काठमाडौं। साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको छ।
साओमी इन्डियाका बैदेशिक बिस्तार प्रमुख संकेत अग्रवालले साओमीका ४ नयाँ स्मार्टहरु फोनहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिँदै भने-‘केही बर्षदेखि नेपाली बजारमा स्मार्टफोनले राम्रो स्थान लिएको छ र यहाँको रैथाने बजारसँग सहकार्य गर्न उत्सुक छौं।’
आधिकारिक रुपमा आगमनले नयाँ मोडलहरु सुलभ मुल्यमा ल्याउन सहयोग गर्ने उनले बताए।
कम्पनीले दुईवटा क्यामेरा भएको रेडमी सिक्सको नेपाली बजार मूल्य १६ हजार ४९९ र १८हजार ४९९ रुपैयाँ तोकेको छ।
यसैगरी शक्तिशाली ब्याट्री भएको र स्ट्याण्डबाइ मोड ९ दिनसम्म चल्ने दावी गरिएको रेडमी सिक्स एको बजार मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। रेडमी सिक्स एमा अनुहारबाट फोन अनलक गर्ने सुविधा पनि छ।
रेडमी सिक्स र सिक्स ए सुनौलो, कालो र निलो रंगमा बजारमा उपल्बध गराएको छ।
यसैगरी एमआई एटु रेन्जका मोबाइलसेटहरु २० हजार ९९९ रुपैयाँ, २४ हजार ४९९ रुपैयाँ र ३० हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
एमआई एटुमा २० मेगापिक्सेलको २ वटा क्यामेरा रहेकोले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीले जनाएको छ।
सेल्फी खिच्नेहरुकालागि यो फोन उत्कृष्ट रहेको कम्पनीको दावी छ। यसमा भएको इलेक्ट्रोनिक इमेज स्ट्याबलाइजेसनले द्रुत गतिका बस्तुलाइ पनि सहजै खिच्न सक्ने बताइएको छ।
एमआइ एटु लाइटमा भने ३४ घण्टा लगातार संगीत सुन्न सकिने र लगातार ६ घण्टा गेम खेल्न सक्ने गरीको शक्तिशाली ब्याट्री रहेको उल्लेख छ।
यी सेटहरु पनि कालो, सुनौलो र निलो रंगमा बजारमा पाइने कम्पनीले जानकारी दिएको छ।