विकलविरुद्ध एक वर्षमा तेस्रो मुद्दा, ४० करोड ८५ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप

बिजमाण्डू
२०८१ बैशाख ३० गते १५:५६ | May 12, 2024
विकलविरुद्ध एक वर्षमा तेस्रो मुद्दा, ४० करोड ८५ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप
विकल पौडेल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अर्को मुद्दा दायर गरेको छ।

Tata
GBIME

अख्तियारले आइतबार विकलसहित ६ जना र एउटा कम्पनीविरुद्ध प्रिन्टिङ प्रेस खरिदमा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

एउटा प्रेस खरिद गरे हुनेमा २ वटा किनेको, प्रेसमा इनलाइन हुने कम क्षमताको डाइ कटिङ मेसिन खरिद गर्दा हुनेमा कारणविनै २० गुणा बढी क्षमताको किनेको तथा प्रिन्ट सञ्चालनका लागि अमिल्दो र अनावश्यक आईटी सिस्टम खरिद गरेको अभियोगपत्रमा उल्लेख छ। अख्तियारका अनुसार उक्त आईटी सिस्टम प्रयोगमा आएको छैन।

विकलले भ्रष्टाचारकै लागि म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसेनसँगको मिलेमतोमा स्पेसिफिकेसनदेखि लागत अनुमान तयार गरी प्रेस र आईटी सिस्टम किनेको अख्तियारको आरोप छ।

अख्तियारले विकलविरुद्ध एक वर्षअघि अर्थात २०८० वैशाख ३ गते ६९ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। त्यो मुद्दा विचाराधीन छ। त्यसयता उनीविरुद्ध तीनवटा मुद्दा दायर भइसकेको छ।

अख्तियारले तीन साताअघि उनीविरुद्ध सार्वजनिक पदमा रहँदा झुटा विवरण पेस गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार विकलले पदमा बहाल रहँदै अमेरिकाको पीआर लिएको खुलेको छ। पौडेलले यसअघि कुनै पनि देशको पीआर नलिएको दाबी गर्दै आएका थिए।

उनलाई अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनी माघ १० देखि अख्तियारको हिरासतमा छन्।

अख्तियारले विकलसँगै केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरे, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसेन र म्याक्स इन्टरनेसनलविरुद्ध पनि ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ।