गुड फर पेमेन्टको चेक: बढी रकम राजस्वमा दाखिला गरिएको व्यवसायीको गुनासो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ २० गते २०:५० | Jun 3, 2018
विराटनगर।विराटनगर भन्सार कार्यालयको परिसर भित्र रहेको राष्ट्रिय वाणिज्य बैङ्कको ड्राई पोर्ट शाखाले बैङ्किङ मर्यादाका विपरीत बढी रकम असुल गरिरहेको गुनासो सरोकारवाला व्यवसायीले गरेका छन् ।
 
औद्योगिक घराना शारडा समूहका निर्देशक श्रीनिवास शारडाले बैङ्कको ड्राई पोर्ट शाखाले भन्सारमा राजस्व बुझाउने प्रक्रियामा बढी रकम असुल गरेर अनाहकमा दुःख दिएको गुनासो गरेका हुन् ।‘उद्योगले कच्चा पदार्थ अमेरिकी डलरमा बैङ्कमार्फत् पैठारी गरेका अवस्थामा त्यसमा लाग्ने भन्सार महसुल र मूअकर बराबरको रकम भन्सारमा भुक्तानी गर्न आफूले कारोबार गर्ने बैङ्कबाट भन्सार कार्यालयका नाउँमा गुड फर पेमेन्टको चेक बनाउँछ’, उद्यमी शारडाले भने, ‘यस्तो चेक उद्योगले आफ्नो क्लियरिङ एजेन्टलाई दिएको हुन्छ । मालवस्तु भन्सार कार्यालयबाट जाँचपास गराउने दिनमा यदि अमेरिकी डलरको दर घटेको रहेछ भने गुड फर पेमेन्टमा उल्लेखित रकमभन्दा कम राजस्व तिर्नुपर्ने हुन्छ ।’

Tata
GBIME
Nepal Life

उनका अनुसार अमेरिकी डलरको खरिदविक्री दर घटेका दिन गुड फर पेमेन्टको चेकमा अङ्कित रकम वास्तविक राजस्वभन्दा बढी हुन्छ भने त्यही चेक व्यवसायीका क्लियरिङ एजेन्टले वाणिज्य बैङ्कको ड्राई पोर्ट शाखामा बुझाउँछन् । ‘मालवस्तुमा लाग्ने राजस्वभन्दा बढी रकमको गुड फर पेमेन्टको चेक बैङ्कमा दिँदा बढी भएको रकम बैङ्कले राजस्वमै दाखिल गरिदिन्छ । तर बैङ्किङ मर्यादाअनुसार बढी भएको रकम व्यवसायीले फिर्ता पाउनु पर्छ वा यस्तो रकम अर्को पटकको कारोबारमा समायोजन हुने गरी सञ्चित राखिनु पर्छ ।’शारडाले भने।शारडाले गुड फर पेमेन्टमा बढी भएको रकम खातामा राखेर अर्को पटक समायोजन गर्नु उपयुक्त हुने बताए।
 

शारडाले बैङ्कका कर्मचारीले जति राजस्व लाग्ने हो त्यत्ति बराबरको मात्र गुड फर पेमेन्टको चेक माग्ने गरेको भए पनि कहिलेकाहिँ सम्भव नहुने बताए ।उनको भनाइ थियो, ‘मालवस्तु भन्सार परिसरमा आइपुग्न लागेको जानकारी भएपछि व्यवसायीले गुड फर पेमेन्टको चेक बनाउँछन् । यस्तो बेला मालवस्तु छुट्न एक–दुई दिन ढिला भयो र यही बेला अमेरिकी डलरको मूल्य घट्यो भने गुड फर पेमेन्टमा उल्लेखित रकम तिर्नुपर्ने राजस्वभन्दा बढी हुनजान्छ । त्यसैले यदाकदा गुड फर पेमेन्टको चेकमा उल्लेखित रकम राजस्वको ठिक्क अङ्क हुने गरी मिल्न सक्तैन ।’
 
गुड फर पेमेन्टको चेकलाई रद्द गरेर अर्को बनाउँदा समय बढी लाग्ने अनि रद्द गरेको र फेरि नयाँ चेक बनाएको शुल्क अतिरिक्त भारका रूपमा तिर्नुपर्ने उनको गुनासो थियो ।शारडाको कथन थियो, ‘रद्द गर्ने र नयाँ बनाउने चक्करमा थप एक दिन लाग्छ । उता भन्सार परिसरमा डिटेन्सन र ड्यामरेज शुल्कको मिटर घुमिरहेको हुन्छ ।’
 
व्यवसायीको माग पूरा गर्न सकिन्न
 
बैङ्कका प्रबन्धक मणि तामाङले राजस्वमा लाग्नेभन्दा बढी रकम गुड फर पेमेन्टको चेकमा रहेछ भने त्यस्तो रकम फिर्ता दिन नमिल्ने बताए ।
 
‘नेपाल राष्ट्र बैङ्कको चेक हुन्छ, हामी केही गर्न सक्तैनौँ’, प्रबन्धक तामाङले भने, ‘गुड फर पेमेन्टको चेक भनेको साट्ने प्रयोजनको चेक होइन, यो त सिधै राजस्वमा जम्मा हुने हो । त्यसैले जति रकम राजस्व तिर्नुपर्ने हो व्यवसायीले त्यति नै बराबरको गुड फर पेमेन्टको चेक बनाएर ल्याउनु पर्छ ।’
व्यवसायीले भनेजस्तो बढी रकम छुट्टै खाता खोलेर जम्मा गर्ने अनि पछि हुने कारोबारमा समायोजन गर्ने काम पनि गर्न नसकिने उनले स्पष्ट पारे ।