचाँदीको भाउ सार्वजनिक भएको हो।
आज सुनको मूल्य प्रतितोला ८६ हजार ८० रुपैयाँ र चाँदी ८ सय ९० रुपैयाँ छ । बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिइ बुधबार सुनचाँदीको मूल्य कायम गरेको जनाएको छ।