रुपन्देही। रुपन्देहीस्थित नेपाल आयल निगम भलबारी डिपोमा लकिङ प्रणालीको शुभारम्भ गरिएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) को सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली शुभारम्भ गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
एक अध्ययन प्रतिवेदनको सुझावअनुसार पहिलो चरणमा सिलिगुडीबाट भित्रिने ट्याङ्करमा यो प्रणाली लागू गर्ने निर्णय गरिएको हो। लकिङ प्रणाली लागु हुँदा आगामी दिनमा ट्यांकरबाट हुने इन्धन चोरी चुहावट पुरै नियन्त्रणमा आउने आयल निगमले जनाएको छ।
यसअघिको शिललाई परिमार्जन गरेर लकिङ प्रणाली (बलियो शिल सहितको चाबी) शुरु गरिएको हो। प्रणाली सजिलै फुटाउन सकिँदैन र यो नखोली तेल निकाल्न मिल्दैन, त्यसैले यसको प्रभाबकारिता बढि हुने अनुमान आयल निगमको हो। भारतको सिलिगुडीबाट इन्धन बोकेर नेपाल भित्रिने सबै ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए।
'पछिल्लो समय बिचबाटोमै इन्धन चोरी हुनेक्रम बढेको छ, अब पूर्णतया बन्देज हुनेछ,' उनले भने। लकिङ प्रणालीको तालाको साँचो आईओसीसँग र निगमसँग मात्रै रहने उनले जानकारी दिए।
निगम भलबारी क्षेत्रीय (प्रदेश ५) डिपोका प्रमुख अशोक शाहले यो प्रणलीलाई जेठ ३१ सम्म सबै ट्याङकरले अनिबार्य जडान गर्नुपर्ने बताए। नगर्नेलाई तेल ढुवानी गर्न दिइने छैन।
निगमले अबको १५ दिनभित्र भैरहवा नाका हुँदै आइओसीको गोन्डा डिपो र नेपालगन्ज नाका हुँदै आइओसीको बेतालपुर डिपोबाट ल्याउने तेलका ट्यांकटरमा पनि यसरी ताला लगाउने तयारी गरेको निगमले जनाएको छ। निगमका अनुसार हाल १ हजार ५ सय ट्ङकरले इन्धन ढुवानी गर्दै आइरहेका छन्। भलबारी डिपोले ८ जिल्लाका २७० डिपोमा इन्धन पुर्याउने गरेको छ।