
विराटनगर। एक हार्डवेयर व्यवसायीलाई १ अर्ब ३१ करोडभन्दा बढी राजस्व छली गरेको आरोपमा कारागार पठाइएको छ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले स्थानीय पुष्पलाल चोकस्थित न्यू सौरभ ट्रेडिङ र बियानी एन्ड ब्रोदर्स हार्डवेयर एन्ड मार्बलका सञ्चालक सौरभकुमार बियानीलाई अनुसन्धानका लागि जिल्ला कारागार मोरङ पठाएको हो।
आन्तरिक राजस्व विभागको प्रारम्भिक अध्ययनमा निज बियानीले आर्थिक वर्ष २०७८/७९ यता नक्कली भ्याट बिलको कारोबार गर्दै आएको पाइएको छ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपालराज शाक्यले विभागबाट आएको सूचना र निर्देशन बमोजिम बियानीलाई अनुसन्धानका लागि कारागार चलान गरिएको जानकारी दिए। कार्यालयले विभागका महानिर्देशक मदन दहालको स्वीकृतिमा बियानीलाई थुनामा पठाएको हो।
शाक्यका अनुसार बियानीले वस्तु बिक्री नै नगरी नक्कली बिलबिजक खडा गरेर भ्याट छली गरेका थिए। नक्कली बिजक बनाएर भ्याट छली गर्नेलाई बिजक मूल्यको ५० प्रतिशत जरिवाना हुने प्रावधान अनुसार बियानीसँग ८६ करोड रुपैयाँ बिगो दाबी गर्ने विभागको तयारी छ।
त्यस्तै बियानीले नक्कली भ्याट बिल प्रयोग गरेर २२ करोडभन्दा बढीको क्रेडिट दाबी गरेका थिए। ‘दुबै प्रकारका छलीको बिगो र त्यसमा लाग्ने शतप्रतिशत जरिवाना जोडेर कुल १ अर्ब ३१ करोड ४६ लाख ९४ हजार ८६७ रुपैयाँ असुलउपर गर्नुपर्ने देखिन्छ। यसको अनुसन्धानका लागि बियानीलाई कारागार पठाइएको हो,’ शाक्यले भने।
ऐनमा आन्तरिक राजस्व कार्यालयले अरोपीलाई अनुसन्धानका लागि एक पटकमा १५ दिनका लागि थुनामा पठाउन सक्ने र थुनाको म्याद दुई पटकसम्म १५/१५ दिन थप्न सक्ने व्यवस्था छ।
कार्यालयले यस प्रकरणमा बियानी ठूलो गिरोहका एक पात्र मात्र हुनसक्ने आशंका गरेको छ। ‘बियानीको गिरोह र सञ्जाल ठूलो र देशभरि नै रहेको बुझिएको छ। बाँकी त अनुसन्धानबाट खुल्दै जानेछ,’ शाक्यले भने।
चार वर्षदेखि करछली र नक्कली बिलबिजकको कारोबार गर्दै आएका बियानीको धन्धा आन्तरिक राजस्व कार्यालय विराटनगरले किन पत्ता लगाउन सकेन तथा विभागबाट जानकारी र निर्देशन आएपछि कारबाही सुरु भयो भन्ने चाहिँ अझै रहस्यमय छ।