मंगल ग्रहमा आफ्नो नाम पठाउने हो? नासाले बाँड्दैछ ‘बोर्डिङ पास’, २० लाखको नाम पठाइँदै

बिजमाण्डू
२०७६ जेठ ८ गते १२:४६ | May 22, 2019

Tata
GBIME
Nepal Life

तपाई मंगल ग्रहमा नाम पठाउन चाहनु हुन्छ?

यदि पठाउने हो भने नाम दर्ता गरिहाल्नुस्। अमेरिकामा रहेको अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले यो अवसर ल्याएको छ।

'मार्स २०२० रोभर' मा मंगल ग्रहमा आफ्नो नाम पठाउन चाहनेहरुका लागि नाम पठाउन सूचनासमेत जारी गरेको छ।  

झन्डै एक हजार किलोको 'मार्स २०२० रोभर' नामक अन्तरिक्षायान २०२० को जुलाईमा प्रक्षेपण गर्ने योजना रहेको छ।

उक्त रकेट मंगल ग्रहमा भने २०२१ को फेब्रुअरीमा अवतरण गर्ने बताइएको छ।  

मंगल ग्रहमा पठाउनका लागि नाम दर्ता गरेकाहरुले बोर्डिङ पाससमेत पाउनेछन्। इच्छुकले सेप्टेम्बर ३० सम्म नाम दर्ता गराएर बोर्डिङ पास लिन सक्नेछन्।

दर्ता भएकाहरुले 'फ्रिक्वेन्ट फ्लायर' अंक प्राप्त गर्न सक्छन्। २० लाख जनाको नाम मंगल ग्रहमा पठाउने योजना नासाको छ। यो समाचार तयार पर्दासम्म २ लाख ५० हजारभन्दा बढीले आफ्नो नाम दर्ता गरिसकेका छन्। प्रत्येक नामले ३ करोड फ्रिक्वेन्ट फ्लायर माइल तय गर्नेछ।

प्राप्त नामलाई अमेरिकास्थित क्लालिफोर्नियामा रहेको नासाको प्रोपलसन ल्याब्रोटेरीमा इलेक्ट्रोनिक बिम र स्टेन्सिलको प्रयोगबाट सिलिकन चिपका रुपमा विकास गर्नेछ। सो चिप मानिसको कपालको औसत चौढाइ (७५ न्यानोमिटर) भन्दा कम हुने बताइएको छ। यसो गर्दा एउटा चिपमा १० लाखभन्दा बढी नाम लेख्न सकिने बताइएको छ। सिसाको ग्यासलको कभर बनाएर सो चिपलाई यानमार्फत मंगल ग्रह पुर्‍याइनेछ।

नासाको साइन्स मिसन डाइरेक्टोरेटका सहायक व्यवस्थापक थोमस जुर्बुक्षेनले मंगल ग्रहबारे अध्ययन गर्न नासा तयार रहेको उल्लेख गर्दै भने,'हामी ऐतिहासिक मार्स मिसन प्रक्षेपण गर्ने तयारीमा छौं। हामी यो यात्राको खुशी सबैसँग बाँड्न चाहन्छौं।'

उसो त मंगल ग्रहमा सो यानले त्यहाँ जीवनको सम्भावनाबारे अध्ययन गर्नुका साथै ग्रहको जलवायु र भौगोलिक अवस्थाको बारेमा पनि अध्ययन गर्नेछ। यस्तै, यानले मंगल ग्रहका केही नमूनाहरु सकंलन गर्दै मानिसहरु बस्न योग्य छ कि छैन भन्नेबारेसमेत अध्ययन गर्नेछ।

चन्द्रमादेखि मंगल ग्रहको यात्रा तय गर्ने क्रममा जनसहभागिता बढाउने अभियान अनर्तगत मार्स मिसनकोबारे मानिसहरुलाई जानकारी दिन यस्तो अवसर ल्याइएको नासाले जनाएको छ। 

नासाले मार्स २०२० र अरु मिसनहरुबाट मंगल ग्रहमा मानिसहरु अन्वेषण गर्न प्रयास सुरु गरेको समेत जनाएको छ।

मंगल ग्रहमा मानव मिसन संचलन गर्न नासाले अमेरिकी सरकार, व्यापारी र अन्तर्राष्ट्रिय पार्टनरहरुको सामुहिक सहयोगको अपेक्षा समेत गरेको छ।