एमेजनका सिइओ विश्वका सबैभन्दा धनी ब्यक्ति बनेका छन्। फोर्ब्सले बर्षेनी सार्वजनिक गर्ने धनाढ्यको सूचिमा अमेजनका सिइओ जेफ बेजोसले कुल सम्पतिमा रेकर्ड नै बनाएका छन्।
बेजस विश्वकै पहिलो धनाढ्य बनेका छन् जसको कुल सम्पत्ति १०० अर्ब डलरभन्दा माथि पुगेको छ। फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनाढ्यहरुको बार्षिक सूचिमा बेजोसको सम्पति ११२ अर्ब डलर पुगेको देखिएको छ।
गत वर्ष बेजोसको सम्पत्ति ७३ अर्ब डलर थियो। यस बर्ष सम्पत्ति बढ्नुको कारकका रुपमा अमेजनको शेयरको मूल्य लगातार बढ्नुलाई मानिएको छ। बेजोससँग अमेजनको १६ प्रतिशत हिस्सा रहेको छ। यस वर्ष अमेजनको शेयर मूल्यमा ५९ प्रतिशतको बृद्धि भएको थियो जसले बेजोसलाई विश्वकै धनी बन्न सघाएको हो।
जेफ बेजोसको कुल सम्पत्तिको तुलना गर्दा अमेरिकाका २३ लाख मानिसहरुको सम्पत्ति बराबर बेजोस एक्लैकै सम्पति रहेको बताइएको छ। बेजोसले फोर्बको अर्बपतिहरुको सूचिमा पहिलो स्थान ओगट्दा माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्स र बर्कशायर हाथवेका सिइओ वारेन बफेट पछि परेका छन्।
बिल गेटस् गत २४ वर्षमा १८ पटकसम्म शीर्ष स्थानमा थिए। दोस्रो स्थानमा झरेका गेट्सको कुल सम्पति ९० अर्ब डलर रहेको छ। यसैगरी वारेन बफेटको सम्पत्तिमा पनि बृद्धि भइ ८७.७ अर्ब डलर पुगेको छ। र उनी फोर्ब्सको सूचिमा तेस्रो नम्बरमा छन्।
लुइस भिटोन र सिपोरा जस्ता विश्व प्रसिद्ध ब्राण्ड सहित अन्य ७० ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट र उनको परिवार सूचिको चौथो नम्बरमा छन्। उनको कुल सम्पति ७५ अर्ब डलर रहेको छ।
यसैगरी फेसबुकका मालिक मार्क जुकरबर्ग विश्वका पाँचौं धनीका रुपमा सूचिमा छन्। उनको कुल सम्पत्ति ७१ अर्ब डलर रहेको छ।