काठमाडौं। नेपाल बैंक र त्रिभुवन विश्व विद्यालयबीच पारस्परिक हित प्रबर्द्धन गर्न सहकार्य भएको छ। दुबै संस्थाबीच यस बारेमा सम्झौता भएको हो।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाह र त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार, त्रिविका निबृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष बचत खाता खोल्ने छन्, जसबाट पेन्सन रकम भुक्तानी हुन्छ। पेन्सनका लागि बढिमा १५ कार्य दिनसम्म बैंकले त्रिविलाई १५ करोड बराबरको रकम उपलब्ध गराउने छ। यो रकममा बैंकले ब्याज लिँदैन।
त्रिविले बैंकसँग गर्ने ड्राफ्ट, टिटी, अन्तर शाखा कारोबार, रेमिटेन्सलगायतका कारोबारमा ५० प्रतिशत छुटसमेत दिइने बैंकले जनाएको छ। साथै बैंकको बालाजु औद्योगिक क्षेत्र, भक्तपुर, जावलाखेल, कालिमाटी र चावहिल शाखाबाट त्रिविका विद्यार्थीलाई परीक्षा शुल्कका लागि काउन्टर सेवा दिने पनि समझदारी भएको छ।