लालटिन र इन्टरसेक्सनले बनाएका सहरका कथा [अर्थविद् रामेश्वर खनालको सहरी कथा-१]

रामेश्वर खनाल
२०८० फागुन ७ गते ०९:०५ | Feb 19, 2024
लालटिन र इन्टरसेक्सनले बनाएका सहरका कथा [अर्थविद् रामेश्वर खनालको सहरी कथा-१]

नेपालमा सहरको विकास कसरी भयो भन्नेमा अलग अलग कथा छन्। संसारमा सबैतिर हेर्ने हो भने आर्थिक अवसरको खोजीमा हिँड्दै गर्दा सहरको विकास भएको पाइन्छ। जहाँ बढी आर्थिक अवसर हुन्छ त्यहाँ मानिसको चलहलपहल बढ्छ र सहजै सहर बसिहाल्छ। व्यावसायिक दृष्टिकोणले चर्चित चीनको सांघाइ, भारतको मुम्बई र कोलकाता, संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डनजस्ता सहर चाहिँ सबै सामुद्रिक बन्दरगाह निकट भएका कारणले विकसित भए जहाँ आर्थिक गतिविधि सधैं चलायमान रह्यो।

Tata
GBIME
Nepal Life

नेपालमा चाहिँ मल्लकाल र राणाकालमा सरकारले आफ्नो केन्द्र, गौंडा अथवा बडाहाकिम बस्ने ठाउँ तोकेपछि सहरको विकास भएको पाइन्छ। सुदूरपश्चिमको डोटी गौंडा भएका कारण सहर बन्यो। कुनै पनि ठाउँ गौंडा भएपछि कम्तिमा २०/३० जना कर्मचारी परिचालन हुने भए। त्यहाँ सेनाको टुकडी र गारद रहने भयो। त्यतिखेर पूर्वमा धनकुटा गौंडाकै कारण सहर बन्यो। धनकुटा सहर हुँदा अहिले जगमग बनेको इटहरीमा चाहिँ सहरको कुनै संकेतसम्म थिएन किनकि त्यहाँ कुनै सरकारी संयन्त्र बसेको थिएन।

सरकारले सदरमुकाम तोक्न थालेपछि एउटा लामो कालखण्डमा सहरी विकासले गति लियो। राणाकालमा सीमित सदरमुकाम थिए। पञ्चायतकाल सुरु भएपछि २०१८ सालमा ७५ जिल्लाको प्रबन्ध भयो। त्यसपछि जहाँ जहाँ जिल्लाको सदरमुकाम घोषणा गरियो, त्यहाँ त्यहाँ कर्मचारी परिचालन भए। त्यसले बजार चलायमान हुन थाल्यो। त्यतिमात्र होइन, जहाँ धेरै पैसाको कारोबार हुन थाल्यो, स्वभावत त्यहाँ बढी व्यापार हुने नै भयो। जहाँ बढी व्यापार भयो, त्यहाँ धेरै मान्छेको आवतजावत भयो। त्यहीँ रेष्टुराँ र होटल चलाउनेहरु पनि जोडिन थाले। त्यहीँ दोकानहरु खुल्ने क्रम बढ्यो। ग्रामीण क्षेत्रमा आपूर्ति गर्नेका लागि ती दोकान होलसेलमा रुपान्तरित बन्न पुगे। पाल्पा (तानसेन) एक जमानामा होलसेल बजार थियो। पहिले झैं अहिले होलसेल मार्केट होइन पाल्पा। किनभने पहिले पाल्पाले गुल्मी, अर्घाखाँची, पर्वत र बागलुङसम्मको मार्केटलाई ‘सर्भ’ गर्थ्यो। पञ्चायतकाल भरी नेपालका सहर विस्तारको यस्तै चरित्र रहिरह्यो।

चलायमान सहरको शृंखला

राणा र पञ्चायतकालमा सहरी विकासको अरुखाले चरित्र पनि देखिन्छ – पहिलो हो, व्यापारिक नाकामा विकास भएका बस्ती र सडक पूर्वाधार। उदाहरणका लागि दाङको सीमावर्ती नाका कोइलाबास त्यसरी नै विकास भयो। त्यहाँ छोटी भन्सार पनि छ तर अहिले दाङकै लमही ठूलो बजार बनेको छ।

कोइलाबास चाहिँ सुकेको छ। यसखाले परिवर्तन किन आयो? सडकका कारण लमही व्यापारिक केन्द्र बन्यो। अर्कातिर कोइलाबास नाका भन्दा नेपालगञ्जको नाका सहज भयो र लोकप्रिय पनि। सजिलोसँग नेपालगञ्जबाट गाडीमा सामान ओसार्न सकिने भयो। राम्रा सडक नभएका कारण कतिपय सीमा नाकाहरु सुक्दै गए।

पूर्वमा भद्रपुर पहिला एकदम ठूलो बजार थियो। त्यहाँबाटै व्यापार हुन्थ्यो। रेल भद्रपुर नजिक गलगलियासम्म आउँथ्यो। त्यहाँबाट मानिसहरुले रेलबाट अफ लोड गरेका सामान ओसार्थे। पछि काकडभिट्टाको बाटो राम्रो बन्यो। त्यसले भद्रपुरको बजार सुकायो।

दाङको घोराही बजार

राणाकाल र पञ्चायतकालमा सहरी विकासमा सरकारको सदरमुकाममाथि नीतिले पनि प्रभाव पारेको देखिन्छ – एउटा सदरमुकाम घोषणाका कारण हुने विकास। दोस्रो सदरमुकाम सार्नासाथ नयाँ ठाउँमा हुने सहरी विकास। साथसाथै जहाँबाट सदरमुकाम उठेर गयो, त्यसले सहरको पहिचान चाहिँ गुमाउन थाल्यो। मकवानपुरको भीमफेदी र तनहुँको बन्दीपुर यसका पहिलो र दोस्रो उदाहरण हुन्। बयलपाटा तेस्रो उदाहरण। अछामको सदरमुकाम बयलपाटामा थियो पहिले। सदरमुकाम सरेपछि बयलपाटा सुक्यो। पछि दिपायल-मार्तडी सड़क खन्ने क्रममा साँफेबगर लालटिन बजार विकास भयो, जुन क्रमिक रुपमा सहरको रुपमा विकसित भएर बयलपाटासम्म जोडिन पुगेको छ।

विराटनगर भन्दा पहिला रंगेली बजार गुलजार थियो। त्यसैगरि, लालबन्दीको तल बयलबास ठूलो बजार थियो। मलंगवा र सोनवर्षाबाट सामान लादेर ल्याएका बयलगाडा त्यहाँ बास बस्थे। पञ्चायतकालमा सदरमुकाम बनेपछि सहरी विकासको पहल पनि भयो। त्यस्ता सहरको सूचीमा महेन्द्रनगर, राजविराज, टीकापुर आदि पर्छन्। तर, अहिले टीकापुरभन्दा लम्की ठूलो सहर बनिसकेको छ।

लालटिन बजारको कथा

सहरी विकासमा ‘लालटिन बजार’ पहाडतिर निकै चर्चित छ। झुपडी बजारमा साँझपख लहरै लालटिन बालेर उज्यालो बनाइने भएकाले लालटिन बजार नामकरण भएको हो। सरकारले सडक खन्दैखन्दै गयो, कुनै एउटा ठाउँ पुगेपछि बजेट सकियो। अनि काम रोकियो।

जहाँसम्म सडक पुगेर रोकियो, त्यहीँ सहर बस्यो। फेरि बजेट आएपछि सडक बढ्न थाल्यो र लालटिन बजार पनि नयाँ ठाउँतिर तन्कियो। अत्तरियाबाट बाटो खन्दै गएर डडेलधुरा पहिल्यै पुगेको थियो। डडेलधुरापछि राजपुर दिपायल पुगेर त्यहीँ लालटिन बजार बस्यो। डोटीबाट माथि बाजुरा लाग्ने क्रममा साफेँबगरमा पुगेपछि सडक रोकियो। त्यहीँ बजार बस्यो।

इन्टरसेक्सन परेका ठाउँहरु लालटिन बजारको विकास अझ तीव्र गतिमा भयो। पाल्पाको तानसेन पुग्नुअघि केराबारी भन्ने ठाउँ छ। कुनै समय केराबारी एकदमै विकसित बजार थियो किनभने सडकखण्ड त्यहाँ पुगेपछि धेरै समय रोकियो। अनि लालटिन बजार त्यहीँ बन्यो। केराबारीसम्म ट्रक आउने भयो। केराबारीमा सामान ‘अफलोड’ गर्ने अनि खच्चर र भरियाले बोकेर विभिन्न ठाउँमा लैजाने भएकाले त्यो गजबको ‘जक्सन’ बन्यो। केराबारी एकाएक ‘राइज’ भयो। अहिले पनि केराबारी पुग्दा त्यसबेलाको अवशेष भेटिन्छ। अझै पनि केही रेष्टुराँ चलेका छन् त्यहाँ।

स्याङ्जाको वालिङ त्यस्तै लालटिन बजार हो। वालिङ लालटिन बजार हुँदाहुँदै इन्टरसेक्सनमा पनि पर्‍यो – तल चापाकोटतिर जाने र पश्चिम पर्वततिर जाने बाटोका कारण। त्यसैले वालिङ सदरमुकाम नभए पनि सहरका रुपमा दिगो र गुलजार हुन सक्यो, जब कि सदरमुकाम त स्याङजा बजार हो। स्याङजा बजार र वालिङको तुलना गर्दा वालिङको पूर्वाधार विकास धेरै माथि देखिन्छ। सदरमुकामको बजारलाई सुकाउन सक्ने तत्व सडकको ‘कनेक्टिभिटी’ हो भन्ने तथ्य यसले स्थापित गर्छ। पहिले रुकुमको चौरजहारी ठूलो बजार थियो।

माओवादी द्वन्द्वका बेला त्यहाँका मानिस विस्थापित भए, कोही नेपालगञ्जतिर, कोही घोराहीतिर झरे। अहिले सडक कनेक्टिभिटी भए पनि मध्यपहाडी लोकमार्गको इन्टरसेक्सनमा नपरेकाले चौरजहारी उजाड छ। कुनै बेलाको बजारको केन्द्र अहिले निकै कमजोर बन्न पुग्यो, जबकी चौरजहारीको तुलनामा त्यसबेला निकै सानो वस्ती थियो सुर्खेतको छिन्चु। छिन्चु अहिले गुलजार बजार बन्न पुगेको छ।

दिपायल पनि पहिलाको लालटिन बजार थियो। त्यही लालटिन बजार बढ्दै बढ्दै गएर पछि क्षेत्रीय सदरमुकामसम्म भयो। सडक बन्ने क्रम विस्तार भएसँगै लालटिन बजार पनि सर्न थाल्यो। त्यस क्रममा कतिपय पुरानो लालटिन बजार सुके भने कतिपय लालटिन बजार विकास भएर सहर बने। दिपायल र साफेँबगर लालटिन बजारबाटै विकसित बजार हुन्। अहिले साफेँबगर मंगलसेनभन्दा ठूलो भएको छ। मंगलसेन त बयलपाटासम्मै जोडिन लागिसक्यो। साँफेबजार लालटिन बजारको विशेष उदाहरण हो। त्यसैगरि पूर्वमा घुर्मीको विकास भयो, जुन ओखलढुंगाको बजार जत्तिकै लाग्छ। पूर्वपश्चिम राजमार्गबाट खोटाङ र ओखलढुंगा जोड्न मिर्चैया-घुर्मी सडक बनाइयो। सुनकोसी किनारको घुर्मीबाट पारी जान पुल तत्काल बनेन। यसको फाइदा घुर्मीले पायो। त्यहाँ बिस्तारै बजार बन्यो। मधेसबाट व्यापारीहरु पनि घुर्मीमा आएर दोकान थापेर बसे। घुर्मी, साँफेबगर, बागलुङ तथा मध्यपहाडी लोकमार्गको ठाउँ ठाउँमा लालटिन बजार सहरका रुपमा विकास भए।

बुटवल बजार

सरकारको योजनामा परेर बनेका सदरमुकामका कारण भन्दा लालटिन बजारका कारण सहरको विकास बढी भएको देखिन्छ। लालटिन बजारमा व्यापार र आर्थिक गतिविधि धेरै हुनुले सहरीकरणमा सघायो। सदरमुकामले सीमित आर्थिक गतिविधिमा योगदान नदिएको होइन। तर त्यसभन्दा धेरै इन्टरसेक्सनले उद्योगका लागि वातावरण बनायो। बर्दिवासको ३०/४० किलोमिटर पर उद्योगहरु छन्। वरिपरि उद्योग खोलिएका कारण त्यहाँ काम गर्नेहरु आए। त्यहीँ बस्न थाले। बुटवल पनि कुनै जमानाको इन्टरसेक्सन बजार थियो, जुन ठूलो सहर भइसकेको छ अहिले।

सरकारी बलमा बसेन सहर

कुनै बेला नवलपरासीको बजार ‘ह्यापेनिङ’ हुँदा भरतपुरमा केही पनि थिएन। अहिले भरतपुरले नवलपरासीलाई बिट गरेर कहाँ पुग्यो कहाँ! यतिखेर नारायणगढ मुलुकको ठूलो उपभोक्ता बजार बनेको छ। कुनै पनि ‘शो रुम’ पोखरा खोल्नुभन्दा पहिला नारायणगढ बजारमा जान थालेको छ। आर्थिक कारोबारको अर्को बलियो केन्द्र बन्न पुगेको छ। भरतपुर काठमाडौंको पनि ‘मेजर इन्टरसेक्सन’मा परेकाले यसको प्रभाव विस्तार भयो। पूर्व र पश्चिमका बाटो पनि त्यहीँ जोडियो।

सरकार आफैँले सहरी विकास गर्छु भनेर प्रयत्न गरेको ठाउँ इन्टरसेक्सन नपर्दा अथवा कुनै औद्योगिक गतिविधि विस्तार नहुँदा असफल भएका उदाहरणहरु पनि छन्। त्यसको बलियो ‘केस’ हो राजविराज। सरकारले सदरमुकाम पनि राख्यो राजविराजमा। त्यहाँ ‘टाउन प्लानिङ’ पनि भयो। तर, सहरको रुपमा स्थापित हुन सकेन। कैलालीको टीकापुरमा सरकारले प्लानिङ गर्‍यो। बसोबासका लागि व्यवस्थित वातावरण बनाए पनि सहरका रुपमा टीकापुर रुपान्तरित हुन सकेन। टीकापुरको साटो इन्टरसेक्सनमा पर्‍यो कैलालीकै लम्की। त्यसैले लम्की ठूलो बजारका रुपमा विकास भयो। सरकारले दाङमा सदरमुकाम तुलसीपुरलाई राख्यो र घोराहीलाई पनि राख्यो। तर तुलसीपुर र घोराहीसँग प्रतिस्पर्धा गर्ने गरी भालुवाङ र लमहीको विकास भइरहेको देखिन्छ। सरकारले प्रत्यत्न गरेर सहरी विकास गर्छु भनेका सीमित ठाउँ थिए जहाँ सोचे अनुसार सहरको विकास भएन।

हेटौंडा सहर

सडक पूर्वाधार र इन्टरसेक्सन बाहेक उद्योगहरूले पनि सहरी विकासलाई गति दिएको देखिन्छ। मकवानपुरको हेटौंडा सदरमुकाम सरेरमात्र होइन, उद्योगका कारण समेत घना बन्दै गयो। जब कि कुनै बेलाको प्रमुख गौंडा तथा बजार भीमफेदी रुग्ण बन्न पुग्यो। हाल बन्दीपुर जस्तो भीमफेदी फेरि सहरी विकास गर्ने उद्यमको केन्द्र बन्ने सम्भावना कुनै देखिँदैन।

उद्योगले ‘ड्राइभ’ गरेको अर्को बजार सिमरा हो, जहाँ कतिपय सुविधा वीरगंजलाई माथ गर्ने खालका छन्। वीरगंजभन्दा राम्रा होटल सिमरामा खुलेका छन्। सीमापार भारतीय सहरका मानिस आराम गर्न र क्यासिनोका लागि सिमरा आउँछन्, वीरगंजमा रोकिन्नन्। सिमरा औद्योगिक करिडोरका कारण ‘राइज’ भएको ठाउँ हो। ठूला उद्योग भए सहरी विकासमा भूमिका खेल्छ भन्ने यसले स्थापित गरेको छ।

सहरका लागि सडक, सडकले गर्दा सहर : इन्टरसेक्सनको असर

२०४६ सालपछि नेपालमा सडक सञ्जालको तीव्र विस्तार भयो। यस क्रममा जहाँ-जहाँ सडकको उत्तर-दक्षिण र पूर्व-पश्चिम जोडिए ती क्षेत्र सहरका रूपमा विकसित भए। जस्तै, इटहरी। धरान र विराटनगर स्थापित ठाउँ हुँदाहुँदै भाटभटेनी सुपर स्टोरले आफ्नो आउटलेट पहिला इटहरीमा लिएर गयो। इटहरीमा विराटनगर भन्दा राम्रा होटल बने। अहिले विराटनगरका मानिस किनमेल मनोरन्जन र घुम्न इटहरी आउने भए। २०३४ सालतिर इटहरीमा १०/२० घरमात्र देखिन्थ्यो। २०४४ सालसम्म पनि इटहरीमा ठूलो बस्ती थिएन। त्यसको १० वर्षपछि इटहरी कता हो कता ठूलो बजार भयो। अहिले त इटहरी उपमहानगरपालिका हो।

सदरमुकाम हुँदाहुँदै इन्टरसेक्सनका कारण इटहरीले धनकुटालाई सुकाइदियो। त्यतिमात्र होइन, धनकुटालाई इन्टरसेक्सनकै कारण सुकाउन हिले बजार पनि कारण बन्यो। हिले एकातिर संखुवासभा जाने इन्टरसेक्सनमा पर्‍यो भने अर्कातिर वसन्तपुर जाने इन्टरसेक्सनमा।

इन्टरसेक्सन भएको ठाउँमा पहाडबाट आप्रवासनमा रहेका मानिसहरुले अवसर देखे। पहाडमा विभिन्न कारणले ‘इकोलोजिकल रिफ्युजी’ बन्ने क्रम जारी रह्यो। कतिपय अवस्थामा पहिरोजस्ता प्राकृतिक संकटले तराईतिर झर्नुपर्ने बनायो। दोस्रो, पहाडमा रोजगारी र आम्दानीको अवसर भएन। कामकै खोजीमा कुनै बेला नेपालीहरु लाहोरसम्म पुगे। राणा र पञ्चायतकालमै बर्मासम्मै पुगे।

जब नेपालमा पूर्व पश्चिम राजमार्ग बन्यो र उत्तर पश्चिम बाटो बन्न थाल्यो, पहाडबाट झरेका मानिस बुटवलमै रोकिने क्रम बढ्यो। डोटीबाट झर्दै आएका मानिस धनगढी पुगे। धनगढी पुग्न नसकेको मानिस अत्तरियामै रोकिए। उत्तर-दक्षिण र पूर्व-पश्चिम जोडिएका ठाउँहरुमा इन्टरसेक्सन भइसकेपछि दोहोरो व्यापारको अवसर पैदा भयो। त्यसले गर्दा नेपालमा नयाँ नयाँ सहरको उदय भयो। प्राचीन सभ्यताको जगमा बसेको जनकपुरभन्दा पछिको बर्दिवास सहरका रूपमा तीव्र विस्तार भयो। त्यसको पछाडि पनि इन्टरसेक्सन कारण रह्यो। त्यस क्षेत्रको विकासमा मधेस आन्दोलनको प्रभाव पनि रह्यो।

मूल बाटोमात्रै होइन, सानो बाटोको इन्टरसेक्सनले पनि सहरी विकासमा योगदान पुर्‍याएको पाइन्छ। पूर्व-पश्चिम राजमार्गमा उत्तर जाने सडक जोडिएका विन्दुहरूमा चारआलीदेखि अत्तरियासम्मै नयाँ सहर बनेका छन्। यस्ता सहरमा आर्थिक अवसर मिल्ने भएकाले मानिसको चाप पनि बढ्दै गयो। अनि जग्गाको कारोबार बढ्न थाल्यो। तिनै कारोबारले मान्छेको ‘डिस्पोजेबल इन्कम’ बढायो। उनीहरुले थप लगानी गर्न सक्ने भए। यसखाले गतिविधिले लगानीको चक्र नै खडा भयो। ठीक त्यतिखेर नै त्यहाँ सरकार प्रवेश गरिदिएको भए ती सहरहरु अझ व्यवस्थित हुन्थे। सम्भवत काठमाडौंमा अहिलेको जस्तो चाप बढ्दैन थियो।

(सडक सञ्जालको विस्तार र विकेन्द्रीकरणकै बीचमा पनि कसरी काठमाडौं सहरमा चाप बढ्यो त? पूर्व अर्थ सचिव खनालको सहरी कथाको अर्को शृंखलामा त्यसबारे चर्चा हुनेछ।)