काठमाडौं। सुनको मूल्य फेरि उकालो लागेको छ। शुक्रवार प्रतितोला ७४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन चार सयले बढ्दै आइतबार प्रतितोला ७५ हजार रूपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ भने चाँदीको प्रतितोलामा ५ रूपैयाँले बढेर ८ सय ९० रूपैयाँ भएको छ।महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्यका अनुसार अमेरिका र इरान बीचको विवाद अन्त्य हुने संकेतका कारण सुनको मूल्यमा गिरावट आएको थियो। तर इरानले युक्रेनको विमान खसालेको पुष्टि भएसँगै तत्काल विवाद लम्बिने देखिँदा लगानीकर्ता सुनमा लगानी गर्दै सुरक्षित बन्न चाहेकाले मूल्य उकालो लागेको हो। 'यो विवाद जारी रहुन्जेल सुनको मूल्य घट्ने देखिएन,' उनले भने।
बिहेबारीको लगनको महिना सुरु हुनै लाग्दा अहिले सुन खरिद-बिक्रीमा उपभोक्तामा उत्साह देखिने बेला हो। ‘भाउ घटबढको अस्थिरता देखेर नेपाली उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेका छन्,‘ उनले भने।