झापाको कपडा पसलमा राजस्व र सशस्त्रको खानतलासी, ‘केही पनि फेला परेन’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ असोज ९ गते ०९:१८ | Sep 25, 2018

विराटनगर। सशस्त्र प्रहरी बल झापा हेडक्वार्टर गण नम्बर २ भद्रपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक द्रोणविक्रम शाह असोज ५ गते प्रहरीको डफ्फा लिएर भद्रपुर नगरपालिका वडा नं. ५ पुगे। 

Tata
GBIME
Nepal Life

शाह जानुको उद्देश्य थियो भद्रपुरकै व्यवसायी सञ्जीव घोषको पसलको गोदाममा छापा मार्नु। तर शाहले घोषलाई वडा नम्बर २ मा रहेको घर–गोठ खानतलासी गर्ने भन्दै पत्र दिए। वडा नम्बर २ मा रहेको घर गोठ खानतलासी गर्ने भनेर वडा नम्बर ५ मा रहेको पसल र दुई गोदाममा प्रहरी पसेपछि स्थानीय व्यवसायी विरोधमा उत्रिए। सशस्त्रको डफ्फाले विरोध थाम्न सकेन।

झापा उद्योगवाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले भने, ‘व्यवसायीको विरोधपछि सशस्त्रको डफ्फाले गोदामको खानतलासी लिएन तर पसल र गोदामसहित वरपरको बजारलाई सशस्त्रले कब्जा गर्यो। व्यवसायी आतङ्कित भए।’

अध्यक्ष पनेरुका अनुसार आइतबार फेरि घोषका दुबै गोदाममा सशस्त्रको समूह आयो।

आइतबारको टोलीमा राजस्व अनुसन्धान प्रदेश कार्यालय इटहरी, आन्तरिक राजस्व कार्यालय झापा, राजस्व सशस्त्र गुल्म इटहरी र सशस्त्र हेडक्वार्टर झापा नम्बर २ का प्रतिनिधि थिए।  घोषले राजस्व छली गरेर ल्याएका १० पोका कपडाको खानतलासी गर्यो।

‘व्यापक खानतलासी गरियो तर केही फेला परेन’, राजस्व अनुसन्धान इटहरीका अधिकृत रमेश रेग्मीले भने,  ‘अनुगमन टोलीलाई हैरान मात्र भयो। सबै कपडा बिलवीजक अनुसारकै रहेछन्।

उद्योगवाणिज्य संघको खेदप्रस्ताव 
घटनाका बारेमा झापा जिल्ला उद्योगवाणिज्य सङ्घले खेद प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा भनिएको छ,  ‘भद्रपुर नगरपालिकाको वार्ड नं. ५ मा सञ्चालित बजरङ्गबली अर्डर एन्ड सप्लायर्सको पसल तथा गोदाम सशस्त्र प्रहरीको टोलीले मिति २०७५ असोज ५ गते शुक्रबारदेखि  बन्द गरी व्यापार–व्यवसायमा अवरोध पुर्याइरहेको घटनाप्रति यस झापा उद्योगवाणिज्य सङ्घ जिल्ला कार्यालय, झापा भद्रपुरको गम्भीर ध्यानाकर्षण भएको छ।’

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँगै नेपालको संविधान २०७२ कार्यान्वयनको चरणमा रहेको र आर्थिक समृद्धिको मार्गचित्रअनुसार अगाडि बढिरहेको सन्दर्भमा आर्थिक विकासका संवाहक उद्योगी–व्यवसायीमाथि प्रहरी प्रशासनद्वारा गरिएको त्रासदीपूर्ण यस किसिमको व्यवहारप्रति यो सङ्घ खेद प्रकट गर्दछ।’

प्रस्तावमा भनिएको छ, ‘खानतलासीका निहुँमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नियमित सञ्चालनमा रहेको व्यावसायिक फर्म नै बन्द गराई चार दिनव्यापार–व्यवसाय ठप्प पारिनु न्यायोचित होइन भन्ने सङ्घको ठहर छ।  यस कार्यले सशस्त्र प्रहरी बलको नियतमाथि नै शङ्का उब्जाएको छ। सशस्त्र प्रहरी बलको यो क्रियाकलापले आम व्यवसायीलाई हतोत्साहित तुल्याएको मात्र छैन त्रासका बीच व्यापार–व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याइदिएको छ।’

अध्यक्ष पनेरूका अनुसार मुलुकी फौजदारी संहिता (ऐन)–अनुसार खानतलासी गर्ने भनी घोषलाई पत्र दिएर व्यवसायीलाई अझ आतङ्कित बनाइएको छ।

‘के स्थायी लेखा नम्बर (पान) र मूअकरमा दर्ता भएर व्यापार व्यवसाय गर्नु फौजदारी अपराधअन्तर्गत पर्छ?’,  अध्यक्ष पनेरुको आक्रोश थियो, ‘खानतलासीको पत्र नै गलत छ।’

खेद प्रस्तावको प्रमाणित प्रतिलिपि नेपाल उद्योग वाणिज्य महासंघ र सम्बन्धित सरकारी निकायमा पनि पठाइएको उनले जानकारी दिए।