![विकलको ६२ करोड सम्पत्तिको स्रोत खुलेन, १३ महिनामा चौथो मुद्दा विकलको ६२ करोड सम्पत्तिको स्रोत खुलेन, १३ महिनामा चौथो मुद्दा](https://bizmandu.com/wp-content/uploads/2023/04/340788481_553104776707617_858324584019754510_n.jpg)
काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १३ महिनाको अवधिमा चौथो मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बिजमाण्डूलाई जानकारी दिए। मुद्दामा विकलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ बिगो कायम गरी बिगो जफत, बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ।
उनको नाममा ६४ करोड २० लाख ६२ हजार रुपैयाँ बराबरको सम्पत्ति देखिएकामा २ करोड १ लाख ४३ हजार रुपैयाँ बराबरको सम्पत्ति मात्र वैध भएको अख्तियारको भनाइ छ।
अकुत सम्पत्ति थुपारेको आशंकामा अख्तियारले उनलाई गत माघ १० गते हिरासतमा लिएर अनुसन्धान थालेको थियो। हिरासतमा राखेर अनुसन्धान थालेको ४ महिनापछि अख्तियारले अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो।
राजनीतिक नेतृत्वलाई रिझाएर नियुक्ति लिन सफल विकलविरुद्ध मुद्दाको चाङ लागेको छ। माओवादी केन्द्रका नेता सुरेन्द्र (राम) कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा २०७४ जेठमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका विकल २०७६ मा तत्कालीन सञ्चारमन्त्री गोकल बास्कोटाको विश्वासपात्र बनेका थिए।
बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि मोलमोलाइ गरेको अडियो २०७६ फागुन पहिलो साता सार्वजनिक हुँदा विकललाई नै यसको योजनाकार मानिएको थियो।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७९ जेठमा आफू सञ्चारमन्त्री हुँदा नियम नै संशोधन गराएर विकललाई पुन: केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए।
उनले केन्द्रमा रहँदा प्रिन्टिङ प्रेस खरिद गर्दा लिएको कमिसनमध्ये २८ करोड ९५ लाख ७५ हजार रुपैयाँ सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकास्थित बैंक अफ अमेरिकामा जम्मा गरेको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उनले कमिसनबापत बुझेको रकममध्ये १३ करोड ९ लाख ९७ हजार रुपैयाँ अमेरिकाका २ वटा कम्पनीको सेयरमा लगानी गरेको पाइएको छ।
विकलले कमिसनको रकमले अमेरिकामा पत्नी एलिना बस्नेतको नाममा ५ लाख १५ हजार अमेरिकी डलरमा घर तथा भक्तपुरको छालिङमा आफू, आमा र दाइको नाममा ५ रोपनी ७ आना र काठमाडौंमा ९ आना जग्गाका साथै घर सेयर र गाडी किनेको देखिएको छ।
अख्तियारले विकलकी पत्नी एलिना, बाबु धर्मप्रसाद र आमा शीतललाई पनि प्रतिवादी बनाएको छ। उनीहरुलाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो।
अख्तियारले विकलविरुद्ध एक वर्षअघि अर्थात २०८० वैशाख ३ गते ६९ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। त्यो मुद्दामा दोषी ठहरिएको भोलिपल्ट उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो।
विशेष अदालतले एक वर्षअघि दायर भ्रष्टाचार मुद्दामा मंगलबार विकललाई २ वर्ष कैद र २५ करोड जरिवानाको सजाय सुनाएको थियो।
अख्तियारले एक साताअघि अर्थात वैशाख ३० गते उनीविरुद्ध प्रिन्टिङ प्रेस खरिदमा ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो।
एउटा प्रेस खरिद गरे हुनेमा २ वटा किनेको, प्रेसमा इनलाइन हुने कम क्षमताको डाइ कटिङ मेसिन खरिद गर्दा हुनेमा कारणविनै २० गुणा बढी क्षमताको किनेको तथा प्रिन्ट सञ्चालनका लागि अमिल्दो र अनावश्यक आईटी सिस्टम खरिद गरेको मुद्दा विचाराधीन छ।
अख्तियारले एक साताअघि उनीविरुद्ध सार्वजनिक पदमा रहँदा झुटा विवरण पेस गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार विकलले पदमा बहाल रहँदै अमेरिकाको पीआर लिएको खुलेको छ। उनले यसअघि कुनै पनि देशको पीआर नलिएको दाबी गर्दै आएका थिए।