काठमाडौं उपत्यकामा कसरी बढ्यो चाप? [अर्थविद् रामेश्वर खनालको सहरी कथा – २]

रामेश्वर खनाल
२०८० फागुन १५ गते ०९:०० | Feb 27, 2024
काठमाडौं उपत्यकामा कसरी बढ्यो चाप? [अर्थविद् रामेश्वर खनालको सहरी कथा – २]


सम्भावनाको खोजीमा मानिसको चलायमान चरित्रले नै सहरको विकासमा योगदान पुर्‍याइरहेको हुन्छ। समग्र एसियामा जस्तै नेपालमा पनि पश्चिमबाट पूर्वतिर बसाइसराइ भएको देखिन्छ।

Tata
GBIME
NLIC

नेपालमा बस्ती विकासको अवस्था हेर्दा पहिलेदेखि नै अवसर नपाउने मानिसहरु डाँडातिर उक्लिएको देखिन्छ। अवसर पाउनेहरु समथर भूभागतिर बसे। धेरैजसो बाहुन क्षेत्री समथरतिर बसे। पिछडिएका वर्ग डाँडातिर। पछिल्लो कालखण्डमा गुरुङ, मगर र शेर्पाहरु माथिबाट समथर भू-भागमा झर्न थालेका छन्, सुरुको कालखण्डमा पश्चिमबाट पूर्वतिर सर्नेक्रम जस्तै। अहिले पनि मानिसहरु दार्चुला भन्दा सुर्खेतलाई सुरक्षित ठान्छन्। सुर्खेत भन्दा बढी ‘कन्भिनियन्ट’ लमही र तुलसीपुरलाई ठान्छन्। लमही भन्दा बढी बुटवललाई। त्यसरी नै पूर्वतिर मानिसको प्रवाह बढिरहेको हुन्छ।

नेपालको तराई बेल्टमा बस्ती विकास चाहिँ मलेरिया उन्मुलन भइसकेपछि भयो, विशेषगरी २०११ सालपछि। कुनै बेला हेटौंडाको बस्ती अमलेखगंज भन्दा सानो थियो। अमलेखगंजमा राणाहरुले काठमाडौंबाट अमलेख गरेका कमैयालाई लगेर राखेकाले बस्ती बाक्लो थियो। त्यतिखेर अमलेखगंजमा करिब १२ सय घर थिए। हेटौंडामा जम्माजम्मी १५/२० वटा मात्रै घर थिए। पछि हेटौंडा सहरका रूपमा विकसित हुनुमा सदरमुकाम तोकिनु मुख्य कारण बन्यो। त्यसपछि उद्योग स्थापनाले त्यसमा सघायो। तेस्रो चाहिँ, पूर्व पश्चिम राजमार्गको इन्टरसेक्सनमा पर्‍यो हेटौंडा। यस्ता कारणले नारायणघाट, बुटवल वा भैरहवाभन्दा पहिला हेटौंडाको विकास भयो। नारायणघाट चाहिँ पछि गएर सहरमा रुपान्तरण भएको हो।

मलेरिया उन्मुलन भइसकेपछिको चरणमा तराईमा सहरहरु विस्तार भएको पाइन्छ। मानिसहरु अवसरका लागि तराईका क्षेत्रमा बसोबास गर्ने क्रम बढ्यो। कतिपय अवस्थामा सरकारले पनि प्लानिङ पनि गरिदियो सहरी विकासका लागि। जस्तो बाँकेको खजुरा, बर्दिया, कैलालीको फूलबारी आदि। भारतसँगको सीमावर्ती क्षेत्रमा सैनिक बस्ती बसालियो। सीमा सुरक्षा गर्न भूतपूर्व सैनिकहरुको बस्ती बसाएपछि त्यसले बजार बढाउन थाल्यो। यसरी बस्ती बसाउँदा योजनाबद्ध हिसाबले दुई/तीन विगाहा जग्गा दिएर घर बनाउन थालियो। उत्तरी नेपालबाट दक्षिणतिर मलेरिया उन्मुलन भएपछि बसोबास यसरी नै बसोबासको क्रम बढ्यो।

टिकापुर बजार

अर्कातिर, पहाडमा खेतीबाट पर्याप्त आम्दानी हुने सम्भावना थिएन। सजिलै खेती गरेर दुई बाली भित्र्याउन पनि मधेश झर्नेक्रम सुरु भयो। पहाडमा दुई बाली त गाह्रो थियो किनकि सिंचाईको कुनै प्रबन्ध थिएन। ठीक विपरीत मधेशमा दुई बाली मज्जासँग हुने। उत्पादन भएको एकै बालीले वर्षभरि खान पुग्ने। यसो हुँदा पनि तराईँमा २०१८/१९ सालसम्म धेरै खेती भएको चाहिँ देखिन्न। २०१९ सालको तथ्यांक हेर्ने हो भने मधेशमा गहुँको खेती ज्यादै न्युन थियो। २०२६ सालपछि सरकारले गहुँ उत्पादनको अभियान चलायो। अनिमात्र दुई बाली लगाउन सुरु भयो। पहिले पहिले एकै बालीले खान पुग्छ भने किन दोहोरो बाली लगाउने भन्ने भयो। मतलब, थप काम किन गरिरहने? भन्ने रहेछ। अहिले आएर तराईमा तीन बाली लगाउँदा पनि हामीलाई खान नपुग्ने अवस्था छ। कतिपय कृषिजन्य वस्तुको आयातमा हामी निर्भर हुन परिरहेको छ।

द्वन्द्वले बढेको काठमाडौंको चाप

मधेशमा जस्तै पछिल्लो समय आप्रवासनको चाप काठमाडौंमा धेरै बढ्यो। काठमाडौंमा यतिको चाप बढ्नुको कारण चाहिँ सहरको विकास सँगसँगै माओवादीको हिंसात्मक द्वन्द्व पनि उत्प्रेरक बन्यो। माओवादी द्वन्द्व नभइदिएको भए काठमाडौंले बोकिरहेको चाप उदाउँदै गरेका सहरहरूले थेग्ने थिए। मानिस बीचमै रोकिएका हुन्थे। बीचमै सहर बन्थे। त्यहाँको विकासदर पनि तीव्र हुन्थ्यो।

द्वन्द्वको चाप काठमाडौंमा मात्र नपरी ‘इन्टरसेक्सन’मा परेका सहरहरुमा पनि केही बढेको देखिन्छ। २०६१/६२ सालमा द्वन्द्व चरम उत्कर्षतिर पुग्दा इन्टरसेक्सन परेर विकास भएका सहरमा करिब ६० प्रतिशतको विस्तार भएको पाइन्छ।

हिंसात्मक द्वन्द्वकै क्रममा बेनी र पाल्पामा आक्रमण भएको बेला मानिस उदाउँदो सहरमा पनि बस्न डराए। लम्कीको विकासको रफ्तार त्यही अवधिमा रोकिन पुग्यो। किनभने लम्की माओवादीको आधार क्षेत्रजस्तै थियो। अत्तरियाको विकासमा पनि गतिरोध उत्पन्न भयो। जुन क्रमबाट राजनीतिक घटनाक्रम विकास भइरहेको थियो, त्यसले काठमाडौं सुरक्षित छ भन्ने सन्देश दियो। मानिसहरु २/३ आना जग्गामै सही काठमाडौंमै घर बनाउन प्रेरित भए। काठमाडौं सुरक्षित छ, त्यहाँ सेना छ, सरकार पनि छ। मर्नै परे त्यहीँ गएर मरौंला भनेर मानिसहरू काठमाडौं भित्रिनेक्रम चलिरह्यो।

ललितपुरको लामाटारबाट देखिएको काठमाडौं उपत्यकाको घना बस्ती

अल्पकालका लागि आएका कतिपय मानिसलाई काठमाडौंका विद्यालयले आकर्षित गर्‍यो। काठमाडौंमा विद्यार्थी लक्षित होस्टेलको संख्या २०६२ सालपछि ह्वात्त बढेको देखिनुका पछाडि त्यही आकर्षण थियो। एकचोटि काठमाडौं आएर यहाँका सुविधा देखेपछि छोराछोरी पठाउनेको संख्या बढ्यो। आर्थिक रुपमा सवल मानिसले काठमाडौंमा घर बनाएर छोराछोरीलाई राखे। घर बनाउन नसक्नेले छोराछोरीका लागि होस्टेलमा राखेर पनि काठमाडौंमा पढाउन थाले। २०६६/६७ सालपछि काठमाडौंमा गर्लस् होस्टेल पनि बढेको पाइन्छ। अहिले हेर्ने हो भने ब्वाइज भन्दा गर्ल्स होस्टेलको संख्या धेरै छ। छोरीलाई पनि छोरासरह नै पढाउनुपर्छ भनेर सामाजिक चेतनाको विकासले यसमा उत्प्रेरकको काम गर्‍यो।

यस्तै, काठमाडौं स्वास्थ्य उपचारका कारण पनि आकर्षणको केन्द्रमा पर्‍यो। यिनै कारणहरु थिए जसले त्यतिखेर उदाउँदो सहरले ब्यहोर्न तयार भएको भार त्यहीँ मात्र नरोकिएर काठमाडौं नै आइपुग्यो। त्यसक्रमलाई ‘ड्राइभ आउट’ गर्न भूकम्प र कोरोना भाइरसको संक्रमणले पनि सकेन।

भूकम्प र कोभिड १९ को संक्रमणपछि केही मानिस पुख्यौली थलोतिर गए। यसरी गएकाहरु फर्किँदैनन् होला भन्ने अपेक्षा थियो तर पनि मानिसहरु फर्किए। पछिल्लो समयमा केही महिना काठमाडौंमा र बाँकी आफ्नै गाउँठाउँमा बस्ने प्रवृत्ति बढेको छ। नेपालगंज, बुटवल, पोखरा वा विराटनगरका मानिसले काठमाडौं छाडेनन्। उनीहरुले पुर्ख्यौली थलोतिर पनि घर राखिरहे। आफू नबसेको ठाउँको घर भाडामा लगाउने चलन स्थापित भयो।

एकै सहरमा यसखाले जनघनत्वको दबाब घटाउने हो भने सरकारले चलायमानकै अवस्थामा व्यवस्थित सहरी विकासमा लगानी गर्नुपर्थ्यो। व्यवस्थित सहरी विकास गर्न सरकारले सोच्दै नसोचेको भने होइन। त्यही सोच अनुरुप कारण मध्यपहाडी लोकमार्ग अगाडि बढेको थियो। सुरुमा आर्थिक अवसर सहितका २५ वटा स्थानमा सहरी पूर्वाधार विकास गर्ने योजना थियो। पछि १० स्थानमा मात्रै नयाँ सहर बनाउने भनियो। तर, सोचे अनुरुप काम हुन सकेन। ती सहरको विकास गर्न सकिएको भए काठमाडौंको चाप केही हदसम्म कम हुनसक्थ्यो।

मध्य पहाडी लोकमार्ग र नयाँ सहर

मध्य पहाडी लोकमार्गको आवश्यकताको एउटा कारण उत्तर दक्षिणको आप्रवासनलाई नियन्त्रण गर्नु पनि थियो। यसो गर्दा जुम्लाबाट बसाइ सर्ने मानिसहरु सुर्खेतमै रोकिन्थे। उनीहरु कोहलपुर झर्नुपर्ने हुन्थेन।

मध्य पहाडी राजमार्ग बनाएर उत्तर-दक्षिण बसाइसराईका लागि तराईतिर झर्ने प्रवृत्तिलाई रोक्नेसँगै जलविद्युत विकासमा योगदान पुर्‍याउने अपेक्षा पनि थियो। मध्यपहाडी लोकमार्गले करिब करिब हाइड्रोपावरका धेरै केन्द्रहरुलाई जोड्ने भएकाले यसको विकास हुन्छ र अवसर पनि आउँछ भन्ने थियो। अर्कोतर्फ उत्तर-दक्षिणको बसाइसराइको ठीक विपरीत दक्षिणबाट उत्तरतिर बसाइसराई बढाउँछ भन्ने पनि थियो। त्यतिखेरको सोच पछि प्रमाणित पनि भयो। प्रमाणित कसरी पनि भयो भने खुर्कोटमा तराईबाट व्यापारीहरु आएर बजार जमाए। घुर्मीमा पनि त्यसरी नै मानिसहरु आए। मध्य पहाडी लोकमार्ग र पूर्व पश्चिम लोकमार्गको बीचमा जहाँजहाँ बाटोको विकास भयो त्यहाँ त्यहाँ सहर जम्यो। गाईघाटबाट कटारी जोडियो। त्यसको असर सिराहा बजार सुक्यो। बजार चाहिँ लहानतर्फ सर्‍यो। लहानबाट गाईघाटतिर सहर विकास हुँदै गयो। गाईघाटबाट उत्तरतिर आएर घुर्मीतिर सर्‍यो। घुर्मीबाट ओखलढुंगासम्म सर्न त ओखलढुंगामा मध्यपहाडी लोकमार्ग पुग्न पर्‍यो।

यसरी सडक बनाउँदा उत्तर-दक्षिण माइग्रेसनलाई रिएड्जस्ट गरेर दक्षिण-उत्तर माइग्रेसन गराउन सकिन्छ भन्ने थियो। पश्चिम पूर्व माइग्रेसन त रोक्न सजिलै सकिँदैन। त्यसका लागि पश्चिममा तीव्र गतिमा विकास गर्नुपर्छ। दक्षिणबाट उत्तर माइग्रेसन चाहिँ भर्खर सुरु भएको छ। त्यसलाई मधेश आन्दोलनले पनि सघाउ पुर्‍याएको छ। पछिल्लो कालखण्ड, खासगरि २०६४/६५ को विकास हेर्नुभयो भने यसखाले आप्रवासन भएको पाइन्छ। तराईबाट उत्तर फर्किन खोजेका कतिपयले काठमाडौँ वा भरतपुरमा महँगो भएर हेटौंडामा रोकिएका पाइन्छ। मधेश द्वन्द्व र मध्य पहाडी लोकमार्गको विकासले यसखाले परिस्थितिको विकास भएको देखिन्छ।

रातिको समयमा भरतपुरको मुख्य सडक

यी सबै परिदृश्यले के देखाउँछ भने, भविष्यमा आर्थिक विकासका अवसरले मात्रै सहरी विकास होला भनेर छोड्नु गलत हुन सक्छ। बरु सरकारी नीति व्यवस्थित योजनातिरै जानुपर्छ। व्यवस्थित सहरी योजनामा जानु भनेको एक किसिमले ‘रियल इस्टेट’को योजनाबद्ध विकास गर्नु हो। औद्योगिकरणका साथसाथै ‘कन्स्ट्रक्सन इन्डस्ट्री’को विकास गराउँछ रियल स्टेटको विकासले। यसरी ‘क्लस्टर’मा बस्ती विकास हुँदा सहरी विकासले डेन्सिटी र डिस्टेन्स दुवैलाई सुधार गर्छ। खानेपानी, ढल व्यवस्थापन लगायतका विषयलाई यसले सम्बोधन गर्छ। मुलत: सहरीकरणको अस्तव्यस्तालाई चिर्छ। यसखाले सुधारले ती ठाउँहरुमा आर्थिक गतिविधि बढ्दै जान्छ।

व्यवस्थित तरिकाले बस्ती विकास भयो भने काठमाडौंमा आउने चाप रोकिन्छ। राम्रो विद्यालय, राम्रो अस्पताल, कुनै विशिष्ट आर्थिक गतिविधिको हब, जस्तै पर्यटन, औद्योगिक क्षेत्र, शैक्षिक केन्द्र आदि भयो भने मानिस त्यही रोकिन्छन्। विद्यालय र अस्पताललाई योजनावद्ध तरिकाले काठमाडौं बाहिर लगिदिनासाथ त्यहीँ सहरको विकास हुन्छ। त्यसपछि काठमाडौंका मानिस रोजगारीका लागि बाहिर ‘माइग्रेट’ हुने सम्भावना बढ्छ। अब पनि बजारलाई मात्रै छोडेर, नीतिगत रुपमा नै व्यवस्थित बस्ती विकास गर्न नलाग्ने हो भने, सुधारको अपेक्षा नगर्दा नै हुन्छ।