काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव गर्न कत्ति पनि दायाँ बायाँ गर्नु नहुने कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले बताएका छन्।
कांग्रेसको जारी केन्द्रिय समिति वैठकमा पौडेलले प्रस्तावमा समर्थन गरेर एमालेको शेखी झार्नुपर्ने बताएका हुन्।
हिजोदेखि जारी बैठकमा बोल्दै उनले एमालेले लोकमान केसमा आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रयत्न गरेको भन्दै त्यसलाई समर्थन गरेर कांग्रेसले आफ्नो राजनीति कद उँचो पार्नु पर्ने बताए।
वैठकमा केन्द्रिय सदस्यहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि बिहिबारै महाभियोग पारित गरेर लोकमान नियुक्तिको राजनीतिक अपराध सच्याउनु पर्ने बताएका थिए।
'एमालेले यो प्रस्तावमा कांग्रेसले विरोध गर्छ, जनमत आफ्नो पक्षमा पनि हुन्छ र लोकमानलाई पनि जोगाउन सकिन्छ भनेर राजनीतिक अहंकार प्रदर्शन गरेको छ,' शुक्रबार पौडेलले भने, 'अब कांग्रेसले महाभियोग प्रस्तामा समर्थन गरेर उसलाई देखाइदिनु पर्छ।'
पौडेलले एमालेको राजनीतिक अहंकारको बदला प्रस्ताव असफल बनाएर लिन खोजे कांग्रेसलाई अपूरणीय क्षति पुग्ने चेतावनी दिए।
'कांग्रेसले महाभियोग प्रस्तावको विपक्षमा आफूलाई उभ्यायो र लोकमान जोगिए भने राजनीतिक ध्रुविकरण हुन्छ र देश अर्को दुर्घटनाको जोखिममा पुग्छ, पौडेलले भने- त्यस्तो दुर्घटना हुन नदिन र एमालेको स्टन्टलाई असफल पार्न कांग्रेस महाभियोगको पक्षमा उभिनु पर्छ।'
उनले कांग्रेसका कारण महाभियोगबाट लोकमान बचेमा बामपन्थीहरु चुनावी प्रयोजनका लागि सडकमा जाने र कांग्रेसको जनमत नराम्ररी बिगार्ने बताए।
'अहिले कांग्रेसले लोकमानलाई बचायो र अदालतबाट उनी दोषी ठहर भए भने कांग्रेसको जनमत के हुन्छ भनेर कसैले सोचेको छैन। अहिलेबाट नै सोच्न थालोस,' उनले भने, 'जनमत विनाको राजनीतिका बारेमा कसैले सोचेको छ भने उसले अर्कै ढंगले आफ्नो राजनीतिक यात्रा तय गरोस।'
पौडेलले अदालतमा विचाराधीन मुद्धा र महाअभियोगको कुनै साइनो नभएको भन्दै त्यसलाई आधार मानेर रोकिनुपर्ने कारण नरहेको बताए।
'लोकमान विरुद्ध अदालतमा विचाराधीन मुद्धा उनको योग्यताको सम्बन्धमा हो जबकि कांग्रेस, एमाले र माओवादी केन्द्रले त उनलाई योग्य भनेर नै नियुक्त गरिएको हो,' पौडेलले भने, 'त्यसैले महाअभियोगलाई अदालतको मुद्धासँग जोड्न हुँदैन यो उनको आचरण र कामकारवाहीसँग जोडिएको विषय हो।'
पौडेलले महाअभियोग प्रस्तावका पक्षमा उभिँदा कांग्रेसले सबैलाई जित्ने पनि बताए।
आजको केन्द्रीय समिति बैठकमा १८ जना केन्द्रीय सदस्यले बोलेका थिए। केन्द्रीय समिति बैठक आगामी सोमबार सम्मका लागि स्थगित भएको छ। सोमबार बिहान ८ बजे नै बैठक सुरु हुने र खाना समेत त्यहीँ खाएर छलफल जारी राख्ने जानकारी सभापति देउवाले बैठक स्थगित गर्ने क्रममा दिएका छन्।