काठमाडौं। निक इलेक्ट्रो टेकको नवौ संस्करण पुष ६ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने भएको छ।
“आर्थिक समृद्धिको सम्बाहक-उर्जा” भन्ने मुल नारा सहित रार्ष्ट्रिय एवं अर्न्तरार्ष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सूचना प्रविधि र विद्युतीय तथा वैकल्पिक उर्जा उद्यमीहरुलाई एकै थलोमा जमघट गराइ उद्योगमा भएका नविनतम उपलब्धीहरुको वारेमा जानकारी दिने प्रदर्शनीको मुख्य उदेश्य रहेको छ।
७७ वटा स्टल रहने एक्स्पोमा नेपाली तथा बहुरार्ष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामाग्रीहरु, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वाइरिङ सामाग्रीहरु, घरयासी उपकरणहरु, लाइटिङ, इलेक्ट्रोनिक उपकरणहरु, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामाग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
नवौ प्रदर्शनीमा यसपटक विद्युतीय सुरक्षा र खपतलाई ध्यान दिएर आगो नलाग्ने वायरिङ तारदेखि थोरै विद्युत खपत गर्ने उपकरण र स्मार्ट प्रविधिमा आधारित मानविय सेन्सरबाट अटो अन अफ हुने विद्युतीय सामाग्रीहरु आकर्षणको केन्द्र हुने निक इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक कुशकुमार जोशीले जानकारी दिए।
मेलामा नेपालमा पहिलोपटक उत्पादन गरिएको ६६ केभीको ट्रान्सफर्मर पनि मुख्य आकर्षण हुने जोशीको दावी छ। वार्षिक ८० अर्ब रुपैयाँको विद्युतीय सामाग्रीको कारोबार हुने नेपालमा नेपाली उत्पादनको हिस्सा भने २० प्रतिशत हाराहारी मात्रै रहेको छ।
एक्स्पोले बहुरार्ष्ट्रिय कम्पनीलाई नेपालमा लगानी गर्न आकर्षण गर्न सक्ने जोशीको विश्वास छ। नेपालमा अहिले ११ सय मेगावाट विद्युत आपूर्ति हुँदा ८० अर्ब रुपैयाँको कारोबार भइरहेकोमा विद्युत उत्पादन बढ्दै जाँदा व्यापार पनि बढ्दै जाने भएकाले एक्स्पोले बहुरार्ष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न आकर्षित गर्ने जोशीको विश्वास छ।