काठमाडौं। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले २०१६ को डिसेम्बरपछि फेरि ब्याज दर बढाएको छ। फेडको बुधबारको बैठकले ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो।
अब अमेरिकाको ब्याज दर ०.७५ प्रतिशतबाट एक प्रतिशतमा उक्लिएको छ। फेडले गएको डिसेम्बरमा पनि ०.५ प्रतिशतमा रहेको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएको थियो। फेडले ब्याज दर बृद्धिपछि अर्थतन्त्र माथि उकास्न थप सहज हुने जनाएको छ।
फेडले ब्याज दर बढाएमा सेयर बजारमा त्यसको प्रतिकुल असर पर्ने विश्लेषण भइरहे पनि बजारमा भने रिफ्लेक्ट भएन। अमेरिकी डलर भने केही कमजोर देखिएको छ।
सुनको भाउ वढ्यो
फेडको ब्याज दरको असर सुन बजारमा देखिएको छ। नेपालमा पनि त्यसको प्रभाव देखिएको छ। हिजो तोलामा ५३ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सात सय रुपैयाँ बढेर ५३ हजार ९०० रुपैयाँ पुगेको छ।
अमेरिकी डलरको भाउ पनि डेढ रुपैयाँ झरेको छ। बिहीबार एक अमेरिकी डलरको रिफ्रेन्स रेट राष्ट्र बैंकले १०५ रुपैयाँ ३४ पैसा तोकेको छ। बैंकहरुले १०५ रुपैयाँ २५ पैसासम्म कारोबार गरिरहेका छन्।